दुई प्रदेशमा बने सरकार : गण्डकीमा खगराज, बागमतीमा शालिकराम

मंगलबार, २६ पुष, २०७९
डिजिटल संस्करण
दुई प्रदेशमा बने सरकार : गण्डकीमा खगराज, बागमतीमा शालिकराम

गण्डकी प्रदेश सरकारका नवनियुक्त मन्त्रीहरूलाई शपथ गराउँदै प्रदेश प्रमुख पृथ्वीमान गुरुङ । तस्बिर : नयाँ पत्रिका

नियुक्तिलगत्तै शपथ

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारी

गण्डकी प्रदेशमा एमाले संसदीय दलका नेता खगराज अधिकारी मुख्यमन्त्रीमा नियुक्त भएका छन् । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले संविधानको धारा १६८ को उपधारा (२) बमोजिम अधिकारीलाई सोमबार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । मुख्यमन्त्रीका नियुक्त भएका अधिकारीले सोमबारै प्रदेश प्रमुखबाट पद तथा गोपनीयताको शपथ लिई पदभार ग्रहण गरेका छन् । 

गण्डकीको तेस्रो मुख्यमन्त्री बनेका अधिकारीले माओवादी र राप्रपालाई समेटी सोमबारै तीन मन्त्रीसहितको मन्त्रिपरिषद् गठन गरेका छन् । नवनियुक्त मन्त्रीहरूले पनि सोमबारै शपथग्रहण गरेका छन् । तनहुँ १ (ख)बाट निर्वाचित माओवादीका हरिबहादुर चुमान, स्याङजा १ (ख)बाट निर्वाचित एमालेकी सीता सुन्दास र राप्रपाका समानुपातिक सांसद स्याङ्जाका पञ्चराम गुरुङ मन्त्री बनेका छन् । उनीहरूको मन्त्रालय भने तोक्न बाँकी छ । 

संविधानसभा सदस्यसमेत रहेका अधिकारी ०७० मा सुशील कोइराला नेतृत्वको सरकारमा स्वास्थ्य तथा जनसंख्यामन्त्री भएका थिए । यस्तै, जेठ ०७८ मा केपी ओली नेतृत्वको सरकारमा १३ दिन गृहमन्त्री बनेका थिए । अधिकारीलाई ६० सदस्य प्रदेश सभाका ३३ सांसद्को समर्थन छ । एमालेका २२, माओवादीका आठ, राप्रपाका दुई तथा मनाङ १ (२)बाट स्वतन्त्र निर्वाचित भई एकीकृत समाजवादीमा प्रवेश गरेका राजीव गुरुङले अधिकारीलाई मुख्यमन्त्रीमा समर्थन गरेका छन् ।

सत्तागठबन्धमा रहेका दलहरूको भागबन्डाअनुसार गण्डकीको सभामुख माओवादीले पाउने भएको छ । सभामुखका लागि गोरखा १ (क)बाट निर्वाचित कृष्णप्रसाद धितालको सम्भावना प्रबल रहेको छ । 

खर्च घटाउन मन्त्रालयको संख्या घटाउँदै मुख्यमन्त्रीहरू

अघिल्लो कार्यकालमा अधिकांश मुख्यमन्त्रीले सरकार टिकाउन मन्त्रालय फुटाई संख्या बढाएका थिए । नवनियुक्त मुख्यमन्त्रीहरूले भने प्रदेशको खर्च मितव्ययी बनाउन मन्त्रालयको संख्या घटाउने प्रयास थालेका छन् । प्रदेश १ का मुख्यमन्त्रीले पहिलो बैठकबाटै मन्त्रालयको संख्या घटाए भने गण्डकीका मुख्यमन्त्रीले संख्या घटाउने प्रतिबद्धता जनाएका छन् । 

