नवनियुक्त सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सञ्चार तथा सूचना प्रविधिलाई जनताको सहज पहुँचमा पुर्याउनु आफ्नो प्राथमिकता भएको बताएकी छिन् ।
मंगलबार सञ्चार तथा सूचना प्रविधिमन्त्रीको शपथग्रहणपछि सिंहदरबारस्थित मन्त्रालय पुगेर कार्यभार सम्हाल्दै उनले यस्तो बताएकी हुन् । उनले सार्वजनिक संघ, संस्थानहरूलाई पनि प्रविधिमैत्री बनाउनेतर्फ ध्यान दिने बताइन् ।
सेवाग्राहीलाई सूचनाको सहज पहुँच दिलाउँदै देशलाई नै प्रविधिमैत्री बनाउनेतर्फ ध्यान दिने उनको भनाइ छ । ‘हाम्रा उत्पादनदेखि लिएर सबै सार्वजनिक संघ, संस्थानहरूमा सूचना र प्रविधिका कुरालाई सहजतापूर्वक कसरी उपलब्ध गराउन सकिन्छ र सूचनालाई कसरी सेवाग्राहीको पहुँचमा पुर्याउन सकिन्छ भन्ने कुरालाई विशेष ध्यान दिनुपर्छ भन्ने लागेको छ,’ उनले भनिन् ।
मन्त्री शर्माले सबै कामहरू प्रविधिमार्फत हुन सकेमा देशलाई समृद्धिको लक्ष्य हासिल गर्न सजिलो हुने उल्लेख गरिन्। अर्थतन्त्रले धान्न सक्नेजति सञ्चार प्रविधिको विकासलाई अघि बढाउने उनले प्रस्ट पारेकी छिन् ।