पर्यटनमन्त्रीलाई परिसंघको सुझाव

शनिबार, २१ माघ, २०७९
डिजिटल संस्करण

नेपाल उद्योग परिसंघको प्रतिनिधिमण्डलले पर्यटनमन्त्री किराँतीलाई नेपालका वायुसेवालाई एक दशकदेखि युरोपियन युनियन (इयू)ले राखेको सुरक्षा सूचीबाट हटाउनका लागि पहल गर्न आग्रह गरेको छ ।

परिसंघले नेपालको पर्यटन प्रवर्द्धनका लागि चालिनुपर्ने कदम, कालोसूचीबाट हटाउन गरिनुपर्ने पहलसहित तत्कालीन एवं दीर्घकालीन रूपमा गरिनुपर्ने नीतिगत सुधारका विषयमा सुझाव दिएको छ । परिसंघका उपाध्यक्ष राजबहादुर शाहले नेपालमा हवाई भाडा अत्यन्त महँगो हुँदा अपेक्षाकृत रूपमा विदेशी पर्यटक आउन नसकेको भन्दै हवाई भाडा घटाउनेतर्फ आवश्यक पहल गर्न र नेपाल वायुसेवा निगमलाई प्रतिस्पर्धी बनाउन पनि मन्त्री किराँतीसँग आग्रह गरे । 

यस्तै, परिसंघले सरकारसँग मिलेर अर्थतन्त्रको विकास विस्तारमा काम गर्दै आइरहेको जानकारी गराउँदै उपाध्यक्ष वीरेन्द्रराज पाण्डेले पर्यटन उद्योगको विकासका लागि पनि सहकार्य गर्दै अगाडि बढ्न तयार रहेको बताए । परिसंघ पर्यटन समिति सभापति पम्फा धमलाले पर्यटन उद्योगलाई अन्य उद्योगसरह पाउने सुविधा दिन आग्रह गरिन् ।

अन्तर्राष्ट्रिय गन्तव्यमा प्रभावकारी एवं देखिने गरी नेपालको प्रवर्द्धन अभियान सञ्चालन गरिनुपर्नेमा पनि उनले जोड दिइन् । मन्त्री किराँतीले नीतिगत सुधारका विषयमा निजी क्षेत्रबाट स्पष्ट सुझावको अपेक्षा गरेको बताए । उनले नेपाललाई इयूको सुरक्षा सूचीबाट हटाउने सन्दर्भमा पहल सुरु गरिसकेको पनि परिसंघ प्रतिनिधिमण्डललाई जानकारी गराए । 

सुझावित समाचार