विमान दुर्घटनाको सत्यतथ्य चाँडो सार्वजनिक गर्न पीडित परिवारको माग

आइतबार, ८ माघ, २०७९
डिजिटल संस्करण

पोखरामा माघ १ मा भएको यती एयरलाइन्सको विमान दुर्घटनाको सत्यतथ्य चाँडो सार्वजनिक गर्न दुर्घटनापीडित परिवारका सदस्यले माग गरेका छन् ।‘यती एयरलाइन्स दुर्घटना प्रभावित नागरिक समाज’द्वारा आज पोखरामा आयोजित भेलामा पीडित परिवारजनले दुर्घटना जाँच आयोगले पीडित पक्षलाई दुर्घटनाबारे विश्वसनीय जानकारी दिन नसकेको र आफूहरूसँग सम्पर्कसमेत नगरेको दुःखेसो गरेका छन्  । 

दुर्घटनामा परी निधन भएका स्व एसबिन गुरुङका ठूलाबुवा काजीमान गुरुङले दुर्घटनाले निम्त्याएको शोकलाई शक्तिमा बदल्दै स्व आत्माहरूको शान्तिका लागि सत्यतथ्य छानबिन हुनुपर्नेमा जोड दिए । स्थानीय र संघीय सरकारले दुर्घटनास्थलमा स्मारक पार्क बनाउनुपर्ने उनको माग छ । 

नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य स्व त्रिभुवन पौडेलका परिवारका प्रतिनिधि तथा नागरिक समितिका सदस्य खेमराज शर्माले दुर्घटनाको सत्यतथ्य छिटो बाहिर ल्याउन आग्रह गर्दै दुर्घटनामा पीडित परिवारलाई क्षतिपूर्तिको यथार्थ विवरण थाहा दिन सरकारसँग आग्रह गरे । 

भेलामा क्षेत्रगत प्रभावमा परेका अर्का समाजसेवी नागबेली टोलका संयोजक तथा समाजसेवी क्यामबहादुर गुरुङ र ख्यामनारायण शर्मा पौडेलले दुर्घटनापश्चात दमकल र एम्बुलेन्स घटनास्थल पुग्न गाह्रो भएकाले उद्धारमा अवरोध पुगेकोमा दुःख व्यक्त गरे । समाजले आगामी माघ १३ मा शोकसभा आयोजना गर्ने अध्यक्ष तथा प्रेस स्वतन्त्रता सेनानी कुसुमकेशव पराजुलीले बताए । समाजका सदस्य घनश्याम भण्डारीले १३औँ दिनमा स्वस्तिशान्ति, पूजापाठ गर्ने सबै तयारी गरिएको बताए ।

जहाज दुर्घटनामा ज्यान गुमाएका आमा–छोराको एकसातापछि दाहसंस्कार
१ माघमा जहाज दुर्घटनामा परेर ज्यान गुमाएका कञ्चनपुर महेन्द्रनगरका आमा–छोराको महाकाली नदीमा दाहसंस्कार गरिएको छ । जहाज दुर्घटनामा परी भीमदत्त नगरपालिका ४ महेन्द्रनगरकी सुष्मा पाण्डे(भट्ट) र उनका छोरा स्लक भट्टको महाकाली नदीमा दाहसंस्कार गरिएको हो । आइतबार देहान्त भएका आमाछोराको शनिबार महाकाली नदीमा अन्तेष्टि गरिएको परिवार स्रोतले जनाएको छ । 

मृतक आमाछोराको शव पोखराबाट काठमाडौंमा परीक्षण गरेर शुक्रबार मात्रै घर (महेन्द्रनगर) ल्याइएको थियो । शव अन्त्येष्टि यात्रामा हजारौँ मानिसको सहभागिता थियो । अकल्पनीय घटनाले भट्ट परिवारसहित आफन्त, इष्टमित्र विछिप्त भएका छन् । 

महेन्द्रनगरका प्रतिष्ठित व्यवसायी सञ्जिवचन्द्र भट्टकी धर्मपत्नी ५० वर्षीया सुष्मा पाण्डे(भट्ट) र कान्छा छोरा १६ वर्षीय स्लक भट्टको निधन भएको एकसातामा अन्त्येष्टि गरिएको छ । स्लक उच्चशिक्षा अध्ययनका लागि यसै वर्ष मात्रै काठमाडौं गएका थिए । उनीहरू आफन्तसँग भेटघाट गर्न पोखरा जान लागेका थिए । जहाज दुर्घटनामा चालक दलका चार सदस्यसहित ६८ यात्रु बोकेर काठमाडौंदेखि पोखराका लागि उडेको जहाज पोखराको सेतीखोँचमा दुर्घटना भएको थियो । दुर्घटनामा चालक दलका सदस्यसहित ७२ यात्रुले ज्यान गुमाएका छन् । 

सुझावित समाचार