मन्त्रिपरिषद्को बैठक सुरु भएको छ। सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक सुरु भएको हो।
राष्ट्रिय स्वतन्त्र पार्टीले सरकार छाडेपछि पहिलोपटक मन्त्रिपरिषद् बसेको हो। अप्रत्याशित रूपमा विकसित राजनीतिक घटनाक्रमसँगै रास्वपाले हिजो सरकार छाडेको हो।
रास्वपाबाट मन्त्री रहेका तीनजनाले हिजो साँझ प्रधानमन्त्रीलाई राजीनामा बुझाएका थिए। उनीहरूको राजीनामा प्रधानमन्त्रीले आज स्वीकृत गरेका छन्।
अब मन्त्रिपरिषदमा माओवादी, एमाले र राप्रपा मात्र छन्।
सरकार छाड्नुअघि रास्वपा सभापति रवि लामिछानेले प्रधानमन्त्रीसँगका पटक-पटकका भेटमा गृह मन्त्रालयको दाबी गरेका थिए। तर, प्रधानमन्त्रीले सर्वोच्चको आदेशको पूर्णपाठ आइनसकेको तथा लामिछानेको राहदानी छानबिनको विषय बनेकाले गृह मन्त्रालय दिन नसक्ने अडान राखेपछि अन्ततः रास्वपा ४२ दिनपछि सरकारबाट बाहिरिएको थियो।
मन्त्रिपरिषद् बैठकअघि आजै प्रधानमन्त्रीले प्रमुख ठूला दुई दल कांग्रेसका सभापति शेरबहादुर देउवा र एमालेका अध्यक्ष केपी ओलीसँग छलफल गरेका थिए।