तुलसीपुर– १२ रझेनीका श्याम चौधरी थारू समुदायले लगाउने कसौडी, भोटी, अगियामा सजिएर नाचमा सहभागी थिए। २५ वर्षीय चौधरीसहित अन्य युवाहरू गाउँका हरेक कार्यक्रममा लुंगेनाच देखाउने तयारीमा छन्। माघीमा पनि नाच देखाउने उनीहरूको तयारी छ।
‘हामी युवाहरूले नै अब थारू समुदायको संस्कार, संस्कृति संरक्षण गर्नुपर्छ,’ श्यामले भने, ‘यस वर्षदेखि हामी आफैँ सक्रिय भएका छौँ ।’ यसअघि यस क्षेत्रका युवाहरू थारू नाचमा विरलै सहभागी हुन्थे। परम्परागत रूपमा गरिने हरेक संस्कार, संस्कृति बिर्सिँदै जाने अवस्थाले यसलाई जोगाउन आफूहरू सक्रिय भएको उनको भनाइ छ।
त्यस्तै, सोही ठाउँकी अस्मिता चौधरी पनि थारू समुदायको पोसाकमा सजिएकी थिइन्। युवतीहरूले पनि आफ्नै समूह बनाएर नाच गर्ने तयारी थालेका छन्। ‘पहिले बुढापाकाले मात्रै नाच्नुहुन्थ्यो,’ उनले भनिन्, ‘अब हामी पनि यो नाचमा सक्रिय हुन थालेका छँ।’ थारू समुदाय संस्कार र संस्कृतिमा धनी भए पनि त्यसलाई जोगाउन नसक्दा लोप हुँदै जान थालेको भन्दै यसलाई संरक्षण गर्न आवश्यक रहेको उनले बताइन्।
पछिल्लो समय थारू युवाहरू आफ्नो संस्कार र संस्कृति संरक्षणमा सक्रिय हुन थालेका छन्। जिल्लाका सबै स्थानीय तहले माघीको अवसरमा विशेष कार्यक्रम गर्दै आएका छन्। दाङ थारू समुदायको बाहुल्य भएको जिल्ला हो। सबैजसो पालिका तथा वडाहरूमा माघी विशेष कार्यक्रम भइरहेको तुलसीपुर– १२ का वडाध्यक्ष खुसीराम चौधरीले बताए। ‘हामीले पनि माघी विशेष कार्यक्रम गर्याैँ,’ उनले भने, ‘सबैजसो पालिका र वडाहरूले कार्यक्रम गर्छन्। यसले पनि युवाहरू थारू संस्कार, संस्कृति संरक्षणमा लाग्ने भएका छन्।’
तुलसीपुरमा मात्रै एक सय २७ वटा थारू समुदायका गाउँहरू छन्। थारू समुदायले झुम्रा, सखिया, लठ्ठहवा, मुंगहवा, हुर्दवा, मघौटा, बर्कालगायतका नाच नाच्ने गरिन्छ। माघी नजिकिँदै गर्दा गाउँगाउँमा माघी विशेष कार्यक्रम भइरहेका छन्।