जथाभावी सडक बनाउँदा पानीका मुहान सुक्दै

शनिबार, २१ माघ, २०७९
डिजिटल संस्करण

दार्चुलाको अधिकांश ग्रामीण क्षेत्रमा खानेपानीको अभाव हुन थालेको छ । कुनै समय जिल्लाका ग्रामीण क्षेत्रमा पर्याप्त खानेपानीका मुहान थिए । खेतबारीमा सिँचाइ गर्नसमेत समस्या हुँदैनथ्यो ।  तर, अहिले अधिकांश गाउँमा खानेपानीको समस्या हुन थालेको छ ।

स्थानीय तहले अव्यवस्थित रूपमा जताततै सडक निर्माण गर्दा वनजंगल मासिएसँगै खानेपानीको अभाव हुन थालेको हो । अहिले ग्रामीण क्षेत्रमा खानेपानीका मुहान खोज्नुपर्ने अवस्था छ । शैल्यशिखर नगरपालिका–६ का गोविन्दसिंह धामीले पानीका मुहान सुक्दै गएको बताए । 

‘केही वर्ष पहिले ठाउँठाउँमा पानीका मुहान भेटिन्थे, अहिले सब सुक्दै गएका छन्,’ उनले भने । वनजंगल फँडानी र सडक विस्तारका कारण पानीका मुहान सुक्न थालेको मालिकार्जुन गाउँपालिका–३ का सोबिर धामीको भनाइ छ ।

ग्रामीण  क्षेत्रका पानीका सदाबहार मुहान अहिले मौसमी मुहानका रूपमा परिणत भएका  स्थानीय अकबर टमटा बताउँछन् । मुहान सुक्दै गएपछि यहाँका खोलानालामा समेत पानीको मात्रा घट्दै गएको छ । जिल्लामा लामो समयसम्म हिउँदे वर्षा नहुँदा अन्नबाली सुक्न थालेको छ ।

समयमै हिउँदे वर्षा नहुँदा पनि खानेपानीका मुहानमा पानीको मात्रा कम हुँदै गएको छ । लेकम गाउँपालिका–४ का वडाध्यक्ष महेन्द्र जोशी अव्यवस्थित सडक निर्माणका कारण माथिल्लो भूभागमा भएका पानीका मुहान तल्लो भूभागमा देखापर्ने गरेको र केही मुहान सधैँका लागि हराएर जाने गरेको बताउँछन् ।

मुहान सुक्न थालेपछि पानी ल्याउन डेढघण्टा टाढा हिँड्नुपर्ने स्थिति रहेको शैल्यशिखर–५ का बिसनसिंह डाँगाले बताए ।

सुझावित समाचार