एकपटक एकजना शिक्षक आफ्ना निम्नमाध्यमिक तहका छात्रछात्रालाई लिएर कतै घुम्न जाँदै थिए । लक्षित स्थान पुग्नुअघिको यात्रामा उनी आफ्ना शिष्यहरूलाई असल संगतको प्रभावबारे बताइरहेका थिए । तर, उनले जति नै मृदु स्वरमा बुझाउने कोसिस गरे पनि कलिला बालबालिकाको मस्तिष्कमा उनको भनाइको तात्पर्य घुसिरहेको थिएन ।
यसै क्रममा ती शिक्षकले नजिकैको एउटा बगैँचामा गुलाफका फूलहरू मुस्कुराइरहेको देखे । उनले तत्काल एक शिष्यलाई सो गुलाफको बोटको फेदबाट एक मुठी माटो ल्याउन अह्राए । उनको आदेश पाउनासाथ एक विद्यार्थी बगैँचातिर खुर्र दौडिए । उनले गुरुको आदेशअनुसार एक मुठी माटो पनि ल्याए । त्यसपछि शिक्षकले सबैलाई पालैपालो सो माटो सुँघ्न अह्राए । प्रत्येक शिष्यले माटो सुँघे ।
माटो सुँघ्दै जाँदा उनीहरू अचम्ममा पनि परिरहेका थिए । एकजना विद्यार्थीले सोधे– गुरुदेव, यो माटोबाट त ठ्याक्कै गुलाफको जस्तै मिठो बास्ना आइरहेको छ । यसको कारण के हो ? हामी जान्न चाहन्छौँ । शिष्यको जिज्ञासापछि शिक्षकले हल्का मुस्कुराउँदै भने– हो, यही कुरा त म तिमीहरूलाई अघिदेखि बुझाउने कोसिस गरिरहेको थिएँ ।
वास्तवमा यस माटोमा गुलाफको फूलबाट शीतका थोपा तप्पतप्प खसिरहन्छन् । अनि, ओइलाउँदै गएका गुलाफका फूलका पत्रहरू पनि यहीँ खस्छन् । जसको प्रभावले गर्दा यो सामान्य माटोबाट पनि गुलाफको बास्ना आएको हो । यो सब संगतको प्रभाव हो । यो माटोमा गुलाफको सुगन्धको प्रभाव परेजस्तै असल मानिसको संगतको प्रभाव पनि मानिसमा सकारात्मक नै पर्छ ।