पाइलट केसीको सालिकसहित उद्यान निर्माण गरिने

बुधबार, ४ माघ, २०७९
डिजिटल संस्करण

पोखरामा यही माघ १ गते यती एयरलाइन्सको नाइन एन एएनसी एटिआर–७२ विमान दुर्घटनामा मृत्यु भएका विमानका पाइलट कमल केसीको अर्धकदको सालिक निर्माण गरिने भएको छ ।

कास्कीको रूपा गाउँपालिकाले केसीको स्मरणमा सालिकसहित उद्यान निर्माण गरी दुर्घटनामा निधन भएका ७२ जनाको शिलालेखमा नाम समावेश गर्ने निर्णय गरेको हो । स्व. केसी रूपा गाउँपालिका– ३ पोल्याङनिवासी थिए । गाउँपालिकाले उनलाई ०७८ सालमा रूपारत्न सम्मानबाट समेत सम्मान गरेको थियो । केसी गाउँपालिकाको पहिलो पाइलट एवं प्रशिक्षक थिए । 

गाउँपालिका अध्यक्ष नवराज ओझाले पाइलट केसीको मृत्युले गाउँपालिकालाई अपूरणीय क्षति पुगेको बताए । मंगलबार बसेको गाउँ कार्यपालिका बैठकले केसीको सालिकसहित उद्यान निर्माण गर्ने, शिलालेखमा नाम समावेश गर्ने र स्थानीय पाठ्यपुस्तकमा केसीबारे समावेश गराउने निर्णय गरेको हो ।

केसीले अमेरिकाबाट पाइलट कोर्स पढेर आएका थिए । उनले  ०४६ सालमा नेपाल वायुसेवा निगमबाट आफ्नो पेसाको सुरुवात गरेका थिए ।  पछिल्लो समय केसी यती एयरलाइन्समा आबद्ध थिए । केसीले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो परीक्षण उडान गरेका थिए । 

यही माघ १ गते काठमाडौंबाट पोखरा आउँदै गरेको यती एयरलाइन्सको जहाज पोखरा विमानस्थलनजिक सेती नदीको खोँचमा दुर्घटना हुँदा ७२ जनाको निधन भएको छ । दुर्घटनामा परेकाहरूमध्ये अझै एकजनाको शव प्राप्त हुनसकेको छैन । 
 

सुझावित समाचार