‘डिजिटल वालेट’मार्फत सट्टेबाजी

आइतबार, २४ पुष, २०७९
डिजिटल संस्करण

वालेट प्रयोगसँगै दुरुपयोगको दर पनि बढ्यो, प्रहरीको धारणासँग राष्ट्र बैंक असहमत

 सट्टेबाजीको आरोपमा पक्राउ परेका अभियुक्तसँग प्रहरीले बरामद गरेका सिमकार्ड

रातारात धनी बन्ने महत्वाकांक्षाले महोत्तरी गाउँपालिका– १ का २० वर्षीय आदर्श ठाकुरमा ‘वान एक्स बेट’मा बाजी लगाउने ‘आइडिया’ फुर्‍यो । त्यसका लागि उनलाई ‘डिजिटल वालेट’ आवश्यक देखियो र वालेट खोल्न ‘सिमकार्ड’ । 

राष्ट्र बैंकले जारी गरेको नियमअनुसार एउटा भुक्तानी सेवाप्रदायक (पिएसपी) कम्पनीबाट एउटा ‘सिमकार्ड’ले एउटा मात्रै वालेट खोल्न पाइन्छ । वालेट दुरुपयोग हुन सक्ने देखिएपछि राष्ट्र बैंकले कारोबारको दरलाई पनि सीमा तोकिदिएको छ । जस्तो, एउटा वालेटबाट एकपटकमा ५० हजार, प्रतिदिन एक लाख र प्रतिमहिना १० लाख रुपैयाँसम्मको कारोबार मात्रै गर्न सकिन्छ । तर, ‘वान एक्स बेट’मा वालेटमार्फत बाजी लगाउन राष्ट्र बैंकबाट प्रदत्त सीमाभित्रको रकमले पुग्दैन । यसमा पनि ठाकुरले अर्को ‘आइडिया’ निकाले– ‘मल्टिपल’ वालेट खोल्ने र ‘मल्टिपल’ कारोबार गर्ने । यसका लागि पर्याप्त ‘सिमकार्ड’ चाहिने भयो र सिमका लागि नागरिकता । उनी अब नागरिकताको फोटोकपी संकलनतर्फ लागे । कतिलाई उनले सित्तैमा मागे । कतिसँग प्रतिफोटोकपी तीन सय रुपैयाँ भुक्तानी गरेर खरिद गरे । नागरिकतामा उल्लेखित व्यक्तिको नाम सामाजिक सञ्जालमा खोजे । फोटो ‘डाउनलोड’ गरे । ‘सिमकार्ड’ लिने फारममा सोही फोटो टाँसे । नागरिकताको फोटोकपी बुझाएर सिम झिके । 

अनुसन्धानमा खटिएका काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी कृष्ण कोइरालाका अनुसार ठाकुरले विभिन्न व्यक्तिको नागरिकताको फोटोकपी प्रयोग गरी ९४ वटा सिमकार्ड झिकेका थिए । झिकिएका सबै सिमकार्ड एनसेल र स्मार्ट कम्पनीका थिए । झिकिएका सिमकार्ड उनले ‘डिजिटल वालेट’ खोल्न प्रयोग गरेका थिए । जसको सम्बन्ध ‘वान एक्स बेट’सँग थियो । 

‘ठाकुरले विभिन्न व्यक्तिको नामबाट सिमकार्ड झिकेको देखिन्छ । उक्त सिम ‘डिजिटल वालेट’ खोल्न प्रयोग भएका छन् । वालेटको सम्बन्ध ‘वान एक्स बेट’सँग देखिन्छ । किनकि उनले वालेटको रकम उनको नाममा रहेको नबिल, सिद्धार्थ र एनआइसी बैंकको खातामा ट्रान्सफर भएको देखिन्छ । यो रकम बेटिङमार्फत प्राप्त रकम भएको हाम्रो अनुसन्धानबाट देखिन्छ,’ एसपी कोइरालाले भने ।

जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी सुधीर शाहीका अनुसार ठाकुरले सबै सिमकार्ड ललितपुरस्थित एउटै पसलबाट झिकेका थिए । सिम बेटिङका लागि भुक्तानी गर्न प्रयोग हुने वालेट खोल्न र बाजी लगाउन प्रयोग भएका थिए । ‘यसले धेरै सिम झिकेको देखिन्छ । सिमबाट वालेट खोलिएका छन् । बेटिङका लागि कल गर्न प्रयोग भएका छन् । सबै सिम ललितपुरस्थित एउटै पसलबाट झिक्ने गरेको अनुसन्धानबाट देखिन्छ,’ उनले भने ।

