स्काउटलाई स्कुल–स्कुलमा पुर्‍याइने

सोमबार, ९ माघ, २०७९
डिजिटल संस्करण

नेपाल स्काउटले स्काउटलाई देशभरका स्कुलमा पुर्याइने जनाएको छ । विद्यार्थीमा सामाजिक भावना विकास गर्न र प्राकृतिक विपत्का वेला सहकार्य गर्न स्काउट तालिम आवश्यक रहेकाले यसलाई हरेक विद्यार्थीले जान्नैपर्ने नेपाल स्काउटका राष्ट्रिय संयोजक लोकबहादुर भण्डारीले बताए ।

उनले स्काउट शिक्षाले विद्यालय तहका बालबालिकालाई असल नागरिक बनाई सक्षम व्यक्ति बन्न प्रेरित गर्ने भएकाले तालिम आवश्यक रहेको बताए । ‘स्काउटले विद्यार्थी तथा बालबालिकालाई सामाजिक बनाउँछ, एक–अर्कालाई सहयोग गर्न सिकाउँछ,’ उनले भने, ‘त्यसैले यसलाई हरेक स्कुलमा पुर्याउन आवश्यक छ ।’ 

नेपाल स्काउट बागमती प्रदेशको संयोजन र स्थानीय स्काउट कार्यालय गोदावरी नगरपालिकाको संयोजनमा ललितपुरको गोदावरीमा २ माघदेखि एक सातासम्म ५१औँ उडब्याज तथा ४४औँ गल्र्स स्काउट एड्भान्स तालिम आयोजना गरिएको थियो । सो तालिममा उपत्यकाका विभिन्न जिल्लाका ५० भन्दा बढी प्रशिक्षार्थी सहभागी थिए ।

तालिमको समापन गर्दै संयोजक भण्डारीले यस्ता तालिमबारे स्थानीय निकायले चासो दिनुपर्ने बताए । तालिममा कोर्स लिडरका रूपमा पुरुषतर्फ सत्यनारायण शाही र महिलातर्फ विजयश्वरी अमात्य थिए । नेपाल स्काउट, बागमती प्रदेशका स्काउट संयोजक शिवराम अर्यालले यस्ता तालिमहरूले स्थानीयस्तरमा आपत्–विपत्सँग लड्ने जनशक्ति उत्पादन गर्न मद्दत पुग्ने बताए ।

See More On

सुझावित समाचार