अधिकांश कम्पनीले घटाए लाभांश

सोमबार, २३ माघ, २०७९
डिजिटल संस्करण

नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत अधिकांश कम्पनीले अघिल्लो आर्थिक वर्ष ०७८/७९ को मुनाफाबाट दिने लाभांशमा बोनस सेयरमा भन्दा नगदमा बढी जोड दिएका छन् ।

 चार बैंकको नगद लाभांश मात्र
वाणिज्य बैंक समूहमा सूचीकृत १९ बैंकमध्ये १६ वटाले लाभांश प्रस्ताव गरेका छन्, जसमा चारवटा बैंकको त नगद लाभांश मात्र छ । अघिल्लो वर्षको मुनाफाबाट सबैभन्दा बढी नबिल बैंकले १८ दशमलव ५ प्रतिशत बोनस सेयर र ११ दशमलव ५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । कम लाभांश प्रस्ताव गर्नेमा सेन्चुरी कमर्सियल बैंक छ । प्रभु बैंकसँग मर्ज भएको सेन्चुरीले अघिल्लो आवको मुनाफाबाट आफ्ना सेयरधनीलाई चार दशमलव ७५ प्रतिशत बोनस र शून्य दशमलव २५ प्रतिशत नगद गरी ५ प्रतिशत लाभांश दिने प्रस्ताव पारित गरिसकेको छ । 

 १६ मध्ये आठ विकास बैंकको लाभांश
विकास बैंक समूहमा सूचीकृत १६ कम्पनीमध्ये आठ बैंकले लाभांश प्रस्ताव गरेका छन् । जसमा नगद र बोनस दुवै प्रस्ताव गरेका छन् । सबैभन्दा धेरै महालक्ष्मी विकास बैंकले २० प्रतिशत बोनस र १ दशमलव शून्य ५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । कम लाभांश प्रस्ताव गर्ने ज्योति विकास बैंकले ३ प्रतिशत बोनस र ३ दशमलव ८ प्रतिशत नगद गरी ६ दशमलव ८ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।

 पाँच फाइनान्सको मात्रै लाभांश
फाइनान्स समूहअन्तर्गत सूचीकृत १६ मध्ये पाँचवटा कम्पनीले लाभांश प्रस्ताव गरेका छन् । जसमा सेन्टरल फाइनान्सले बोनस सेयर नभई नगद लाभांश मात्र प्रस्ताव गरेको छ । यसपटक सबैभन्दा बढी लाभांश प्रस्ताव गर्नेमा गुहेश्वरी फाइनान्सले ६ दशमलव ५ प्रतिशत बोनस र शून्य दशमलव ३४ प्रतिशत नगद गरी ६ दशमलव ८४ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । सबैभन्दा कम लाभांश प्रस्ताव गर्ने कम्पनीमा पोखरा फाइनान्स रहेको छ । कम्पनीले ४ प्रतिशत बोनस र शून्य दशमलव २१ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । 

होटेल तथा पर्यटन समूहअन्तर्गत नेप्सेमा सूचीकृत चार कम्पनीमध्ये दुईवटा तारागाउँ रिजेन्सी होटेल र सोल्टी होटेलले लाभांश प्रस्ताव गरेका छन् । तारागाउँ रिजेन्सीले ८ दशमलव ४२ प्रतिशत नगद लाभांश मात्र प्रस्ताव गरेको छ । जसमा सोल्टी होटेलले ५ प्रतिशत बोनस र २१ दशमलव ३१ प्रतिशत नगद गरी २६ दशमलव ३१ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । यसअघिको वर्षमा यस समूहले लाभांश प्रस्ताव गर्न सकेको थिएन ।

