प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज मन्त्रिपरिषद्लाई पूर्णता दिँदै छन् । मन्त्रिपरिषदमा एमालेका एक उपप्रधानमन्त्रीसहित आठ मन्त्री बन्दै छन् ।
मन्त्रिपरिषदमा अहिले एमालेबाट दुई सदस्य छन् भने ६ नयाँ थपिँदै छन् । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र ज्वालाकुमारी साह मन्त्रिपरिषदमा छन् ।
प्रधानमन्त्रीले शपथग्रहण गरेकै दिन विनाविभागीय मन्त्रीका रूपमा शपथ लिएकी ज्वालाकुमारी साहले आज कृषिमन्त्रीको शपथ लिनेछिन् ।
एमालेका पदम गिरी स्वास्थ्यमन्त्री बन्दै छन् । डा. विमला राई पौडेललाई परराष्ट्र मन्त्रालयको नेतृत्व दिइँदै छ । यस्तै, हरि उप्रेतीले रक्षा, भगवती चौधरीले महिला बालबालिका, दामोदर भण्डारीले उद्योग वाणिज्य तथा आपूर्ति र राजेन्द्र राईले भूमि व्यवस्था तथा सहकारी मन्त्रालय सम्हाल्दै छन् ।