छोटो अवधिमा धनी बन्ने महत्वाकांक्षाले प्रहरी हिरासतमा पुगेका अर्का हुन्, लमजुङ सुन्दरबजार नगरपालिका– १ का २६ वर्षीय सुजन गौली । रकम संकलन र भुक्तानीका आधारमा २५ प्रतिशत कमिसन पाउने लोभले उनी ‘वान एक्स बेट’को एजेन्ट बने । कमिसनबापतको रकम प्राप्त गर्न उनलाई पनि ‘डिजिटल वालेट’को आवश्यकता थियो, वालेटका लागि ‘सिमकार्ड’ । उनले आफ्नो र अन्य व्यक्तिका नाममा एनटिसी, एनसेल र स्मार्ट कम्पनीको सिमकार्ड लिए । भुक्तानी सेवाप्रदायक कम्पनीमा गएर वालेट खोले । सम्पर्कमा आएका अन्यलाई पनि सोही विधि अपनाएर वालेट खोल्न लगाए । र, ‘वान एक्स बेट’मा बाजी हान्न उक्साए । जति नयाँ सदस्य बनायो, उति कमिसन प्राप्त हुन्थ्यो उनलाई । कमिसनबापतको सबै रकम उनको ‘डिजिटल वालेट’मा जम्मा हुन्थ्यो । इ–सेवा, आइएमई पे र खल्ती नामको भुक्तानी सेवाप्रदायक कम्पनीमा उनले ६ वटाभन्दा धेरै वालेट खोलेका थिए । जसबाट दुई करोड ३६ लाख ३३ हजार एक सय ३८ रुपैयाँ कारोबार भएको प्रहरीको अनुसन्धानबाट देखिन्छ । 

अनुसन्धानमा संलग्न जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दिनेश मैनालीले भने, ‘वान एक्स बेटमार्फत सट्टेबाजमा ‘डिजिटल वालेट’ प्रयोग भएजस्तो अनुसन्धानबाट देखिन्छ । पक्राउ परेका एक अभियुक्तको विभिन्न सेवाप्रदायक कम्पनीमा ६ वटासम्म वालेट भएको भेटियो । यसबाट कारोबार पनि निकै भएको देखिन्छ । यो ‘वान एक्स बेट’मा प्रयोग भएको हाम्रो अनुसन्धानले भन्छ ।’

रातारात धनी हुने चक्करमा भक्तपुर नगरपालिका– १६ का ३१ वर्षीय सुनील चौगुठी र २५ वर्षीय अजय भेले ‘वान एक्स बेट’को एजेन्ट बने । कारोबारकै लागि ‘रेडी’ नामको नयाँ एप्लिकेसन डाउनलोड गरे । नयाँ खेलाडी खोजे । बेटिङ गर्न उक्साए । कमिसनबापत रकम प्राप्त हुन्थ्यो । उक्त रकम जम्मा गर्न विभिन्न भुक्तानी सेवाप्रदायक कम्पनीबाट ‘डिजिटल वालेट’ खोले । सोही वालेटमा कमिसनबापतको रकम जम्मा गर्न लगाए । 

प्रहरीका अनुसार उनीहरूले विभिन्न सात ‘सिमकार्ड’बाट सातवटा वालेट खोलेका थिए । बाँकी कारोबार भने उनीहरू विभिन्न बैंकमा खोलिएका खाताबाटै गर्थे । यस प्रयोजनमा चौगुठीले २३ वटा बैंकमा २५ वटा खाता खालेका थिए । जसमार्फत उनले वर्षदिनमै तीन करोड रुपैयाँभन्दा धेरै कारोबार गरेका थिए । भेलेले १९ वटा बैंकमा खाता खोलेका थिए । उक्त खातामा ६ महिनाको अवधिमा एक करोड रुपैयाँभन्दा धेरैको कारोबार भएको देखिएको प्रहरीको अनुसन्धानबाट खुलेको छ । 

