लेन्स उत्पादनका लागि तिलगंगा आँखा प्रतिष्ठानले हेटौँडामा बनाउँदै छ छुट्टै भवन

उद्योग मन्त्रालयले दियो दुई करोड बजेट, लेन्स निर्यात बढ्ने विश्वास

सोमबार, २३ माघ, २०७९
डिजिटल संस्करण
लेन्स उत्पादनका लागि तिलगंगा आँखा प्रतिष्ठानले हेटौँडामा बनाउँदै छ छुट्टै भवन

मन्त्रालय र प्रतिष्ठानबीच भवन निर्माणसम्बन्धी सम्झौता हुँदै ।

तिलगंगा आँखा प्रतिष्ठानले मोतीविन्दुको अप्रेसनका लागि चाहिने लेन्स (इन्ट्राओकुलर डिभाइस) उत्पादनका लागि छुट्टै भवन बनाउने योजना अघि सारेको छ । प्रतिष्ठानले लेन्सलगायत आँखासम्बन्धी अन्य उपकरण उत्पादनका लागि बागमती प्रदेशको राजधानी हेटौँडामा ‘प्रोडक्सन डिपार्टमेन्ट ल्याब’ बनाउन लागेको हो ।

हाल तिलगंगापरिसरमै मोतीविन्दुको उपचारमा आवश्यक लेन्स उत्पादन भइरहेको छ । अस्पताल र लेन्स उत्पादन एकै ठाउँमा हुँदा साँघुरो भएको भन्दै नयाँ भवन निर्माण गरेर सार्न लागिएको हो । नयाँ भवन निर्माण गर्न प्रतिष्ठानले पहिले नै जग्गा खरिद गरेको थियो ।

हाल वातावरण प्रभाव मूल्यांकन भइरहेको प्रतिष्ठानका प्रमुख सञ्चालन अधिकृत पीताम्बर अधिकारीले जानकारी दिए । उनका अनुसार करिब ५० करोड लागतमा दुई वर्षभित्र  प्रोडक्सन डिपार्टमेन्ट ल्याब निर्माण गर्न लागिएको हो । ‘अहिले तिलगंगा क्षेत्रमै यस्तो ल्याब छ । अस्पताल र ल्याब एकै ठाउँमा राख्दा साँघुरो भएकाले नयाँ भवन निर्माण गर्न लागिएको हो,’ उनले भने, ‘यसमा रोबोटिकसहित विभिन्न प्लान्ट मेसिन छन् ।’ प्रोडक्सन डिपार्टमेन्ट ल्याबमा अहिले ८० जनाभन्दा बढी कर्मचारी कार्यरत छन् । हेटौँडामा भवन निर्माण भइसकेपछि यहाँ भएका सबैखाले उपकरण र प्लाट उतै सारिनेछ । 

 केमा प्रयोग हुन्छ यो लेन्स ?
मोतीविन्दुको अप्रेसन गरेका बिरामीलाई यो लेन्स अत्यावश्यक मानिन्छ । करिब १८ वर्षअघिदेखि तिलगंगामा यसको उत्पादन भइरहेको छ । आँखाको नानीभित्रको पुरानो धमिलो पर्दा फालेर यो कृत्रिम लेन्स राखिन्छ । यसले आँखाले जसरी नै काम गर्छ । यसलाई मेडिकल भाषामा इन्ट्राओकुलर डिभाइस भनिन्छ ।

वरिष्ठ आँखा रोग विशेषज्ञ सन्दुक रुइतले नै यसको उत्पादन सुरु गरेका थिए । उनले अस्ट्रेलियाको एक कम्पनीसँग सम्झौता गरेर उत्पादन थालेका थिए । नेपालमा उत्पादन नहुँदा यो लेन्सको उपचार महँगो थियो । बाहिरबाट लेन्स ल्याएर उपचार गर्नुपर्ने अवस्था थियो । तर, यहीँ उत्पादन हुन थालेसँगै सस्तो र सहज भएको प्रतिष्ठानले जनाएको छ । 

 हाल वार्षिक चार लाख उत्पादन, दुई लाख निर्यात
तिलगंगा प्रतिष्ठानले उत्पादन गरेको यो लेन्स नेपालमा मात्रै प्रयोग हुँदैन । यसको विदेश निर्यात पनि राम्रो छ । चार लाख उत्पादनमध्ये वार्षिक झन्डै दुई लाख लेन्स निर्यात हुँदै आएको छ । दुई लाख भने यहीँ प्रयोग हुन्छ । अस्पतालले बिरामीसँग थप अतिरिक्त शुल्क नलिई उपचार गर्दै आइरहेको छ । हेटौँडामा उत्पादन सुरु गर्दा निर्यात बढाउन सकिने प्रतिष्ठानले जनाएको छ । यहाँ उत्पादन भएको लेन्स चीन, बंगलादेश, इन्डोनेसिया, बैंकक, कतार, मलेसिया, दुबई, साउथ अफ्रिकालगायत देशमा निर्यात हुन्छ । 

 भवन निर्माणमा उद्योग मन्त्रालयको सहयोग
उद्योग, वाणिन्य तथा आपूर्ति मन्त्रालयले ल्याबसहितको नयाँ भवन बनाउन दुई करोड रुपैयाँ आर्थिक सहयोग गरेको छ । मन्त्रालय र प्रतिष्ठानबीच आइतबार मन्त्रालयमा सम्झौता तथा हस्ताक्षर भएको थियो । प्रतिष्ठानका तर्फबाट प्रमुख कार्यकारी अधिकृत डा. रीता सिंह र मन्त्रालयका सहसचिव बाबुराम गौतमले सम्झौतामा हस्ताक्षर गरेका छन् ।

See More On

सुझावित समाचार