उपत्यकाको सार्वजनिक यातायात व्यवस्थित बनाउन राष्ट्रपति भण्डारीको जोड

मंगलबार, २४ माघ, २०७९
डिजिटल संस्करण

राष्ट्रपति विद्यादेवी भण्डारीले काठमाडौं उपत्यकाको सडक व्यवस्थापन गर्न सार्वजनिक यातायातलाई व्यवस्थित एवं मर्यादित बनाउनुपर्ने बताएकी छिन् । राष्ट्रपति भवन शीतलनिवासमा काठमाडौं उपत्यकाका पालिका प्रमुख तथा उपप्रमुखसँगको भेटमा उनले उपत्यकामा बाटोको क्षमताभन्दा बढी सवारीसाधन, सार्वजनिक यातायातको अपर्याप्तता र चुस्त ट्राफिक व्यवस्थापनको अभावका कारण दैनिक ट्राफिक जामको समस्या भोगिरहेको र त्यसलाई व्यवस्थित बनाउन जरुरी रहेको बताइन् ।

‘हामी सबैले दैनिक रूपमा अनुभव गर्ने एउटा समस्या सवारी जाम हो, बाटोको क्षमताभन्दा बढी सवारीसाधन, सार्वजनिक यातायातको अपर्याप्तता र चुस्त ट्राफिक व्यवस्थापन अभावका कारण ट्राफिक जामको समस्या भोगिरहेका छौँ,’ राष्ट्रपति भण्डारीले भनिन्, ‘यो समस्या समाधानका लागि सडक चौडा गरेर मात्र पुग्दैन, साना सवारीसाधनभन्दा ठूला सवारीसाधनलाई प्राथमिकता दिँदै सार्वजनिक यातायातलाई व्यवस्थित एवं मर्यादित बनाउनुपर्छ ।’

उपत्यकामा सवारीसाधन पार्किङको समस्या पनि जल्दोबल्दो समस्याका रूपमा रहेको उनले उल्लेख गरिन् । यो समस्याको दिगो समाधानका लागि नगरपालिका तथा सम्बद्ध निकायहरूले समन्वयात्मक पहल गर्नु आवश्यक रहेको उनको भनाइ छ ।

काठमाडौं उपत्यकाका सहरहरूलाई व्यवस्थित आधुनिक सहरका रूपमा विकास गर्न संघीय सरकार, प्रदेश सरकार तथा स्थानीय पालिकाहरूका साथै काठमाडौं उपत्यका विकास प्राधिकरण, अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समिति, विद्युत् प्राधिकरण, ट्राफिक प्रहरी, उपत्यका खानेपानी लिमिटेड एवं पुरातत्व विभागजस्ता विशिष्टीकृत निकायहरूबीच आपसी समन्वयको आवश्यकता रहेको उनको भनाइ थियो ।

सुझावित समाचार