दैलेखको नारायणमा भेटिए १०५ ‘असल आमा’

शनिबार, २१ माघ, २०७९
डिजिटल संस्करण

दैलेखको नारायण नगरपालिकाका ११ वटै वडामा एक सय पाँच जना असल आमा भेटिएका छन्। नारायण नगरपालिकाले असल आमा खोज्ने अभियान अन्तर्गत १ सय ५ जना असल आमा भेटिएका हुन्। 

विभिन्न पाँच वटा सूचक (इन्डिकेटर) पार गरेका गर्भवती आमाहरूको खोजी गर्दा एक सय पाँच असल आमा भेटिएका हुन्। ती सबैलाई नगद दुई हजार र प्रमाणपत्रले सम्मान गरिएको नारायण नगरपालिका स्वास्थ्य शाखा इन्चार्ज लालबहादुर खड्काले जानकारी दिएका छन्।

नारायण नगरपालिकाले आमा र बच्चाको स्वास्थ्यमा उलेख्य सुधार गर्ने, बाल मृत्युदर र मातृ मृत्युदर कम गर्नका लागि असल आमा प्रोत्साहन कार्यक्रम सञ्चालनमा ल्याएको हो।

सोही अभियान अन्तरगत २० वर्ष पूरा गरेर बिहे गरेका, २ वटा बच्चा जन्माएका, नियमित रूपमा स्वास्थ्य चौकीमा चारपटक गर्भ जाँच गरेका, स्वास्थ्य संस्थामै पुगेर सुत्केरी भएका र जन्मेको बच्चालाई पूर्ण खोप लगाएका पाँच वटा इन्डिकेटर पूरा गरेका आमाहरूलाई असल आमा भन्दै सम्मान गरिएको नारायण नगरपालिका दैलेखका नगर प्रमुख लोमन शर्माले जानकारी दिए। 

वडा नं. १ देखि ९ सम्मका ८४ जना असल आमाहरूलाई शुक्रवार सम्मान गरिएको छ भने वडा नं. १० र ११ का असल आमाहरूलाई वडामै पुगेर सम्मान गरिने भएको छ।

नगरपालिकाले वार्षिक कार्यक्रममा नीति निर्माण गरेर यो अभियान थालिएको नगर उपप्रमुख तप्ता थापाले जानकारी दिएकी छन्। 

यो अभियानले आमा र बच्चाको स्वास्थ्य समस्या कम हुने र मृत्युदर घट्ने उनको भनाइ छ। भविष्यका कर्णधारहरू गर्भावस्था देखि सुरक्षित रूपमा जन्मन पाउने अधिकारको संरक्षण गर्दै गर्भावस्थामा महिलालाई हुने विभिन्न समस्याहरू भोग्नु नपरोस् भन्ने उद्देश्यले यस्तो कार्यक्रम तय गरिएको थापाको भनाइ छ।
 

सुझावित समाचार