नेपाल छिट्टै मध्यम आय भएको मुलुक बन्न सक्छ : नर्वेजियन राजदूत ड्रमडाल

शुक्रबार, २२ पुष, २०७९
डिजिटल संस्करण

नेपालका लागि नर्वेजियन राजदूत तोरुन ड्रमडालले सबै कुरा योजनाअनुसार भए नेपाल सन् २०२६ मा अतिकम विकसित मुलुकको समूहबाट मध्यम आय भएको मुलुक बन्ने बताएकी छिन्।

राजदूत ड्रमडालले नेपाललाई अतिकम विकसित मुलुकबाट मध्यम आय भएको मुलुक बन्नका लागि बलियो संस्थाको निर्माण र सुशासन महत्वपूर्ण संवाहक रहेको बताइन्। सेवाग्राही संस्थाहरू संस्थागत रूपमा सुदृढ भए मात्र तिनले पदीय शक्तिको दुरुपयोग रोक्न सक्ने उनले प्रस्ट्याइन्।

न्युज एजेन्सी नेपालसँग कुरा गर्दै राजदूत ड्रमडालले भनिन्, ‘शान्तिप्रक्रियामा भएको उल्लेख्य प्रगतिलाई ध्यानमा राखेर नेपाल सही दिशामा अघि बढिरहेको छ। नेपालमा प्रगतिशील संविधान छ। यस वर्षको मे र नोभेम्बरमा भएको निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ, जुन लोकतन्त्रका लागि कोसेढुंगा हो।’ राजदूत ड्रमडालले नर्वेको संसदीय अभ्यासहरू प्रस्तुत गर्दै सांसदहरूका लागि नागरिकसँग आबद्ध हुनु निकै महत्वपूर्ण हुने बताइन्।

नर्वेमा संघीय शासन प्रणाली नभए पनि नेपालको संघीय संसद्जस्तो लोकतान्त्रिक संस्थामा संसद्को खुलापन र पारदर्शिताको क्षेत्रमा युएनडिपीमार्फत सहयोग गर्न पाएको उल्लेख गर्दै उनले खुसी व्यक्त गरिन्।
 

सुझावित समाचार