मुलुकलाई एकताबद्ध गर्ने उद्देश्यले राहुल गान्धीको नेतृत्वमा मुलुककै सबैभन्दा पुरानो पार्टी कंग्रेसले ‘भारत जोडो’ यात्रा अघि बढाइरहेको छ । एक सय आठ दिनको भारत जोड़ो यात्रा दिल्ली पुगेपछि राहुल गान्धीले मुलुकमा चौबीसै घन्टा हिन्दू–मुसलमान भनेर कुरा भइरहेका वेला आफ्नो यात्राले भारत जोड्ने लक्ष्य लिएको बताएका छन् ।
उनले ‘मुलुकभरका जनता यो सरकारलाई नरेन्द्र मोदीको सरकार नभई अम्बानी–अडानीको सरकार हो भन्ने मान्छन् । मैले दुई हजार आठ सय किलोमिटर यात्रा गरिसकेको छु र मैले समाजमा कहिल्यै घृणा वा हिंसा भेटिनँ, तर जब म समाचार च्यानल खोल्छु, घृणा र हिंसाबाहेक केही देख्दिनँ । यो घृणा र हिंसा यहाँहरूको ध्यान भड्काउन गरिन्छ, किनभने उनीहरू तपाईंको ध्यान वास्तविक मुद्दातर्फ गल्तीले पनि नजाओस् भन्ने चाहन्छन् ।’ भनेका थिए ।
भारत जोडो यात्राको अपार सफलता र यसलाई मिलेको भरपूर जनसमर्थनले कंग्रेसलाई बुझ्ने र समर्थन गर्ने कार्यकर्तालाई उत्साहित बनाएको छ, तर सत्तारुढ भाजपामा खैलाबैला मच्चिएको छ । यसकै आधारमा कांग्रेस प्रवक्ता जयराम रमेशले सरकारमाथि यात्रामा राहुल गान्धीसँग भेट्ने सबैमाथि आइबी (गुप्तचर निकाय) का तर्फबाट निगरानी गरिँदै छ भन्ने आरोप लगाएका छन् ।
भारत जोडो यात्राले देशमा मात्र नभई विश्वमै राहुल गान्धीको बिगारिएको छविमा सुधार आइरहेको बताएका छन् । राहुल गान्धीले यात्राक्रममा विभिन्न स्थानमा आयोजित पत्रकार सम्मेलनमा सत्तारुढ दलले आफ्नो छवि बिगार्न मिडियामा करोडौँ लगानी गरेको आरोप लगाएका छन् । तर, गान्धी आफूले यसको प्रतिवाद नगरेको बताउँछन्, किनभने उनका अनुसार झुटको पर्दाफास एक न एक दिन हुनु नै छ ।
‘भारत जोडो’ यात्राको अपार सफलता र जनसमर्थनले कंग्रेसका समर्थक कार्यकर्तालाई उत्साहित बनाएको छ भने सत्तारूढ भाजपामा खैलाबैला मच्चिएको छ
यस सन्दर्भमा स्वामी विवेकानन्दका केही वक्तव्यलाई उद्धृत गर्नु उपयुक्त देखिन्छ । स्वामीले ‘भारतमा सर्वश्रेष्ठ हुने क्षमता छ, हाम्रो मुलुक विश्वको कीर्तिस्तम्भ हो तर हाम्रा यी तथाकथित नेता, यी मूर्ख एवं स्वार्थी नेता आफ्नो संस्कृति र वैभवलाई नष्ट गर्न लागिपरेका छन् । यी ती सुधारको प्रचार गरिरहेका छन्, जसले यिनको जय–जयकार होस् र देशको गौरव नष्ट भए पनि होस् । यी आफ्नो संस्कृति र तिनका गुणलाई बुझ्दै नबुझी त्यसमा सुधार ल्याउने दुस्साहस गरिरहेका छन् ।
हिन्दूको आध्यात्मिक विकास नगरेर हिन्दू धर्मलाई तर्कवितर्कको साँचोमा ढाल्नुलाई नै गौरव ठानिरहेका छन् । जुन आदर्शलाई कहिल्यै आफ्नो जीवनमा अवतरित गर्न सकेनन्, त्यसकै प्रचार गरिरहेका छन् ।’ भन्दै टिप्पणी गरेका थिए । अहिले जब विवेकानन्दले भनेजस्तो ढोंग र दुष्प्रचारलाई जनताले बुझ्न थालेका छन्, तब वर्तमान सरकारमा खैलाबैला मच्चिएको छ ।
