‘नेपालगन्ज लिटिल स्टार’ प्रतियोगिताको उपाधि १३ वर्षीया क्रिष्पी सिंह ठकुरीले जितेकी छिन् । सोल्टी वेस्टेन्ड प्रिमियरमा भएको पेजेन्टमा सोफिया स्कुल कक्षा ८ मा अध्ययनरत क्रिष्पीले बेस्ट स्माइल उपाधिसमेत जित्न सफल भइन् ।
‘क्विन अफ रक’ टिना टर्नरको एल्बम ‘चिल्ड्रेन बियोन्ड’ गीतमा ३९ जना बालबालिकाले एकसाथ विश्व शान्तिको प्रार्थना गर्दै सुरु भएको प्रतियोगितामा प्रमुख निर्णायक मिस नेपाल २०२० नम्रता श्रेष्ठले सोधेको प्रश्नमा उत्कृष्ट वक्तृत्वसहित प्रस्ट जवाफ दिएपछि उनी विजेता घोषित भएकी हुन् ।
प्रतियोगितामा स्प्रिङडेल स्कुलकी युनिसा डिसी फर्स्ट रनरअप तथा निमा शेर्पा सेकेन्ड रनरअप भएका आयोजक लिभवेलका अध्यक्ष कल्पना खड्काले जानकारी दिइन् ।
१८ वर्षमुनिका बालबालिकाबीच भएको स्पर्धामा निवेदिता न्यौपानेलाई अर्गनाइजर च्वाइस अवार्ड, समृद्धि क्षेत्रीलाई भ्युअर्स च्वाइस अवार्ड प्रदान गरियो । निवेदिताले बेस्ट वाक र फोटोजेनिक उपाधिसमेत हासिल गरिन् ।
कार्यक्रममा प्राइमेरीतर्फ मनन श्रेष्ठ विजेता घोषित भए । यसमा प्रान्जय चन्द ठकुरी फर्स्ट रनरअप, गीर्वाणराज शर्मा सेकेन्ड रनरअप भए । त्यसैगरी छात्रातर्फ प्रणिती खड्का विजेता बन्दा साइसा लामिछाने फर्स्ट रनरअप, प्रसन उपाध्याय सेकेन्ड रनरअप, श्रीयन्स शाह र शिवाञ्जली अवस्थी भ्युअर्स च्वाइस अवार्डले पुरस्कृत भए ।
त्यस्तै, प्रिस्कुल तहमा अधिरा बहेलिया विजेता भइन् । त्यसमा इसिका यरी फर्स्ट रनरअप, कृष्टिना थारू सेकेन्ड रनरअप भए । छात्रतर्फ परमार्थ प्रताप सिंह विजेता बने । निशाद नेपाल फर्स्ट रनरअप र राइडेन लामा सेकेन्ड रनरअप भए । हरेकलाई श्रीमदभागवत गीता उपहार प्रदान गरिएको थियो ।