खलंगा–उर्थु–भुलभुले–पातारासी सडकखण्डको कोटाभिरमा माघ २ गते जिप दुर्घटना भयो । दुर्घटनामा परी पातारासी गाउँपालिका– २ खालाढिककी ४२ वर्षीया छोदेन लामाको मृत्यु भयो । थप १५ यात्रु घाइते भए ।
यसअघि पनि यो सडकखण्डमा भएका दुर्घटनामा परी धेरैले ज्यान गुमाए । सडकको स्तर, अधिक यात्रु, थोत्रा गाडी र नियमन नहुनुलाई दुर्घटनाका मुख्य कारण मानिएको छ । यी समस्या समाधानको उपाय खोज्दै पातारासी गाउँपालिकाले जुम्लादेखि पातारासी र रारा जोड्ने सडकको स्तरवृद्धि गर्न जिल्ला प्रशासन कार्यालयमार्फत सरकारको ध्यानाकर्षण गराएको छ ।
गाउँपालिकाले उक्त क्षेत्रमा सडक दुर्घटना बढेकाले सडकको स्तरवृद्धि, कडा ट्राफिक व्यवस्थापन तथा डिल्लीचौरको लासीमा चामल र नुनको डिपोको विषयमा ध्यानाकर्षण गराएको हो । गाउँपालिका उपाध्यक्ष जनमाया रोकायासहित वडाध्यक्षहरूको टोलीले प्रमुख जिल्ला अधिकारी मुकेशकुमार केशरीलाई भेटेर ध्यानाकर्षण गराएको हो ।
जिल्लाकै ठूलो निर्माणाधीन चुकेनी जलविद्युत् आयोजनासमेत सडकका कारण पूरा हुन सकेको छैन । ध्यानाकर्षणपत्र बुझ्दै प्रजिअ केशरीले जुम्ला–पातारासी सडकको अनुगमन गरिने बताए । ट्राफिक व्यवस्थापनका विषयमा स्थानीय सरकारले पनि ध्यान दिनुपर्ने बताउँदै उनले नुन–चामलको डिपोका विषयमा केन्द्रमा पहल गर्ने उल्लेख गरे ।