मकवानपुरको मनहरीमा स्कुटर दुर्घटना हुँदा तीनजनाको मृत्यु

शुक्रबार, २९ पुष, २०७९
डिजिटल संस्करण

मकवानपुरको मनहरी गाउँपालिका- ९ ज्यामिरेमा बिहीबार राति स्कुटर दुर्घटना हुँदा तीनजनाको मृत्यु भएको छ । पूर्व–पश्चिम सडकखण्डअन्तर्गत ज्यामिरेको भलादमी चोकमा बिहीबार राति १०:५० बजे ना.३९ प १४३९ न.को स्कुटर दुर्घटना भएको हो।

दुर्घटनामा परी मकवानपुरको मनहरी गाउँपालिका- ८, सिमपानीका अन्दाजी ३०–३२ वर्षीय धर्मराज मोक्तान, सोही स्थानका अन्दाजी ३०–३२ वर्षीय मिलन मोक्तान र राक्सिराङ गाउँपालिका- ३ लावतीका अन्दाजी  ३०–३२ वर्षीय रुपेश तामाङको मृत्यु भएको हो । तीनैजना एउटै  स्कुटरमा सवार  थिए । 

उनीहरूको उपचारका क्रममा आज बिहान भरतपुरस्थित पुरानो मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

दुर्घटनामा परी घाइते भएका तीनैजनालाई राति नै भरतपुरस्थित पुरानो मेडिकल कलेज लगिएकोमा उपचारका क्रममा उनीहरूको मृत्यु भएको प्रवक्ता कार्कीले बताए । 

स्कुटर दुर्घटनाको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ । दुर्घटना भएको स्थान र अवस्था हेर्दा कुनै सवारीसाधनले ठक्कर दिएजस्तो देखिएकाले अनुसन्धान थालिएको प्रहरी प्रवक्ता कार्कीले बताए ।

सुझावित समाचार