तरकारी नबिकेपछि चितवनका किसानले सडकमा तरकारी पोखेर प्रदर्शन गरेका छन्।
शुक्रबार चितवनका किसानले तरकारी सडकमा फालेर प्रदर्शन गरेको घटनाप्रति प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कृषि तथा पशुपन्छी मन्त्रालयको ध्यानाकर्षण गराउँदै किसानका माग सम्बाेधनको आवश्यक पहल लिन निर्देशन दिएका छन्।
शुक्रबार चितवनका किसानहरूले तरकारी र अन्य कृषिजन्य उत्पादनको उचित मूल्य नपाएको भन्दै सडकमा तरकारी फालेपछि प्रधानमन्त्रीले कृषि तथा पशुपन्छी विकासमन्त्री ज्वालाकुमारी साहको ध्यानाकर्षण गराएका हुन्।
चिवतनमै रहेकी मन्त्री साहलाई प्रधानमन्त्रीले सरोकारवाला किसानहरूसँग छलफल गरी त्यसको जानकारी आफूलाई गराउन निर्देशनसमेत दिए।
प्रधानमन्त्रीको निर्देशनपछि मन्त्री साहले आफूले सरोकारवाला किसानहरूसँग छलफल गरी समस्या समाधानमा आवश्यक पहल लिने र थप नीतिगत सहयोग आवश्यक परेमा प्रधानमन्त्रीलाई आग्रह गर्ने बताइन्।