गाउँपालिकाले गर्यो विपन्न परिवारको बिमा

आइतबार, १५ माघ, २०७९
डिजिटल संस्करण
गाउँपालिकाले गर्यो विपन्न परिवारको बिमा

तस्बिर : नयाँ पत्रिका

जुगल गाउँपालिकाले घरबार नभएका विपन्न परिवारलाई निःशुल्क बिमा गरिदिएको छ। 

दशवर्षे सशस्त्र संघर्षका सहिद, घाइते र आम्दानीको स्रोत नभएका अतिविपन्न परिवारलाई गाउँपालिकाले जीवन बिमा गरिदिएको हो। 

गाउँपालिकाले कार्यविधि बनाएरै बिमा कार्यक्रम ल्याएको अध्यक्ष रेशम स्याङ्बोले जानकारी दिए। आर्थिक अवस्था कमजोर भएका ६ सहिद, चार घाइते र २० अतिविपन्न परिवार छनोट गरेर रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा बिमा गरिएको उनले बताए। 

पालिकाले यो वर्षको बिमाबापतको रकम चार लाख ९६ हजार तीन सय ३८ रुपैयाँ इन्स्योरेन्स कम्पनीलाई हस्तान्तरण गरेको छ। प्रत्येक परिवारको एक लाख रुपैयाँको दरले दशवर्षे बिमा गरिएको स्याङ्बोले बताए।

स्थानीय तहको निर्वाचनमा विजयी भएपछि पदभार ग्रहण गर्दा स्याङ्बोले सहिद, घाइते र गरिब स्थानीयलाई निःशुल्क बिमा गर्ने घोषणा गरेका थिए। 

गाउँपालिकाले निःशुल्क जीवन बिमा गरिदिएपछि सहिद परिवार कृष्णकुमारी सिलवाल, चरिमाया तामाङ र अतिविपन्न गंगा श्रेष्ठलगायत लाभान्वित ३० परिवारले खुसी व्यक्त गरेका छन्। 

विपन्न परिवारको छनोट गरेर वर्षेनी बिमा संख्या थप्दै जाने योजना रहेको स्याङ्बोले जानकारी दिए। विकट गाउँ गुम्बा, गोल्चे, पाङताङका दलित र जनजाति समुदाय गरिबीको रेखामुनि छन्।   

सुझावित समाचार