‘उनीहरूको नाममा १० वटा ‘डिजिटल वालेट’ खुलेको देखिन्छ । बैंकमा पनि धेरै खाता भेटिएको छ । चौगुठीको मात्रै २५ वटा खाता फेला पारेका छौँ । सबैमा अस्वाभाविक कारोबार भएको देखिन्छ । यी कारोबारको सम्बन्ध ‘वान एक्स बेट’सँग रहेको भेटियो,’ जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी निरीक्षक लोक जिसीले भने ।

कसरी हुन्छ दुरुपयोग हुन्छ ‘डिजिटल वालेट’ ?
‘वान एक्स बेट’को आधिकारिक ‘बुकमेकर वेबसाइट’मा गएर बेटिङका लागि नामावली ‘रजिस्ट्रेसन’ गरेपछि खेलाडीले ‘प्रोमो कोड’ प्राप्त गर्छ । जसलाई ‘इ–कोड’ पनि भनिन्छ । सोही कोडका आधारमा खेलाडीले ‘एप्स’मा दिइएको ‘डिपोजिट अप्सन’मा गएर बाजी लगाएको रकम जम्मा गर्नुपर्ने हुन्छ । उक्त रकम प्रायः ‘जिजिटल वालेट’मार्फत जम्मा हुन्छ । खेलाडीले बाजी जिते ‘एप्स’मा ‘डिपोजिट’ भएको रकम वालेटमै जम्मा भएर आउँछ । हारे विजेताको वालेटमा रकम स्वतः ‘ट्रान्सफर’ भएर जान्छ । यसरी ‘वान एक्स बेट’ एप्लिकेसनमार्फत खेलसँग सम्बन्धित जुनसुकै ‘स्कोर’मा बाजी लगाउन सकिन्छ । बाजी सानोदेखि ठूलो रकमसम्मको हुन सक्छ । 

बाजीमा सानो रकम लगाउनु छ भने एउटै वालेट काफी हुन्छ । तर, धेरै रकम लगाउनु छ भने स–सानो परिमाणको रकम, तर ‘मल्टिपल’ वालेटबाट जम्मा गर्नुपर्ने हुन्छ । किनकि राष्ट्र बैंकले एउटा वालेटबाट प्रतिपटक ५० हजार, प्रतिदिन एक लाख र प्रतिमहिना १० लाख रुपैयाँभन्दा धेरैको कारोबार गर्न अनुमति दिँदैन । 

प्रहरीका अनुसार ‘वान एक्स बेट’बाट ‘लाइभ क्यासिनो’ पनि खेल्न सकिन्छ । यसका लागि आवश्यक रकम माथिकै विधिबाट एप्समा ‘डिपोजिट’ गर्नुपर्ने हुन्छ । हारजितको रकम खेलाडीले वालेटमार्फत नै प्राप्त गर्छन् । वालेटमा जम्मा भएको रकम भने खेलाडीले आफ्नो नाममा खोलिएको बैंक खातामा ‘ट्रान्सफर’ गराउँछन् । जितेको र कमिसनबापतको रकम विदेश लैजानुपर्ने अवस्था आए खेलाडीले ‘क्रिप्टोकरेन्सी’ वा ‘बिटक्वान’मार्फत भुक्तानी लिन्छन् । यसका लागि उनीहरूको ‘कन्ट्री रिप्रेजेन्टेटिभ’ नेपालमै हुन्छन् । जितेको रकम उसले आफ्नो डिजिटल वालेटमा जम्मा गर्न लगाउँछ । त्यसबापत उसले ‘क्रिप्टोकरेन्सी’ वा ‘बिटक्वान’मार्फत विदेशमा रहेको खेलाडीलाई जितबापतको रकम भुक्तानी गर्छ । 

सबै वालेटलाई गलत भन्नु ठीक होइन : राष्ट्र बैंक 
‘डिजिटल वालेट’ राष्ट्र बैंकबाट स्वीकृतिप्राप्त भुक्तानी सेवाप्रदायकले आफ्ना ग्राहकको नाममा जारी गरेको विद्युतीय खाता हो । खातावालाले वालेटमा रकम जम्मा गरी वस्तु तथा सेवा खरिद–बिक्रीबापत रकम भुक्तानी गर्न सक्छन् । नेपालमा इ–पेमेन्टको सुरुवात १० वर्षअघिबाटै सुरु भए पनि यसले वैधानिकता भने ०७३ देखि मात्रै पाएको हो । राष्ट्र बैंकले बैंकिङ तथा गैरबंैकिङ दुवै कम्पनीलाई डिजिटल वालेट खोल्न अनुमति दिएको छ । खासगरी, ‘क’ वर्गका सबै बैंकले वालेट खोल्ने अनुमति पाएका छन् । वालेट खोल्न अनुमति लिने गैरबैंकिङ कम्पनी भने २७ पुगेका छन् । 

