एकीकृत समाजवादी समाजवादी क्रान्तिको कार्यदिशा बनाउन जुटेको छ । सम्मानित नेता झलनाथ खनालको संयोजकत्वको १३ सदस्यीय दस्ताबेज मस्यौदा समितिले विभाग र जनसंगठनसँग सुझाव मागेको छ ।
विभाग र जनसंगठनलाई १० दिनभित्र लिखित रूपमा संगठन कस्तो बनाउने भन्ने सुझाव पेस गर्न समितिले निर्देशन दिएको छ ।
पार्टीका अन्य कमिटीसँग पनि सुझाव लिने समितिले जनाएको छ । सुझावलाई समेटेर दस्ताबेजको अन्तिम मस्यौदा तयार पार्ने खनालले जानकारी दिए ।
‘समाजवादी क्रान्तिको समग्र कार्यदिशा, नीति र सिद्धान्तको शृंखला अगाडि सार्नुपर्छ । जसले सम्पूर्ण नेपाली जनतालाई समाजवादको महान् लक्ष्यतिर मार्गदर्शन गर्न सकोस्,’ उनले भनेका छन् ।
खनालले नेपाली क्रान्तिको विकासक्रम, जनवादी क्रान्तिको समापन र नेपाली समाज समाजवादी क्रान्ति र रूपान्तरणको चरणमा आएको विषयलाई तर्कसंगत ढंगले विश्लेषण गरेर अगाडि बढ्नुपर्ने बताएका छन् ।
राष्ट्रिय–अन्तर्राष्ट्रिय परिस्थिति र विकसित भइरहेको नयाँ प्रवृत्तिहरू ठोस विश्लेषणको पनि उनले आवश्यकता औँल्याएका छन् ।
समितिले बुधबार विभागका प्रमुख, उपप्रमुख र सचिव, विभिन्न फाँटका इन्चार्ज र जनसंगठनका अध्यक्ष र महासचिवहरूसँग छलफल गरेको छ ।
पार्टीको सिद्धान्त, आर्थिक, राजनीतिक, सामाजिक, सांस्कृतिक नीति, कार्यक्रम र पार्टी निर्माणको मूल दिशाबारे दस्ताबेज तयार पारिने भएको छ ।
समितिमा केशवलाल श्रेष्ठ, डा. बेदुराम भुसाल, जगन्नाथ खतिवडा, डा. गंगालाल तुलाधर, प्रकाश ज्वाला, डा. विजय पौडेल, राजेन्द्र राई, रामकुमारी झाँक्री, सावित्रा भुसाल, गणेश विकलगायत सदस्य छन् ।
समितिले तयार पारेको दस्ताबेजको मस्यौदा पार्टीले अनुमोदन गरेपछि कार्यान्वयनमा आउने प्रचार विभाग सचिव प्रकाश खतिवडाले जानकारी दिए ।