निक्षेप तथा कर्जा सुरक्षण कोषले तीन करोड ७० लाख ३१ हजार सात सय ७५ निक्षेपकर्ताको ११ खर्ब २४ अर्ब रुपैयाँको निक्षेप सुरक्षण गरेको छ । चालू आर्थिक वर्ष ०७९/८० को पहिलो त्रैमाससम्म कोषले ६१ बैंक तथा वित्तीय संस्थाका निक्षेपकर्ताको बचत सुरक्षण गरेको हो ।
कोषको तथ्यांकअनुसार २६ वाणिज्य बैंकको तीन करोड १९ लाख ५२ हजार पाँच सय १८ निक्षेपकर्ताको नौ खर्ब ७७ अर्ब निक्षेप सुरक्षण भएको छ । चालू आवको असोजसम्म १७ विकास बैंकका ४५ लाख चार हजार निक्षेपकर्ताको एक खर्ब २६ अर्ब निक्षेप सुरक्षण भएको कोषका प्रवक्ता विनोद पन्तले जानकारी दिए । त्यस्तै, १६ वित्त कम्पनीका पाँच लाख १६ हजार निक्षेपकर्ताको १८ अर्ब ८९ करोड रुपैयाँ सुरक्षण भएको छ । दुईवटा लघुवित्त वित्तको ५८ हजार बचतकर्ताको एक अर्ब १६ करोड रुपैयाँ निक्षेप सुरक्षण गरिएको छ ।
देशमा कुनै आर्थिक संकट आइपरेमा वा बैंक तथा वित्तीय संस्था धराशायी भएमा बचतकर्ताको रकम सुरक्षित गर्न सरकारले सुरक्षणका लागि छुट्टै निकायका रूपमा निक्षेप तथा कर्जा सुरक्षण कोषको स्थापना गरेको हो । कोषले प्रत्येक बचतकर्ताको पाँच लाख रुपैयाँसम्म सुरक्षण गर्दै आएको छ । अर्थात्, वित्तीय संस्था टाट पल्टेमा कोषले सुरक्षण गरेका बचतकर्ताको पाँच लाख रुपैयाँसम्म बचत फिर्ता गर्छ । यसअघि कोषले दुई लाख रुपैयाँसम्मको सुरक्षण गर्दै आएको थियो ।
सुरक्षण गरेबापत बैंक तथा वित्तीय संस्थाले वार्षिक शून्य दशमलव १६ प्रतिशत प्रिमियम भुक्तानी गर्नुपर्छ । त्रैमासिक रूपमा भने ०.०४ प्रतिशत शुल्क भुक्तानी गर्नुपर्छ ।बचतकर्ताको बचत रकम सुरक्षण गरेबापत कोषले ४४ अर्ब ९९ करोड रुपैयाँ निक्षेप सुरक्षण शुल्क संकलन गरेको छ । कोषको तथ्यांकअनुसार वाणिज्य बैंकको निक्षेपकर्ताको निक्षेप सुरक्षणबाट कोषले ३९ करोड १० लाख रुपैयाँ संकलन गरेको छ । विकास बैंकबाट पाँच करोड सात लाख रुपैयाँ संकलन गरेको छ भने वित्त कम्पनीबाट ७५ लाख ८० हजार रुपैयाँ संकलन गरेको छ । लघुवित्त कम्पनीबाट चार लाख ६६ हजार रुपैयाँ सुरक्षण शुल्क संकलन गरेको कोषको तथ्यांक छ ।
विपन्न वर्ग कर्जा लिने १६ लाख बढी ऋणीको कर्जा सुरक्षण
कर्जा तथा निक्षेप सुरक्षण कोषले लघुवित्त तथा विपन्न कर्जा लिएका १६ लाख ३६ हजार सात सय १२ ऋणीको एक खर्ब ८३ अर्ब कर्जा सुरक्षण गरेको छ । कोषका अनुसार चालू आर्थिक वर्ष ०७९/८० को असोज महिनासम्ममा कोषले कर्जा सुरक्षण गरेबापत ७३ करोड ५१ लाख रुपैयाँ सुरक्षण शुल्क संकलन गरेको छ ।
लघुवित्त तथा विपन्न वर्ग कर्जा कार्यक्रमअन्तर्गत विनाधितो सामूहिक जमानीको १० लाख रुपैयाँसम्मको कर्जाको सुरक्षण गरिन्छ । शैक्षिक प्रमाणपत्र धितोमा दिइने सात लाख रुपैयाँ कर्जाको, धितो जमानी कर्जाको २० लाखसम्मको कर्जा, परियोजना धितोको १० लाख र व्यक्तिगत, सामूहिक जमानी वा परियोजना धितो राखी दिइने १५ लाख रुपैयाँसम्मको कर्जाको सुरक्षण गरिने कोषका प्रवक्ता विनोद पन्तले बताए । यस्तो खालको कर्जाको सुरक्षण शुल्क ०.८ प्रतिशत तोकिएको छ । यस्तो कर्जा क्षति भएमा दाबीको ७५ प्रतिशत रकम दुई किस्तामा भुक्तानी गरिन्छ ।
त्यस्तै, सरकारले ब्याजमा अनुदान दिने कर्जा लिएका ८२ हजार चार सय ८० ऋणीको ६२ अर्ब १६ करोड रुपैयाँको सुरक्षण गरेको छ । सुरक्षणबापत कोषले २४ करोड ८६ लाख रुपैयाँ सुरक्षण शुल्क संकलन गरेको छ । साना तथा मझौला उद्यम कर्जाअन्तर्गत कोषले ६ हजार दुई सय ३० ऋणीको १२ अर्ब २८ करोड रुपैयाँ सुरक्षण गरेको छ । सुरक्षणबापत कोषले ३६ हजार आठ सय ५७ सुरक्षण शुल्क संकलन गरेको छ । त्यस्तै, कृषि कर्जाअन्तर्गत ११ हजार दुई सय ३६ ऋणीको नौ अर्ब २९ करोड रुपैयाँ कोषले सुरक्षण गरेको छ ।
नेपालमा हाल कायम रहेको कर्जा सुरक्षण कार्यक्रमअन्तर्गत लघुवित्त तथा विपन्न वर्ग कर्जा कार्यक्रम, साना तथा मझौला उद्यम कर्जा, कृषि कर्जा, शैक्षिक कर्जा तथा शैक्षिक बेरोजगार व्यवसाय कर्जा र निर्यात व्यवसाय कर्जाको सुरक्षण गर्ने गरिन्छ । साना तथा कृषि कर्जाअन्तर्गत एक करोड रुपैयाँसम्म र एक करोड रुपैयाँभन्दा माथिको रकमको कोषको पूर्वस्वीकृतिमा कर्जाको सुरक्षण गरिन्छ । यस्तो खालको कर्जाको सुरक्षण शुल्क ०.६ प्रतिशत तोकिएको छ ।