शिक्षक हत्या प्रकरण : आरोपित दम्पती कारागार चलान

बिहिबार, २८ पुष, २०७९
डिजिटल संस्करण

बैतडीको पाटन नगरपालिका– ६ स्थित श्रीकृष्ण माविका शिक्षक धनबहादुर विष्टको हत्यामा संलग्न रहेको जनाउँदै एक दम्पतीलाई कारागार चलान गरिएको छ।  

कारागार चलान हुनेमा पुचौडी नगरपालिका– ३ का प्रजा बोहरा र उनकी श्रीमती विमला छन्। दुवैलाई जिल्ला अदालतले पुर्पक्षका लागि कारागार चलान गर्न आदेश दिएको बैतडीका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए। 

सुर्नया गाउँपालिका– २ घर भएका ५५ वर्षीय शिक्षक यही पुस २ गते श्रीकृष्ण माविको छात्रावासपछाडि मृतावस्थामा भेटिएका थिए। त्यसपछि शिक्षकको हत्यामा संलग्न रहेको आरोपमा बोहरादम्पतीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो।

नियन्त्रणपश्चात् बोहरादम्पतीले हत्या गरेको स्वीकार गरेपछि  प्रहरीले पुस ७ गते पत्रकार सम्मेलन गरी सावर्जनिक गरेको छ। 

दुवैजनाविरुद्ध  बैतडी जिल्ला अदालत कर्तव्य ज्यान मुद्दामा दुईपटक म्याद थपेर अनुसन्धान कार्य गरेको थियो। श्रीकृष्ण माविमा कम्प्युटर डिप्लोमा चौथो वर्षमा अध्ययन गरिरहेकी विमला छात्रावासमा बस्दै आएकी थिइन्।  उनका श्रीमान् पनि भेटघाटका लागि पाटन पुगेर छात्रावासमै बसेका थिए। 

छात्रावासमै बस्दै आएका शिक्षक विष्टले पुस १ गते राति पौने १० बजे शौचालय गएकी विमलालाई अँगालो हाली  दुर्व्यवहार गरेको  प्रजाले देखेको र त्यसपछि आक्रोशित भएका प्रजाले  विष्टको छाती, मुखमा हिर्काउँदै छात्रावासबाहिर ल्याई पुर्पुरोमा हिर्काउँदै हत्या गरेको प्रजाले प्रहरीसमक्ष बयान दिएका छन् । 

विष्टको मृत्यु भएपश्चात् शवलाई  प्रजा र विमलाले केत्तुकेको झारीमा फालेकाे जनाइएको छ । 

सुझावित समाचार