बिवाइडीको आधिकारिक विक्रेता साइमेक्स इंक र बिवाइडी इन्डियाको संयुक्त आयोजनामा ब्लेड ब्याट्रीलाई नेल पेनेट्रेसन टेस्ट (सियोले घोचेर गरिने प्रयोग) सम्पन्न भएको छ । दिल्लीमा भएको कार्यक्रममा नेपालबाट अटो एक्स्पो २०२३ अवलोकनका लागि गएका नेपाली पत्रकारहरूलाई नेल पेनेट्रेसन टेस्ट देखाइएको थियो । परीक्षणमा एनसिएम ब्याट्री र बिवाइडी ब्लेड ब्याट्री प्रयोग गरिएको थियो । सुरक्षित डोमभित्र पारिएको टेस्टमा एनसिएम ब्याट्रीलाई प्वाल पार्दा ठूलो आवाज निकालेर पड्केको थियो । तर, त्यहीँ प्वाल पार्दा ब्लेड ब्याट्रीमा कुनै किसिमको आगो लाग्ने वा पड्कने केही भएन ।
बिवाइडी इन्डियाका नेसनल सेल्स हेड, प्यासेन्जर भेहिकल बिजनेस युनिटका प्रमुख श्रीराङ जोशीले ब्याट्रीको विशेषताका बारेमा जानकारी दिँदै भने, ‘हाम्रो ब्याट्री सुरक्षा र रेन्जका लागि प्रसिद्ध छ, त्यसैले विश्वका धेरै गाडी निर्माताले प्रयोग गर्न चाहेका छन् ।’
ब्लेड ब्याट्री नेल पेनेट्रेसन टेस्ट गर्दा यसको ताक्रम ३० देखि ६० डिग्री सेन्टिग्रेट मात्र पुगेको थियो । जबकि अन्य एनसिएम ब्याट्री तीन सयदेखि चार सय डिग्री पुगेको थियो । तपक्रम नबढ्दा ब्लेड ब्याट्री पड्कने र धुवाँ भएन । तर, एनसिएम ब्याट्री ठूलो आवाज गरेर पड्केको थियो ।
निकै स्मार्ट र स्लिम साइजमा रहेको ब्लेड ब्याट्रीमा प्रत्येक सेलको लम्बाइ ९६ सेमि, चौडाइ नौ सेमि तथा उचाइ मात्र १.३५ सेमि हुने गर्छ । यसलाई ब्याट्री प्याक बनाउँदा लहरै मिलाएर ‘सेल टु प्याक सिस्टम’मा राखिन्छ । त्यही कारण पातलो तथा लामो ब्याट्री प्याक बन्छ । ब्लेड ब्याट्रीले परम्परागत लिथियम आयोन फस्फेटको तुलनामा ५० प्रतिशत बढी भोलुमेट्रिक इनर्जी डेन्सिटी प्राप्त हुन्छ । अर्थात्, सानो साइजबाटै धेरै इनर्जी प्राप्त गर्न सकिन्छ ।
ब्लेड ब्याट्रीको फाइदा
ब्लेड ब्याट्रीको मुख्य फाइदा भनेको चार्जिङ साइकललाई तीन हजार पु¥याउनु हो, त्यही कारण सिंगल ब्याट्री प्याकले नै १२ लाख किलोमिटरसम्म गुडाउन सकिन्छ । यो ब्याट्रीलाई फास्ट चार्जरबाट १० प्रतिशतबाट ८० प्रतिशत चार्ज गर्न मात्र ३३ मिनेट लाग्ने कम्पनीको दाबी छ । बिवाइडीले हान मोडलमा प्रयोग गरेको ब्लेड ब्याट्रीले सिंगल चार्जमा ६ सय पाँच किलोमिटरसम्म रेन्ज दिने एनइडिसीले प्रमाणित गरेको छ ।