प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सहमति, सहकार्य र आपसी विश्वासको राजनीतिलाई अगाडि बढाउन आफू प्रतिबद्ध रहेको बताएका छन्।
मंगलबार प्रतिनिधिसभा बैठकमा विश्वासको मतका लागि प्रस्ताव प्रस्तुत गर्दै प्रधानमन्त्री प्रचण्डले सामाजिक न्याय, सुशासन र समृद्धिको संकल्प आफूले लिएको र त्यसलाई पूरा गर्न आफूले संसदमा विश्वासको मत मागेको स्पष्ट पारे। वामपन्थी र लोकतान्त्रिक शक्तिहरू मिले मात्रै मुलुकमा सार्थक परिवर्तन सम्भव भएको उल्लेख गर्दै उनले आफूले सोही बाटोबाट अघि बढ्ने नीति लिएको बताए।
‘प्रधानमन्त्रीका रूपमा म निषेध, अपमान र प्रतिशोध होइन, सहमति, सहकार्य र आपसी विश्वासको राजनीतिलाई अगाडि बढाउन प्रतिबद्ध छु। यो देशमा जति पनि सार्थक परिवर्तन भएका छन्, वामपन्थी र लोकतान्त्रिक शक्ति मिलेर भएका छन्। एक सय चार वर्ष लामो राणा शासन होस् वा ३० वर्ष लामो पञ्चायती निरंकुशता, वाम–लोकतान्त्रिक सहकार्यबाट नै समाप्त भएको हो। १२ बुँदे समझदारी विस्तृत शान्ति सम्झौता, संविधानसभा र संघीय लोकतान्त्रिक गणतन्त्र हामीबीचको सहकार्यकै परिणाम हो,’ प्रचण्डले भने।