‘यातायात’ अर्थात् सधैँकाे सास्ती

बिहिबार, २८ पुष, २०७९
डिजिटल संस्करण

यातायात व्यवस्था विभागले अहिले चालक अनुमतिपत्रका लागि अनलाइन आवेदन अनिवार्य गरेको छ। 

त्यहाँ जानुपूर्व सबैले अनलाइन फाराम भरेर यातायात कार्यालय पुग्छन् सेवाग्राही। त्यसपछि बायोमेट्रिक हुन्छ। बायोमेट्रिक सकिएको भोलिपल्ट लिखित परीक्षा लिन्छ। त्यसको तीन दिनपछि ट्रायल दिन पाइन्छ। तर, ट्रायलसम्मको प्रक्रियामा पुग्न सेवाग्राहीले यातायात कार्यालयमा अनेकन सास्ती र झन्झट खेप्छन्। 

सधैँजसो भिडभाड हुने यातायात कार्यालय कुमारीगालमा यो हप्ता पनि उस्तै भिड देखिन्थ्यो। सेवाग्राही धकेलाधकेल हुँदै लामबद्ध थिए। तर, पटकपटक सर्भरमा समस्या आएको भन्दै कार्यालयले  केही समय (करिब दुई घन्टा) सेवा बन्द गर्‍याे। 

धादिङदेखि लाइसेन्स बनाउन कुमारीगाल आएका उमेश अधिकारी चार दिनदेखि यातायात कार्यालय धाइरहेका छन्। साइबरबाट अनलाइन फाराम भरेर शुक्रबारदेखि कार्यालय आएका उनको मंगलबार मात्रै बायोमेट्रिकको काम सकियो। यसअघि उनलाई पनि सर्भर बिग्रिएको भन्दै कार्यालयका कर्मचारीले फर्काएका थिए।  

कार्यालयले लिखित जाँचभन्दा अघिको प्रक्रियालाई सहज नबनाउँदा सेवाग्राहीले सास्ती खेप्नुपरेको छ। आँखा जाँच, ब्लड ग्रुप जाँचलगायत बायोमेट्रिकसम्बन्धी सेवा प्रवाहमा सुस्तता हुँदा सेवाग्राहीले पालो पाउन ढिलो हुने गरेको छ। त्यस्तै, पछिल्लो एक महिनायता विभागको सर्भरमा समस्या आएपछि दिनभरि लाइनमा बसेका सेवाग्राही व्यर्थै फर्किनुपरेको गुनासो गर्छन्। 

तस्बिर : संजित परियार/नयाँ पत्रिका 

सुझावित समाचार