अमेरिकी नागरिक ठगी प्रकरण : थप एक पक्राउ, संगठित अपराधमा अनुसन्धान हुने

मंगलबार, ३ माघ, २०७९
डिजिटल संस्करण

अमेरिकी नागरिकलाई अनलाइनमार्फत ठगी गरेको रकम बैंकिङ प्रक्रियामार्फत नेपालमा ल्याएको घटनाको अनुसन्धानमा प्रहरीले थप एकजनालाई पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले गिरोहका नाइके पृथ्वीबहादुर शाहकी पूर्वकर्मचारी विनिता तामाङलाई पक्राउ गरेको हो । तामाङको नाममा पनि शाहले कम्पनी दर्ता गरी आर्थिक कारोबार गरेको प्रहरीले जनाएको छ । 

नेपालमा विभिन्न कम्पनी खडा गरी ती कम्पनीको नाममा शाहले ठगी गरेको रकम ल्याएको घटनामा सिआइबीले शाहसहित यसअघि ६ जनालाई नै पक्राउ गरिसकेको छ । सो घटनामा ठगी तथा संगठित अपराध मुद्दामा अनुसन्धान अघि बढाइएको सिआइबीले जनाएको छ । संगठित अपराध मुद्दामा प्रहरीले ६० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न पाउँछ । घटना संगठित प्रकृतिको भएकाले अदालतले संगठित अपराधसम्बन्धी कसुरमा अनुसन्धान गर्न अनुमति दिएको हो । 

सिआइबीले पृथ्वीबहादुरसहित उनका भाइ विजयविक्रम शाह तथा अन्य साझेदारहरू चक्रबहादुर खत्री, अनुप खड्का, रुक्मांगत काफ्ले र रंगबहादुर साउदलाई पक्राउ गरिसकेको छ । उनीहरूविरुद्ध अमेरिकी नागरिकले काठमाडौंस्थित अमेरिकी दूतावासमार्फत जाहेरी दिएका छन् । नेपालमा सिद्धार्थ बैंकलगायतले पनि नक्कली कागजपत्र पेस गरी शंकास्पद कारोबार गरेको भनेर सिआइबीमा उजुरी गरेका छन् । 

शाहको ‘हन्टिङ रिजर्भ अफ नेपाल’लगायतका कम्पनीका नाममा शंकास्पद रकम कारोबार भएको देखिएको छ । सो कम्पनीको नामका खातामा ४६ लाख ४६ हजार सात सय ३७ अमेरिकी डलर, १२ हजार आठ सय २५ पाउन्ड स्टर्लिङ र तीन करोड २२ लाख २८ हजार ६ सय ८० रुपैयाँ स्विफ्टमार्फत आफ्नो खातामा ल्याई निकालेका थिए । अमेरिकी नागरिकलाई कम्प्युटर तथा ल्यापटपमा ‘एन्टिभाइरस अपडेट’ गर्नुपर्ने भन्दै भ्रममा पारी उनीहरूको बैंक खाताबाट चोरिएको रकम शाह र उनका साझेदारहरूको कम्पनीको खातामा ट्रान्सफर गरिएको सिआइबीले जनाएको छ ।

अमेरिकाबाट सिआइबीमा थप उजुरी आउने क्रम रहेको सिआइबीका एक अधिकारीले बताए । प्रारम्भिक अनुसन्धानमा करिब ६५ करोड रुपैयाँबराबर रकम शाहले नेपाल ल्याएका थिए । त्यसमध्ये करिब ४० करोड रुपैयाँ नेपाल राष्ट्र बैंकले रोक्काका लागि सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई पत्राचार गर्न भनेको छ । विभागले पनि यस प्रकरणमा छुट्टै अनुसन्धान गरिरहेको छ ।

See More On

सुझावित समाचार