पछिल्लो समय हाइकिङ जाने सहरिया जमात बढ्दो छ । दैनिक व्यस्त जीवनशैली र सहरको धुवाँधुलोले दिक्क भइरहँदा मन–मस्तिष्कलाई रिफ्रेस बनाउन प्रायः सहरिया युवायुवती शनिबार हाइकिङ जाने गरेको पाइन्छ । सपरिवार हाइकिङ जानेको संख्या पनि बढ्दो छ । हाइकिङ शारीरिक दृष्टिकोणले पनि राम्रो मानिन्छ ।
यसले रमाइलोसँगै शारीरिक कसरतमा सहयोग पुर्याउँछ । अहिलेको मौसममा आकाश खुला हुने भएकाले पनि दृश्यावलोकनको मज्जा लिन हाइकिङ जानेहरूको संख्या उच्च रहने गरेको छ । तारेभिर, सुन्दरीजल, शिवपुरी, फर्पिङ, चन्द्रागिरि, बुङमती, गोदावरी, फुलचोकी, लाँकुरी भञ्ज्याङ, नागार्जुन, चाँगुनारायण, ककनीलगायत हाइकिङका लागि उपयुक्त रुट हुन् ।
चम्पादेवी
काठमाडौंबाट सवारीसाधनमार्फत छोटो समयमै चम्पादेवी पुग्न सकिन्छ । चोभारको टौदहबाट यात्रा सुरु गर्न सकिन्छ । अर्काे, कीर्तिपुरको मच्छेगाउँबाट पनि जान सकिन्छ । यहाँबाट हिँड्दै फर्पिङ पुगेर फेरि फर्कन सकिन्छ । चुचुरोमा पुगेपछि पहाडी शृंखलाको अवलोकन गर्न पाइन्छ । छोटो अवधिमै सहरको धुवाँधुलो छोडेर स्वच्छ वातावरण महसुस गर्न पाइन्छ । हिमालय शृंखलाको अवलोकन तथा हरियाली जंगल यो रुटको प्रमुख विशेषता मानिन्छ ।
लाँकुरी भञ्ज्याङ
लाँकुरी भञ्जाङबाट उपत्यकाका तीनवटै जिल्लाका मनमोहक दृश्यहरू अवलोकन गर्न सकिन्छ । यो क्षेत्र चारैतिरबाट वनले घेरिएको छ । यो क्षेत्र पिकनिक स्पटका लागि पनि चर्चित छ । हरियाली वनजंगलको दृश्यावलोकन गर्दै रमाइलो गर्न सकिन्छ ।
चन्द्रगिरि
चन्द्रागिरि अर्को चर्चित हाइकिङ ट्रेल हो । यो कीर्तिपुरको मच्छेगाउँबाट सुरु हुन्छ । छापडाँडा हुँदै चन्द्रागिरि पुगिन्छ । चन्द्रागिरिमा उपत्यका आक्रमणका वेला कालु पाँडेले बनाएको बंकर छ, जसलाई आजभोलि ‘कालु पाँडे फोर्ट’ भन्ने गरिन्छ । चन्द्रागिरिको डाँडा निस्कने अर्काे ट्रेल थानकोटको गोदामचौरबाट पनि छ ।