अन्यत्रका पार्किङ हटाएको महानगर न्युरोडका ठेकेदारलाई भने संरक्षण गर्दै

शुक्रबार, २२ पुष, २०७९
डिजिटल संस्करण

न्युरोड क्षेत्रका पार्किङबाट महानगरले उठाउँछ मासिक १० लाखभन्दा बढी 

उपत्यकाका सडक–किनार र खुला ठाउँमा पार्किङ हटाउँदै आएको काठमाडौं महानगरपालिकाले न्युरोड क्षेत्रलाई भने ‘पार्किङ हब’ बनाइरहेको छ । जसका कारण न्युरोड र वसन्तपुर क्षेत्र सधैँभरि अस्तव्यस्त बन्ने गरेको छ ।

महानगरले न्युरोडस्थित पीपलबोट क्षेत्र, भूगोलपार्क, धर्मपथ, पिपुल्स प्लाजा, न्युरोड–झोछेँ सडक–किनारलगायत क्षेत्रमा मोटो रकम लिएर पार्किङ ठेक्का लगाएको छ । महानगरले ह्विल्स ट्रली योर्स प्रालिलाई स्मार्ट पार्किङको व्यवस्था मिलाउन भन्दै ठेक्का लगाएको थियो । तर, कम्पनीले ‘स्मार्ट पार्किङ’का नाममा पैसा उठाएको रसिद मात्रै थमाउँछन् । उसले दुईपांग्रेलाई प्रतिघन्टा ३० रुपैयाँ र चारपांग्रेलाई ६० रुपैयाँका दरले शुल्क उठाउँछ ।

यस क्षेत्रको पार्किङबाट महानगरले मासिक करिब १० लाख आम्दानी गर्छ । न्युरोड, सुन्धारा, वसन्तपुर, रत्नपार्क, दरबारमार्गलगायत क्षेत्रका पार्किङस्थलमा करिब सात सय मोटरसाइकल र दुई सय चारपांग्रे सवारीसाधन अट्छन् । स्मार्ट भनिए पनि अव्यवस्थित पार्किङका कारण न्युरोड क्षेत्रका सडकमा सधैँ जाम हुने गर्छ । किनमेल गर्न र वसन्तपुर दरबार क्षेत्र घुम्न पुग्नेहरू पार्किङ नपाएर दिक्क हुने गरेका छन् । सडक आवागमन सहज होस् भनेर महानगरले गत वैशाखदेखि न्युरोड क्षेत्रमा दुईतर्फी पार्किङ पनि हटाएको थियो । तैपनि, समस्या समाधान नभएको सर्वसाधारणको दुखेसो छ । 

न्युरोड क्षेत्रका नेपाल बैंक लिमिटेड, नेपाल वायुसेवा निगम, सुन्धारामा रहेको नेपाल टेलिकम, वीर अस्पतालको नयाँ भवन, जुद्ध वारुण यन्त्रको कार्यालय, दरबार हेरचाह कार्यालयलगायतमा प्रशस्त पार्किङस्थल भए पनि सर्वसाधारणले समेत सवारीसाधन पार्किङ गर्न पाउँदैनन् । रत्नपार्कस्थित नेपाल विद्युत् प्राधिकरणले त झन् सेवाग्राहीलाई समेत बाहिरै पार्किङ गर्न लगाउँछ । सरकारी कार्यालयले खाली भएको ठाउँलाई पार्किङ गर्न नदिँदा यस क्षेत्रमा पार्किङको समस्या विकराल छ । 

अत्यधिक भिड हुन थालेपछि केही समयअघि महानगरले न्युरोड क्षेत्रमा ‘स्मार्ट पार्किङ’सहितका योजना अघि सारेको थियो । दुईतले स्मार्ट पार्किङ भवन बनाउने भनिए पनि योजना अघि बढेन । महानगरका प्रवक्ता नवीन मानन्धरले सर्वसाधारणको धेरै नै चाप हुने भएकाले सडकलाई सहज बनाउन पनि पार्किङस्थल आवश्यक रहेको बताए । ‘न्युरोड क्षेत्रका सडक अहिलेका होइनन्, सवारी र सर्वसाधारणको चाप नहुँदै सडक बनेका थिए । तिनै सडकले अहिले पनि थेग्नुपर्ने अवस्था छ,’ उनले भने, ‘यतिको जाम हुनु स्वाभाविकै हो । यद्यपि, न्युरोडको पार्किङको विकल्प खोज्न जरुरी छ ।’ उनले एउटा ठूलो ठाउँ नभई न्युरोड र वसन्तपुर क्षेत्रको सवारी जाम र पार्किङ समस्या हल नहुने बताए । 