भाजपा नेता–कार्यकर्ता यात्रालाई चुनावी डरबाट ग्रसित गान्धीको चटकको संज्ञा दिँदै छन् र यात्रा प्रत्युत्पादक हुने दाबी गरिरहेका छन् । भारत जोडो यात्राका क्रममा राहुल गान्धीले लगातार ट्विटरका माध्यमबाट भाजपा सरकारलाई तारो बनाइरहेका वेला भाजपाले पनि कंग्रेसका केही नेताले पार्टी छाडेको सन्दर्भमा राहुलले भारत जोडो नभई भारत तोडो यात्रा गरिरहेको जवाफ फर्काइरहेका छन् ।
भाजपाले त आफ्नो आधिकारिक ट्विटर एकाउन्टबाटै बकायदा एक अभियान चलाइरहेको छ, जहाँ भाजपा लगातार कंग्रेसका अघिल्ला सरकारका गल्ती औँल्याउँदै कंग्रेसको चरित्र नै भारत तोड्ने हो भनेर देखाउन लागिपरेको छ । मान्छेले आफ्नो ढाड देख्न सक्दैन भन्ने उक्तिलाई चरितार्थ गर्दै सत्तारुढ़ भाजपा र कंग्रेस एक–अर्कामाथि आरोप लगाइरहेका छन् । भाजपाका अनुसार कंग्रेस परिवारवादी एवं वंशवादी पार्टी हो । यस सन्दर्भमा कंग्रेसले पनि भाजपाको वंशवाद एवं परिवारवादतर्फ औँला तेस्र्याउने गर्छ ।
कंग्रेसका वरिष्ठ नेता एवं मध्य प्रदेशका पूर्व–मुख्यमन्त्री कमलनाथले भारत जोडो यात्रालाई लिएर राहुल गान्धीको सराहना गर्दै गान्धी सन् २०२४ को विपक्षको चेहरा नभई कंग्रेसका तर्फबाट प्रधानमन्त्रीको चेहरा हुने बताएका छन् । उनका अनुसार गान्धी सत्ताको नभई जनताको राजनीति गर्छन् । यस्ता नेतालाई देशका जनता राजीखुसी सत्ता सुम्पिन्छन् भन्ने कमलनाथको विश्वास छ ।
राहुल गान्धीले आफ्नो उच्च राजनीतिक आदर्श र सदाशयताको परिचय दिँदै भारत जोडो यात्रा दिल्ली पुग्दा महात्मा गान्धीसहित सबै पूर्वप्रधानमन्त्री (जसमा अटल विहारी बाजपेयी पनि पर्छन्) को समाधिमा पुष्पाञ्जली अर्पित गरेका थिए । राहुल गान्धीले भाजपा र आरएसएस आफ्ना लागि गुरुजस्तै भएको समेत बताएका थिए । भाजपा र आरएसएसलाई धन्यवाद दिँदै गान्धीले जति हामीलाई भाजपा र आरएसएसले आक्रमण गर्छन्, त्यति नै हामीलाई सुध्रिने मौका प्राप्त हुन्छ भनेका थिए ।
कंग्रेस नेता गान्धीले पार्टीमा को आइरहेको छ वा छैन भन्नेबारे अहिले टिप्पणी नगर्ने बताएका छन्, किनभने भारत जोडो यात्राको ढोका सबैका लागि खुला छ । उनले यो ढोका कसैका लागि बन्द नगर्ने बताएका छन् । यति मात्र नभई उनले भाजपाभित्र आन्तरिक कलह भएको र भयका कारण कोही पनि सार्वजनिक ढंगले बोल्न नसकिरहेको बताएका छन् । जेसुकै होस्, दिल्लीदेखि श्रीनगरसम्मको यात्रा पूरा गर्ने ‘भारत जोडो’ यात्राको दोस्रो चरण बाँकी नै छ र त्यसवेलासम्म कंग्रेस कति बलियो हुन्छ र जनमानसमाझ यात्राको कति प्रभाव पर्नेछ भन्ने कुरा समयले नै बताउनेछ । अहिले कंग्रेसका लागि परीक्षाको समय हो, जहाँ कंग्रेस नायक राहुल गान्धी कति सफल हुन्छन् वा हुँदैनन् भन्ने जाँचिनेछ र यसको नतिजा सन् २०२४ को निर्वाचनमा जनताले गर्नेछन् ।
(ठाकुर वरिष्ठ पत्रकार एवं राजनीतिक विश्लेषक हुन्) जनसत्ताबाट