वेस्टर्न ट्राभल मार्ट सुरु

सोमबार, १६ माघ, २०७९
डिजिटल संस्करण

पश्चिम नेपालका महत्वपूर्ण पर्यटकीय गन्तव्यहरूको प्रचारप्रसार तथा प्रवद्र्धन गर्ने उद्देश्यले आइतबारदेखि नेपालगन्जमा ‘वेस्टर्न ट्राभल मार्ट फेम ट्रिप विथ सेल्स मिसन’ सुरु भएको छ । १७ माघसम्म चल्ने सेल्स मिसनको बाँके जिल्लाबाट प्रतिनिधिसभा सदस्य डा. धवलशमशेर राणाले उद्घाटन गरे ।

मार्टमा नेपाल पर्यटन बोर्ड, नाटा, विभिन्न एयरलाइन्स तथा भारतबाट ट्राभल एजेन्ट्स एसोसिएसन अफ इन्डिया (टाई), भारतीय बजारमा बजारीकरण गर्न भारतीय सीमावर्ती सहरका टुर अपरेटर र आन्तरिक पर्यटन व्यवसायीलगायतको सहभागिता छ । भारतीय पर्यटकका लागि नेपालनजिकैको उत्कृष्ट पर्यटकीय गन्तव्य भएको सांसद राणाले यसको लाभ लिन भारतीयलाई आग्रह गरे । उनले नेपालगन्जबाट दिल्ली, देहरादुनलगायतका सहरमा सीधा उडानका लागि पहल भइरहेको जानकारी गराए । 

टाईका अध्यक्ष ज्योति मयालले नेपाल र भारतले मिलेर काम गर्दा दुवै देशको पर्यटनमा थप गतिशीलता ल्याउन सकिने बताए । नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्टले नेपालगन्ज र आसपासका क्षेत्रमा पर्यटनको व्यापक सम्भावना रहेको बताउँदै यस क्षेत्रको पर्यटकीय विकासका लागि सधैँ तयार रहेको बताए । पर्यटन बोर्डकी प्रबन्धक श्रद्धा श्रेष्ठले नेपालका लागि महत्वपूर्ण पर्यटकीय स्रोत बजार रहेको भारतलाई बोर्डले विशेष प्राथमिकतामा राखेर पर्यटन प्रचारप्रसारमा अगाडि बढिरहेको बताइन् ।

 नाटाका अध्यक्ष रमेश थापाले नेपाल सबै सिजनका लागि उत्कृष्ट गन्तव्य रहेको बताउँदै भारतीय पर्यटकको स्वागतका लागि नेपाल सधँै तयार रहेको बताए । होटेल संघ नेपाल, बाँके च्याप्टरका अध्यक्ष दिवाकर खनालले आतिथ्यताका लागि नेपालगन्ज सधैँ तयारी अवस्थामा रहेको जानकारी गराए । 

सुझावित समाचार