विकल्पविनै पार्किङ सुविधा हटाउँदा सर्वसाधारण रुष्ट
महानगरले उपत्यकाका सडक र फुटपाथमा हुँदै आएको पार्किङ हटाए पनि विकल्प भने दिन सकिरहेको छैन । दरबारमार्ग, न्युरोड, रत्नपार्क, सुन्धारा, बागबजार, पुतलीसडकलगायत क्षेत्रमा यात्रुहरूले पार्किङका लागि सास्ती खेप्दै आइरहेका छन् । यही समस्यालाई समाधान गर्न खुलामञ्चमा अन्डरग्राउन्ड पार्किङ योजना अघि सारेको महानगरले बताउँदै आएको छ । तर, यो पार्किङ योजनाको स्थानीय, यातायातविज्ञ र महानगरबीच विवाद जारी छ ।

‘खुलामञ्चलाई पार्किङ बनाउनुहुँदैन’
महानगरका मेयर बालेन्द्र साहले निर्वाचित भएर आए लगत्तैदेखि खुलामञ्चमा पार्किङ बनाउने योजना अघि सारेका थिए । तर, ट्राफिक व्यवस्थापनविज्ञ तथा स्थानीयले मेयर साहको यो कदमको विरोध गरेका छन् । पूर्वट्राफिक प्रहरी सीताराम हाछेँथुले खुलामञ्च तथा रत्नपार्क क्षेत्रमा पार्किङ बनाउनु यस क्षेत्रमा थप ट्राफिक जाम बढाउनु रहेको टिप्पणी गरेका छन् ।

उनले यहाँ पार्किङस्थल बनाउँदा पार्किङ गर्न आउने सवारीसाधनले नै उल्टो जाम बढाउने तर्क गरे । ‘खुलामञ्चमा पार्किङ बनाउनुहुँदैन, यस क्षेत्रका सडक साँघुरा छन्, एकतर्फी सडक छ, खुलामञ्चमा पार्किङ गर्न आउँदा उल्टो जाम बढ्छ,’ उनले भने, ‘खुलामञ्चमा पार्किङ बनाउने योजना गलत छ ।’ उनले यो क्षेत्रमा सवारीसाधनको अत्यधिक चाप हुरे गरेकाले यहाँका सडकलाई अवरोध पुग्ने कुनै पनि क्रियाकलाप गर्न नहुने बताए । 

दरबारमार्गको पार्किङ हट्यो 

काठमाडौं महानगरले दरबारमार्गको सडकमा दिँदै आएको पार्किङ ठेक्का तोडेको छ । सडकको किनार पार्किङका रूपमा प्रयोग गर्दा जाम बढेको भन्दै महानगरले पार्किङ हटाएको हो ।

होटेल तथा अन्य व्यावसायिक पसलहरू रहेको न्युरोड क्षेत्रमा पार्किङ असुविधा छ । यहाँ फुटपाथमा पार्किङ निषेध छ । ट्राफिक प्रहरीले जाम बढेको बताएपछि महानगरले पार्किङ हटाएको हो । तर, व्यवसायीहरूले पार्किङ हटाउँदा विरोध गरेका छन् ।

महानगरले सबै व्यवसाय तथा होटेलहरूलाई आफ्नो पार्किङको व्यवस्था आफैँ मिलाउन निर्देशन दिँदै अन्डरग्राउन्ड पार्किङ व्यवस्थित पार्ने अभियान सुरु गरेको थियो । तर, भित्र ठाउँ हुँदाहुँदै पनि कतिपयले सडकमै पार्किङ गर्ने भएकाले सडक–किनारमा लगाउँदै आएको पार्किङ हटाइएको महानगर प्रहरीले जनाएको छ । 

See More On

सुझावित समाचार