अन्तर्राष्ट्रिय समुदाय दुःखी

सोमबार, २ माघ, २०७९
डिजिटल संस्करण

पोखरामा विमान दुर्घटनाका कारण भएको मानवीय क्षतिप्रति अन्तर्राष्ट्रिय समुदायले गहिरो दुःख एवं शोक व्यक्त गरेको छ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, पाकिस्तानका राष्ट्रपति डा. आरिफ अल्भी, प्रधानमन्त्री सहबाज सरिफसहित चीन, अमेरिका, बेलायतलगायतले दुःख व्यक्त गरेका छन् । 

प्रधानमन्त्री मोदीले सामाजिक सञ्जाल ट्विटरमा शोक सन्देश जारी गर्दै भनेका छन्, ‘भारतीय नागरिकसहित विभिन्न देशका नागरिकको ज्यान जाने गरी नेपालमा भएको हवाई दुर्घटनाले मर्माहत भएको छु । यस दुःखद घडीमा शोक सन्तप्त परिवारजनलाई धैर्यधारण गर्ने शक्ति प्राप्त होस् भन्ने कामना गर्दछु ।’ दुर्घटनामा पाँचजना भारतीय नागरिक पनि परेका छन् । 
भारतीय विदेशमन्त्री डा. एस जयशंकर, उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ, उत्तराखण्डका मुख्यमन्त्री पुस्करसिंह धामी, मध्य प्रदेशका मुख्यमन्त्री शिवराजसिंह चौहान, पश्चिम बंगालका मुख्यमन्त्री ममता बनर्जीलगायतले पनि घटनाप्रति दुःख व्यक्त गरेका छन् । 

पाकिस्तानका राष्ट्रपति अल्भी र प्रधानमन्त्री सरिफले पोखरामा जहाज दुर्घटनाबाट मर्माहत भएको उल्लेख गर्दै शोकाकुल परिवारजनप्रति सहानुभूति व्यक्त गरेका छन् । नेपालका लागि चिनियाँ राजदूत चेन सोङले घटनाप्रति दुःख व्यक्त गर्दै ट्विट गरेका छन् । उनले भनेका छन्, ‘पोखरामा भएको यती एयरलाइन्सको विमान दुर्घटनाले निकै स्तब्ध छु । यस दुःखद घडीमा नेपाली जनताप्रति हाम्रो सहानुभूति छ ।’

अमेरिकी राजदूतावासद्वारा जारी ट्विटमा भनिएको छ, ‘पोखरामा भएको यती एयरलाइन्सको दुःखद घटनाले हामी अत्यन्त मर्माहत भएका छौँ । हामी स्थितिलाई सावधानीपूर्वक हेरिरहेका छौँ ।’ बेलायती राजदूत निकोला पोलिटले घटनाप्रति दुःख व्यक्त गरेकी छिन् । 

सुझावित समाचार