अर्गानिक खाना–खाजासहितको रिडी लाउन्च सञ्चालनमा आएको छ। ललितपुरको जाउलाखेलस्थित ताम्राकार समाजको भवनमा रहेको उक्त लाउन्च शनिबारदेखि सञ्चालनमा आएको हो।
वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले उक्त लाउन्चको उद्घाटन गरेका हुन्। स्वस्थ्य जीवनका लागि अर्गानिक खानपिन भन्ने स्लोगनसहित रिडी लाउन्च सञ्चालनमा ल्याइएको हो।
लाउन्चमा रिडी ग्रुपको मुख्य लगानी छ। यसका अलावा २९ जनाले व्यक्तिगत रूपमा लगानी गरेका छन्।
लाउन्चमा एकैपटकमा १५० जनालाई खाना-खाजा खुवाउन सकिनेछ। साथै, एकपटकमा ३०० जनासम्मको संख्यामा पार्टी आयोजना गर्न सकिनेछ।
यसका अलावा लाउन्चमा २५ जना क्षमता भएको बैठक हलसमेत छ। यसैगरी, बच्चाहरू खेल्नका लागि पनि छुट्टै हल व्यवस्था गरिएको रिडी लाउन्चको भनाइ छ। साथै, लाउन्चको माथिबाट विभिन्न हिमालसहित काठमाठौं उपत्यकाको भ्यू हेर्न सकिने बताइएको छ।
लाउन्च अध्यक्ष झकेन्द्र घर्तीमगरले अर्गानिक खानाको प्रवर्द्धन गर्ने उद्देश्यसहित लाउन्च सञ्चालनमा ल्याएको बताए।
‘बढ्दो रेस्टुरेन्ट कल्चरले अर्गानिक खानाको लोप हुँदै गएको छ, सोही अर्गानिक खानालाई प्रवर्द्धन गर्ने उद्देश्यसहित यो सञ्चालनमा ल्याएको हो,’ उनले भने, ‘यहाँ खाना, खाजालगायतका सम्पूर्ण खाद्यान्न वस्तु अर्गानिक, स्वच्छ हुनेछ।’ यसैगरी, कलाकार मदनकृष्ण श्रेष्ठले अर्गानिक खानाको प्रवर्द्धनमा लाउन्च योगदान गर्ने बताए।