बैंकिङ र गैरबैंकिङ सबै गरी १५ कात्तिकसम्म देशभर एक करोड ५१ लाख ३३ हजार सात सय ३५ वालेट आइडी छन् । जसबाट १७ अर्ब २२ करोड ७० लाख रुपैयाँको कारोबार भएको तथ्यांकबाट देखिन्छ । कारोबारको यो दर विश्वकप फुटबलआसपासका दिनमा अस्वाभाविक रूपले बढेको प्रहरीको दाबी छ । अनलाइन बेटिङमा त्यस्ता वालेट प्रयोग भएको हुँदा कारोबार बढेको प्रहरीको भनाइ छ । तर, राष्ट्र बैंकस्थित भुक्तानी प्रणाली विभागका प्रमुख गुरुप्रसाद पौडेल प्रहरीको भनाइमा सहमत छैनन् । केही घटना सार्वजनिक हुँदैमा ‘डिजिट वालेट’ पूर्ण तवरमा दुरुपयोग भएको धारणा बनाउनु उपयुक्त नहुने उनको तर्क छ । ‘केही डिजिट वालेट दुरुपयोग भएको हुन सक्छ । तर, यसैलाई आधार बनाएर सबै ‘डिजिटल वालेट’ दुरुपयोग भएको भन्दै धारणा बनाउनु ठीक होइन । यसले वालेटमाथिको विश्वसनीयता घट्न सक्छ । किनकि ‘डिजिटल वालेट’ इकमर्सको मेरुदण्ड हो । यसको पूर्ण कार्यान्वयन हुन सक्दा आर्थिक अनियमितता हट्न सक्छ,’ उनले भने ।

‘एग्रिगेट डेटा’ समाधानको उपाय ?
नियमअनुसार एउटा सिमकार्ड प्रयोग गरी एउटा भुक्तानी सेवाप्रदायक (पिएसपी) बाट एउटा मात्रै डिजिटल वालेट खोल्न मिल्छ । सोही सिम प्रयोग गरी सेवाग्राहीले २७ पिएसपीबाट २७ वटै वालेट खोल्न सक्छन् । सेवाग्राहीले खोलिएका वालेट प्रयोग गरी कति करोबार कुन उद्देश्यले गर्‍यो ? त्यसको एकीकृत तथ्यांक निकाल्न सजिलो छैन । किनकि नेपालमा ‘एग्रिगेट’ तथ्यांक प्रणाली छैन । यही प्रयोजनका लागि सरकारले केही वर्षअघिदेखि राष्ट्रिय परिचयपत्र निर्माणलाई कार्यान्वयनमा ल्याएको छ । जहाँ प्रत्येक नागरिकको सम्पूर्ण तथ्यांक समावेश होस् र आवश्यक परेका खण्डमा तथ्यांक विश्लेषण गर्न सकियोस् । तर, सबैले राष्ट्रिय परिचयपत्र बनाउन सकेका छैनन् । त्यसो हुँदा नागरिकको तथ्यांक ‘एग्रिगेट’ हुन सकेको छैन । 

राष्ट्र बैंकका भुक्तानी प्रणाली विभाग प्रमुख पौडेल तथ्यांक ‘एग्रिगेट’ प्रणाली कार्यान्वयन भएमा यस्ता समस्या निराकरण गर्न सकिने बताउँछन् । ‘हामीकहाँ नागरिकको तथ्यांक ‘एग्रिगेट’ प्रणाली कार्यान्वयनमा छैन । त्यसो हुँदा कुन व्यक्तिको कति बैंक खाता छन् ? यसले खालेका वालेटका के कारोबार भइरहेका छन् ? त्यसको विश्लेषण गर्न सकिएको छैन । यस्तै, समस्या समाधान गर्न राष्ट्रिय परिचयपत्रको अवधारण चर्चामा आएको हुन सक्छ । यो कार्यान्वयनमा आए यस्ता समास्या समाधान हुन सक्छन्,’ उनले भने ।
 

सुझावित समाचार