काठमाडौं प्रशासनले दिने सेवामा अब ‘टाइम कार्ड’

शुक्रबार, २२ पुष, २०७९
डिजिटल संस्करण

एक साताअघिबाटै ललितपुरमा राहदानी र राष्ट्रिय परिचयपत्रमा ‘टाइम कार्ड’ लागू, भक्तपुरमा अध्ययन हुँदै 

काठमाडौं जिल्ला प्रशासनले कार्यालयले दिने प्रमुख सेवाहरूमा ‘टाइम कार्ड’ लागू गरेको छ । कार्यालयले बिहीबारबाट नागरिकतादेखि मुद्दा फैसलासम्ममा टाइम कार्डको व्यवस्था लागू गरेको हो । यो व्यवस्थाले सेवाग्राहीको सास्ती कम हुने र लाइन पनि घट्ने दाबी प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले बताए । 

जिल्ला प्रशासन कार्यालयले १० प्रकारका सेवामा ‘टाइम कार्ड’ लागू गरेको हो । अब १५ मिनेटमै राहदानी वितरण गर्नेगरी व्यवस्था लागू गरिएको छ । त्यस्तै, राष्ट्रिय परिचयपत्र ३० मिनेटमा वितरण गरिसक्ने व्यवस्था पनि गरिएको छ । यो कागजात र प्रक्रिया पूरा गरिसकेकाको हकमा हो । त्यस्तै, सबै कागजात पूरा गरी राजस्व बुझाएपछि ३० मिनेटमै संस्था नवीकरण गर्ने पनि कार्यालयले जनाएको छ । पेसी र तारेख दिने काम पनि ३० मिनेटमै व्यवस्था कार्यालयले गरेको छ । 

सबै कागजात पूरा गरिसकेकाले एक घन्टामै नागरिकता पाउने व्यवस्था कार्यालयले गरेको छ । नाबालक प्रमाणपत्र प्राप्ति पनि कागजात पूरा गरेको एक घन्टामै वितरण गर्ने गरी व्यवस्था गरिएको कार्यालयले जनाएको छ । सामान्य सिफारिस पनि कागजात पूरा गरेको एक घन्टामै पाइने व्यवस्था गरिएको छ । हातहतियार नवीकरणको काम पनि कागजात र राजस्व बुझाएको एक घन्टामै सकिने गरी व्यवस्था गरिएको छ । ६० दिनमा मुद्दाको फैसला दिने गरी काम गरिने कार्यालयले जनाएको छ । 

कार्यालयले दैनिक सुनुवाइको व्यवस्था पनि गरेको छ । कार्यालयबाट उपलब्ध हुने सेवाप्रवाहसम्बन्धी गुनासो सुन्न दैनिक ३ देखि ४ बजेसम्मको समय छुट्याइएको छ । यस्तो गुनासो सुनुवाइ शुक्रबार र शनिबारबाहेक साताको पाँच दिन हुनेछ । प्रजिअ उपाध्यायले आमनागरिकका गुनासो सुन्न यस्तो व्यवस्था गरिएको बताए । 

ज्येष्ठ नागरिकका लागि ‘नो क्यु’ अर्थात् लाइन नबस्नुपर्ने गरी व्यवस्थापन पनि कार्यालयले गरेको छ । ६५ वर्षमाथिका नागरिक, अशक्त र बच्चासहितको महिलाका लागि कुनै पनि सेवा प्राप्तिमा लाइन बस्नु नपर्ने व्यवस्था गरिने पनि कार्यालयले जनाएको छ । ७५ वर्षमाथिका नागरिकलाई सहयोगीसहितको सेवा प्रदान गरिने व्यवस्था गरिएको छ । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले बिहीबार कार्यालयको निरीक्षण गरेका थिए । 

ललितपुर प्रशासन कार्यालयले गत सातादेखि नै राहदानी र राष्ट्रिय परिचयपत्रका सेवामा ‘टाइम कार्ड’ लागू गरिसकेको छ । ललितपुरका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले कागजात र प्रक्रिया पूरा गरिसकेकालाई १० मिनेटभित्रै राहदानी र परिचयपत्र वितरण गर्ने गरी एक साताअघिदेखि नै ‘टाइम कार्ड’ लागू गरिएको बताए । ‘टाइम कार्ड’को व्यवस्था क्रमशः अन्य सेवामा पनि विस्तार गरिने उनले बताए । भक्तपुर प्रशासन कार्यालयमा भने ‘टाइम कार्ड’ लागू गर्नैपर्ने अवस्था नरहेको, तर आवश्यक पर्दा गर्न सकिने प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बताइन् ।

सुझावित समाचार