नेपाल फर्मा एन्ड हेल्थ अन्तर्राष्ट्रिय प्रदर्शनी माघ ६ देखि

मंगलबार, २६ पुष, २०७९
डिजिटल संस्करण

मिडिया स्पेस सोलुसन्स (एमएसएस)का साथै एक्जिबिसन एन्ड ट्रेड सर्भिसेस इन्डिया प्रालि (इटिएसआइपिएल) तथा फ्युचरेक्स ट्रेड फेयर्स एन्ड इभेन्ट्स प्रालिको संयोजकत्वमा ‘नेपाल फर्मा एन्ड हेल्थ अन्तर्राष्ट्रिय प्रदर्शनी’ आयोजना हुने भएको छ । काठमाडौंको भृकुटीमण्डपमा माघ ६ देखि ८ गतेसम्म ‘नेपाल फर्मा एन्ड हेल्थ’ नामक औषधोपचार, स्वास्थोपचार तथा फार्मेसीसँग सम्बन्धित प्रदर्शनी हुन लागेको हो । 

प्रदर्शनीमा स्वदेशी तथा विदेशी गरी एक सयभन्दा बढी कम्पनीहरूको स्टल रहने जनाइएको छ । प्रदर्शनीका विशेषतामा प्रदर्शनी, सम्मेलन र साझेदारी रहेको आयोजकको भनाइ छ । यी तीन विशेषता एउटै ठाउँमा ल्याई नेपालका विभिन्न फर्मा र हेल्थकेयर उद्योगलाई जोड्न, सम्बन्ध निर्माण गर्न र व्यापारका अवसर बढाउनका लागि यो प्रदर्शनीले केन्द्रीय भूमिका निर्वाह गर्ने आयोजकले जनाएको छ ।

नेपालले औषधि तथा स्वास्थ्य उद्योगको विकासमा एउटा निश्चित गति लिएको र यी क्षेत्रहरूबाट विशेष गरी देशको विस्तारित अर्थतन्त्रमा प्रत्यक्ष फाइदा हुने आयोजकको भनाइ छ । त्यसैले स्वास्थ्य सेवामा सरकारी लगानी बढ्नुका साथै नेपालको औषधि तथा स्वास्थ्य सेवा उद्योगले दिगो विकास पनि ल्याउन सक्ने सम्भावना रहेको जनाइएको छ ।  

नेपालमा भित्रिने औषधोपचारका सामग्रीमा भारत लगभग ८० प्रतिशत आयातको साझेदार भएकाले यो अन्तर्राष्ट्रिय प्रदर्शनीले भारतीय उपमहाद्वीपका विभिन्न सरोकारवालाको ध्यानाकर्षण गर्न प्रदर्शनीले मद्दत गर्ने आयोजकले विश्वास व्यक्त गरेका छन् । नेपाली चिकित्सा प्रणालीमा वैदेशिक योगदान तथा लगानीका लागि विभिन्न उत्कृष्ट अवसर सिर्जना गर्नका लागि पनि यो प्रदर्शनीले उल्लेखनीय भूमिका निर्वाह गर्ने आयोजकको विश्वास छ ।
 

सुझावित समाचार