- प्रदेश १ को नवगठित मन्त्रिपरिषद्को पहिलो बैठकले मन्त्रालयको संख्या १३ वटा बाट घटाएर नौवटा बनाउने निर्णय गरेको छ । मुख्यमन्त्री हिक्मत कार्कीले शपथलगत्तै मन्त्रालय घटाउने जनाएका थिए । प्रदेशको खर्च मितव्ययी बनाउन मन्त्रालयको संख्या घटाउने निर्णय गरेको कार्कीले बताए । बैठकले प्रशासनिक सेवा सुधारका लागि प्रमुख सचिवको नेतृत्वमा सुधार समिति बनाउने निर्णय पनि गरेको मन्त्री भक्ति सिटौलाले जानकारी दिए । मुख्यमन्त्री कार्कीले भने, ‘मेरो प्राथमकिता सुुशासन र अनुशासन हो । यसका लागि मन्त्रालय घटाएर मितव्ययी प्रदेश सरकार गठनका लागि पहल थालेको छु ।’ पहिलोपटक शेरधन राई नेतृत्वको सरकार बन्दा प्रदेश १ मा सातवटा मन्त्रालय थिए । नेकपा विभाजपछि राजेन्द्र राई नेतृत्वको सरकारले भागबन्डा मिलाउन मन्त्रालय फुटाएर १३ पुर्‍याएको हो । 

- खगराज अधिकारी नेतृत्वको गण्डकी सरकारको  पहिलो मन्त्रिपरिषद् बैठकले प्रदेशको शासकीय क्षमता अभिवृद्धि गर्न, सुशासन कायम गर्न र सेवा प्रवाह सहज बनाउने सम्बन्धनमा सुझाव पेस गर्न कार्यदल गठन गर्ने निर्णय गरेको छ । यस्तै, गण्डकी प्रदेशमा रहेका डायलाइसिस सेवा आवश्यक पर्ने मिर्गौलाका बिरामीहरूलाई लक्षित गरी प्रदेशमातहतका ११ जिल्लामा रहेका जिल्ला अस्पतालहरूमा डायलाइसिस सेवा विस्तार गर्ने निर्णय पनि गरेको छ । पदभार ग्रहणपछि पत्रकारहरूसँग कुरा गर्दै मुख्यमन्त्री अधिकारीले हाल रहेको मन्त्रालयको संख्या घटाउने बताए । उनले भने, ‘क्याबिनेटको संख्या पहिलेको भन्दा निश्चित रूपमा कम हुनेछ । तर, संख्या कति बनाउने भन्ने पछि नै टुंगो लाग्नेछ ।’ गण्डकीमा ०७४ मा पहिलो प्रदेश सरकारका वेला सात मन्त्रालय थिए । पछि सरकार अस्थिर हुन थालेपछि मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बढाएर १२ पुर्‍याएका थिए । गुरुङले आफ्नो कार्यकालको अन्तिममा मन्त्रालयको संख्या घटाई आठ बनाए पनि उनीपछि आएका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले १२ नै पुर्‍याएका थिए । 

शपथग्रहण आज

बागमतीका मुख्यमन्त्री शालिकराम जम्कट्टेल

बागमती प्रदेशमा माओवादी संसदीय दलका नेता शालिकराम जम्कट्टेल सोमबार मुख्यमन्त्रीमा नियुक्त भएका छन् । उनलाई बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । उनी माओवादी, एमाले, राप्रपा, एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीका ३३ सांसदहरूको समर्थनमा मुख्यमन्त्री बनेका हुन् ।

यसअघि ०७४ मा बनेको पहिलो प्रदेश सरकारमा आन्तरिक मामिला तथा कानुनमन्त्री थिए । ४२ महिना मन्त्री भएपछि नेकपा विभाजनसँगै बाहिरिएका उनी तीन महिनापछि नै एकीकृत समाजवादीका राजेन्द्र पाण्डे नेतृत्वको सरकारमा १५ महिना आर्थिक मामिला तथा योजनामन्त्री बने ।

मुख्यमन्त्रीमा नियुक्त भएलगत्तै सञ्चारकर्मीसँग कुरा गर्दै जम्कट्टेलले आफ्नो अनुभवलाई प्रदेशको विकासमा प्रयोग गर्ने बताए । वित्तीय संघीयता र प्रादेशिक संरचनाका जानकारसमेत रहेका मुख्यमन्त्री जम्कट्टेल आगामी दिनमा प्रदेशलाई कसरी अगाडि बढाउनेछन् त्यो भने हेर्न बाँकी नै छ । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माका स्वकीयसचिव पारशमणि फुँयालले मंगलबार बिहान साढे नौ बजे मुख्यमन्त्रीको शपथ गराउने तयारी भएको बताए । 

