कृषि क्षेत्रको समस्त विकास गर्ने उद्देश्यले पाँचौँ नेपाल एग्रिटेक अन्तर्राष्ट्रिय प्रदर्शनी हुने भएको छ । मिडिया स्पेस सोलुसन्स प्रालि र फ्युचरेक्स ट्रेड फेयर एन्ड इभेन्ट्स प्रालिको आयोजनामा माघ २७ देखि २९ सम्म चितवनमा प्रदर्शनी आयोजना हुने भएको हो ।
यस आयोजना हुने प्रदर्शनीमा स्वदेशी तथा विदेशी कृषिसम्बन्धी कम्पनीहरूका एक सय ५० भन्दा बढी स्टल रहने आयोजकले जनाएका छन् । प्रर्दशनीमा कृषिका कुखुरापालन, माछापालन, बाख्रापालन, गाईभैँसीपालन, डेरीलगायत कृषिका नवीनतम औजार, उपकरण, केराखेती, थोपा सिँचाइ, विषादीरहित कृषिलगायतका विषयमा जानकारी प्राप्त गर्न सकिने जनाइएको छ । कृषि उद्यमी अनुसन्धानकर्ता, विद्यार्थी, संघ–संस्थाका प्रतिनिधिलगायत आमकृषकले प्रदर्शनीमा आधुनिक प्रविधिको अनुसरण गर्ने र जिज्ञासा मेटाउने अवसर मिल्ने आयोजकले विश्वास व्यक्त गरेका छन् ।
निःशुल्क प्रवेशको व्यवस्था गरिएको प्रदर्शनीमा कृषिकर्मलाई सहज र किफायती बनाउन मद्दत पु¥याउने ससाना औजारदेखि डेरी मेसिनरी तथा पशुपक्षी पालन उद्योगमा प्रयोग हुने ठुल्ठूला उपकरणको प्रदर्शनीलगायत डेमो पनि गरिने जनाइएको छ । यो मेला नेपालको कृषि क्षेत्रको यान्त्रिकीकरणमा सहयोग पुर्याउन कोसेढुंगा साबित हुने आयोजकले विश्वास व्यक्त गरेका छन् ।
यो प्रर्दशनीसँगै नेपाल फुड एन्ड बेभरेज एक्स्पो पनि आयोजना हुन गइरहेको छ । यस फुड एन्ड बेभरेज एक्स्पोअन्तर्गत होटेल तथा रेस्टुरेन्ट, होस्टेल, क्याफे, क्याटरिङलगायतका व्यवसायमा प्रयोग हुने विभिन्न खाद्यान्न सामग्री तथा उपकरण समावेश रहने जनाइएको छ ।