नेपाललाई सहयोग निरन्तर : समान्था पावर
नेपाल भ्रमणमा रहेकी अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआइडी)की प्रशासक समान्था पावरले नेपालका लोकतान्त्रिक संस्था र नागरिक समाजको सुदृढीकरणका लागि पाँच करोड ८५ लाख डलर (सात अर्ब ७२ करोड २० लाख रुपैयाँ) सहयोगको घोषणा गरेकी छिन् । प्रशासक समान्था पावरले पाटनमा मंगलबार नेपाल सरकार, नागरिक समाज र निजी क्षेत्रका नेतृत्वकर्तामाझ उक्त घोषणा गरेकी हुन् ।
‘नेपालको लोकतान्त्रिक उन्नतिलाई अघि बढाउन युएसएआइडीले पाँच करोड ८५ लाख अमेरिकी डलरसम्मको सहयोग प्रदान गर्ने निर्णय गरेका छौँ,’ प्रशासक पावरले भनिन् । नेपालस्थित अमेरिकी राजदूतावासका अनुसार प्रशासक पावरले गरेको घोषणाको रकममध्ये चार करोड दुई लाख डलर सन् २०२२ मा घोषित ६५ करोड ९० लाख अमेरिकी डलरको विकास उद्देश्य सम्झौताको अंश हो ।
पाटन संग्रहालयमा सरोकारवालासँगको अन्तक्र्रियामा पावरले नेपालमा यस वर्ष पारदर्शी तथा शान्तिपूर्ण आमनिर्वाचन सम्पन्न भएको बताइन् । निर्वाचनसँगै नेपालमा संघीयता सुदृढ गर्ने, महिला र सीमान्तकृत समुदायको समावेशीकरणलाई अगाडि बढाउने, युवाहरूको सशक्तीकरण गर्ने र लोकतन्त्रले आफ्ना नागरिकका हितमा परिणाम ल्याउने अवसर आएको उनको भनाइ थियो । यो कार्यमा अमेरिकाको साझेदारी रहने उनले बताइन् ।
‘युएसएआइडीका लगानीले सार्वजनिक वित्तीय व्यवस्थापन, स्वतन्त्र नागरिक समाज तथा सञ्चारमाध्यम, लोकतान्त्रिक प्रक्रिया तथा संस्था, कानुनी शासन र निजी क्षेत्र विकासको सुदृढीकरण गरी नेपाललाई आफ्ना लोकतान्त्रिक उपलब्धि मजबुत पार्न र नेपालीका निम्ति अझ बृहत् समृद्धि र उत्थानशीलता भित्र्याउन मद्दत गर्नेछन्,’ दूतावासको विज्ञप्तिमा छ, ‘मानव बेचबिखनविरुद्ध लड्न नेपाललाई सहयोग गर्न पनि युएसएआइडीले जारी राख्नेछ ।’
दूतावासका अनुसार सहयोग घोषणा भएको रकमबाट थप पारदर्शी र जवाफदेही तवरबाट सार्वजनिक सेवा प्रदान गर्न प्रादेशिक तथा स्थानीय सरकारलाई सहयोगका लागि दुई करोड डलर उपलब्ध हुनेछ । घोषणा गरिएको रकमबाट महिला, युवा र सीमान्तकृत समुदायका नेतृत्वमा र उनीहरूकै निम्ति बनेका स्वतन्त्र नागरिक समाजका संस्थालाई सहयोग गर्न एक करोड ८५ लाख डलर खर्च हुने अमेरिकी दूतावासले जनाएको छ ।
नेपाललाई सहयोग होस् : परराष्ट्रमन्त्री
नेपाल–अमेरिका लोकतान्त्रिक साझेदारीसम्बन्धी अन्तरक्रियामा परराष्ट्रमन्त्री डा. विमला राई पौड्यालले अल्पविकसित मुलुकको स्तरबाट नेपाल विकासशील मुलुकको स्तरमा जाँदै गरेको भन्दै नेपालको विकासका लागि थप सहयोग गर्न अमेरिकालाई आग्रह गरिन् । उनले नेपालमा समावेशी लोकतन्त्र रहेको, घरेलु एवं मौलिक तरिकाबाट शान्ति प्रक्रिया सम्पन्न हुने क्रममा रहेको भन्दै लोकतन्त्र नेपाली जनताका लागि संस्कार, मान्यता र तिर्खा भइसकेको पनि उल्लेख गरिन् ।
पावरले मंगलबार परराष्ट्रमन्त्री पौड्यालसँग सिंहदरबारमा भेट गरेकी थिइन् । उनले बुधबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग शिष्टाचार भेट गर्ने र अपराह्न पत्रकारहरूसँग अन्तरक्रिया गरेर स्वदेश फर्किने कार्यक्रम छ ।