मुख्यमन्त्री जम्कट्टेलले मंगलबार सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने तयारी गरेका छन् । एमाले संसदीय दलका नेता जगन्नाथ थपलिया र राप्रपा संसदीय दलका नेता उद्धव थापाले मन्त्रीका रूपमा शपथ लिने भएका छन् । मंगलबार मुख्यमन्त्री जम्कट्टेलसँगै सत्तागठबन्धन दल एमाले र राप्रपाबाट एक–एकजना मन्त्रीले शपथ लिने प्रदेशका पूर्वमुख्यमन्त्री एवं एमालेका केन्द्रीय सल्लाहकार परिषद् सदस्य डोरमणि पौडेलले जानकारी दिए । 

प्रदेश १ मा माओवादी असन्तुष्ट, पठाएन मन्त्री
प्रदेश १ मा मुख्यमन्त्री चयनसँगै सत्तागठबन्धन दलको एक प्रमुख घटक माओवादी असन्तुष्ट देखिएको छ । सोमबार मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रिपरिषद् गठन गर्दा माओवादी सहभागी भएन । माओवादीको बाटो हेरिरहेका मुख्यमन्त्री कार्कीले अन्ततः माओवादीविना नै मन्त्रिपरिषद् गठन गरे । उनले सोमबार एमालेका तिलकुमार मेन्यांगबो, राप्रपाका भक्तिप्रसाद सिटौला र जसपाकी निर्मला लिम्बूलाई मन्त्री नियुक्त गरे । उनीहरूले सोमबार अपराह्न प्रदेशप्रमुख पर्शुराम खापुङबाट शपथग्रहण गरे । 

मुख्यमन्त्रीमा आलोपालोको विवाद भएपछि माओवादी सरकारमा सामेल नभएको हो । मुख्यमन्त्रीमा आधाआधा कार्यकाल बाँडफाँड हुने आश्वासनमा रहेको माओवादीले आश्वासन पूरा नहुने देखेपछि सरकारमा सहभागी नभएको बताएको छ । यसअघि केन्द्रमा जस्तै मुख्यमन्त्री र सभामुख आलोपालो गर्ने गरी आधाआधा कार्यकाल बाँडफाँड हुने आशामा माओवादी देखिएको थियो । तर, केन्द्रमा प्रदेश सरकारको नेतृत्व बाँडफाँड हुँदा प्रदेश १ मा पूरै कार्यकाल एमालेले नेतृत्व गर्ने सहमति भएको खबर आएपछि प्रदेश १ का माओवादी असन्तुष्ट छन् । 

मधेस प्रदेशमा जसपा दलका नेतामा यादव सर्वसम्मत 
जसपा मधेश प्रदेशको संसदीय दल नेतामा सरोजकुमार यादव सर्वसम्मत चयन भएका छन् । उनी मधेस प्रदेशका निवर्तमान सभामुख हुन् । दलको नेताका लागि सोमबार भएको निर्वाचनमा मुख्यमन्त्री लालबाबु राउत र यादवले मनोनयन दर्ता गराएका थिए । मनोनयन दर्तापश्चात् दुवै उम्मेदवारबीच भएको छलफलले सर्वसम्मत निर्णयको अवस्था बनाएको हो । जसपाका एक सांसदका अनुसार पार्टी अध्यक्ष उपेन्द्र यादवले नै मुख्यमन्त्री राउतलाई यसपटक दलको नेता यादवलाई दिएर सहयोग गर्न आग्रह गरेका थिए । 

सत्तागठबन्धनको आइतबार भएको बैठकमा जसपालाई उपराष्ट्रपति दिन दलहरू सहमत भएपछि अध्यक्ष यादव आइतबार साँझदेखि यादवलाई दलको नेता बनाउने लबिङमा लागेका थिए । अध्यक्ष यादव आफ्नो भागमा पर्ने उपराष्ट्रपतिमा बारा निर्वाचन क्षेत्र २ बाट प्रतिनिधिसभामा निर्वाचित रामसहाय यादवलाई अगाडि सारे आफू उपनिर्वाचनमा संसद् पुग्ने योजनामा रहेको नेताहरू बताउँछन् । दलका नेतामा चुनिएका यादव बारा निर्वाचिन क्षेत्र नम्बर १ को (२)बाट प्रदेश सभामा निर्वाचित भएका हुन् । 

पोखरामा रोहितराज पराजुली, हेटौँडामा पोष्टराज अधिकारी, विराटनगरमा गणेश लम्साल, जनकपुरधाममा हदिश खुद्दार

See More On

सुझावित समाचार