 ६३ मध्ये ४६ को लाभांश बाँकी
जलविद्युत् समूहअन्तर्गत ६३ कम्पनीमध्ये अघिल्लो वर्षको मुनाफाबाट १७ वटाले लाभांश प्रस्ताव गरेका छन् । जलविद्युत् समूहमा अघिल्लो आर्थिक वर्षको मुनाफाबाट पाँचवटा कम्पनीले नगद लाभांश प्रस्ताव गरेका छन् । यसअघिको वर्षमा प्रस्ताव गरेका १२ वटै कम्पनीले नगद र बोनस दुवै दिएका थिए । रिडी हाइड्रोपावरले सबैभन्दा धेरै ४० प्रतिशत बोनस र २ दशमलव १ प्रतिशत नगद गरी ४२ दशमलव १ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । कम लाभांश प्रस्ताव गर्ने कम्पनीमा राधी विद्युत् कम्पनी र मन्दाकिनी हाइड्रोपावरको पाँच–पाँच प्रतिशत लाभांश प्रस्ताव गरिएको छ ।  
उत्पादनमूलक समूहअन्तर्गत अघिल्लो वर्षको मुनाफाबाट ६ वटा कम्पनीले लाभांश प्रस्ताव गरेका छन् । हिमालयन डिस्टिलरीले ६० प्रतिशत बोनस र १० प्रतिशत नगद गरी ७० प्रतिशत लाभांश प्रस्ताव गरेको छ । कम लाभांश दिनेमा शिवम् सिमेन्टले १० दशमलव ५३ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ ।

लगानीगत समूहअन्तर्गत नेप्सेमा ६ कम्पनी सूचीकृत भए पनि तीन कम्पनीले मात्र लाभांश प्रस्ताव गरेका छन् । जसमा दुईवटा कम्पनीले बोनस नभई नगद मात्र लाभांश प्रस्ताव गरेका छन् । यसअघिको वर्षमा चार कम्पनीले नगद र बोनस दुवै दिएका थिए । हाइड्रो इलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनीले सबैभन्दा धेरै ५ प्रतिशत बोनस र ०.२६ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो । त्यसैगरी, कम लाभांश प्रस्ताव गर्नेमा नेपाल इन्फ्रास्ट्रक्चर बैंकको ४ दशमलव २१ प्रतिशत नगद लाभांश रहेको छ । 

 ३७ लघुवित्तको लाभांश प्रस्ताव
नेप्सेमा सूचीकृत ५८ माइक्रो फाइनान्स कम्पनीमध्ये ३७ संस्थाले लाभांश प्रस्ताव गरेका छन् । माइक्रो फाइनान्स समूहको प्रस्ताव गरेका ३७ संस्थामध्ये सबै संस्थाले नगदसहित बोनस सेयर प्रस्ताव गरेका छन् । यसअघिका आर्थिक वर्षमा पनि नगद र बोनस सेयर दुवै दिएका थिए । 

सबैभन्दा धेरै जाल्पा सामुदायिक लघुवित्त वित्तीयले ७३ प्रतिशत बोनस सेयर र तीन दशमलव ८४ प्रतिशत नगद सेयर गरी ७६ दशमलव ८४ प्रतिशत लाभांश प्रस्ताव गरेको छ  । कम लाभांश प्रस्ताव गर्नेमा गुराँस लघुवित्त वित्तीय संस्थाले ४ प्रतिशत बोनस र शून्य दशमलव २१ नगद गरी ४ दशमलव २१ प्रतिशत लाभांश प्रस्ताव गरिएको छ । 

 तीन निर्जीवनको लाभांश बाँकी
नेप्सेमा सूचीकृत निर्जीवन समूहअन्तर्गत १६ कम्पनीमध्ये १३ कम्पनीले मात्र लाभांश प्रस्ताव गरेका छन् । त्यस्तै, निर्जीवन समूहका १३ कम्पनीले प्रस्ताव गरेकोमध्ये सबैले नगद र लाभांश दुवै प्रस्ताव गरेका छन् । जसमा सबैभन्दा बढी शिखर इन्स्योरेन्स कम्पनीले १६ प्रतिशत बोनस र शून्य दशमलव ८४ प्रतिशत नगद गरी १६ दशमलव शून्य ८४ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । कम लाभांश प्रस्ताव गर्नेमा हिमालयन एभरेस्ट इन्स्योरेन्स कम्पनीले २ दशमलव ७५ प्रतिशत बोनस र शून्य दशमलव १४ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । ट्रेडिङ समूहअन्तर्गत नेप्सेमा दुईवटा कम्पनी सूचीकृत भएका छन् ।

See More On

सुझावित समाचार