विश्वासको मत दिँदै लिङ्देनले संसदबाटै पृथ्वीजयन्तीमा चियापानको निम्तो गरे

मंगलबार, २६ पुष, २०७९
डिजिटल संस्करण

राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले सुशासन, विकास, सेवाप्रवाह र राष्ट्रियताका सम्बन्धमा प्रधानमन्त्रीको प्रतिबद्धतामा आफूहरूको साथ रहने बताएका छन्। सोमबार प्रतिनिधिसभा बैठकमा विश्वासको मतको प्रस्तावमाथि छलफलमा भाग लिँदै उनले यस्तो बताएका हुन्।

राप्रपाले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने दोहोर्याउँदै लिङ्देनले भने, ‘जनादेशलाई आत्मसात् गरेर राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रारम्भमा नै सम्माननीय पुष्पकमल दाहाललाई प्रधानमन्त्रीको रूपमा प्रस्ताव गर्ने पत्रमा हस्ताक्षर गरिसकेको छ।’

पृथ्वीनारायण शाहलाई नेपाली भन्ने पहिचान दिने राष्ट्रनिर्माताका रूपमा उल्लेख गर्दै लिङ्देनले उनको सम्मानमा कसैले हीनताबोध गर्न नपर्ने तर्क गरे। ‘पृथ्वीनारायण शाह थिए र नेपाल भन्ने राष्ट्र छ। नेपाल राष्ट्र छ त्यसकारण पुष्पकमल दाहाल नेपालको प्रधानमन्त्री हुनुहुन्छ,’ उनले भने।

सम्बोधनको अन्त्यमा लिङ्देनले पृथ्वीजयन्ती र राष्ट्रिय एकता दिवसमा पार्टीले गर्न लागेको चियापान समारोहमा सहभागी हुन सांसदहरूलाई निम्ता दिनसमेत भ्याए। ‘कुनै पार्टीको, कुनै विचारको मात्रै दिवस होइन यो,’ उनले भने, ‘राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट सबै माननीयज्यूहरूलाई भोलि भृकुटीमण्डपमा चियापान समारोह छ, चुले निम्तो गर्छु।’
 

सुझावित समाचार