सन् २०२३ मा विश्वलाई प्रभावित बनाउन सक्ने घटना

बिहिबार, २१ पुष, २०७९
डिजिटल संस्करण

सन् १९७० मा इडविन स्टारले प्रश्न गरे, ‘युद्धको कुनै कुरा राम्रो हुन्छ र ?’ यसको जवाफ ५० वर्ष पहिले जस्तो थियो आज पनि उस्तै आउँछ– ‘बिल्कुल राम्रो हुँदैन !’

तैपनि सहजै जितिने अपेक्षामा सन् २०२२ को फेब्रुअरीमा रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा अकारण आक्रमण गरे, जसमा ४० हजारभन्दा धेरै सर्वसाधारण मारिएको र तीन करोडभन्दा धेरै मानिस आफ्नो थातथलोबाट विस्थापित भएको अनुमान छ । आक्रमण जाडोयाममा प्रवेश गर्दै गर्दा रुसले युक्रेनका महŒवपूर्ण पूर्वाधारहरूमा आक्रमणको रणनीति अपनाएको छ, जसकारण करोडौँ मानिस लामो समयका लागि बिजुली, न्यानो र पानीबाट वञ्चित भएका छन् । तर, पुटिन इतिहासबाट भाग्न सक्नेछैनन्, रुसभित्रको आन्तरिक विभाजन र घट्दो जनसंख्याले पनि उनले आफ्ना जनताको विश्वास र एकता गुमाउँदै गएको देखाउँछ ।

रुसी आक्रमणबाहेक पनि सन् २०२२ खासै सन्तोषजनक रहेन । जुन महिनामा अमेरिकाको सर्वाेच्च अदालतले संयुक्त राज्य अमेरिकामा गर्भपतनको संवैधानिक अधिकार समाप्त गर्दै रोविरुद्ध वाडको मुद्दाबाट स्थापित नजिर उल्टाइदियो । अगस्ट महिनामा पाकिस्तानमा बाढीले हजारौँ गाउँमा विनाशलीला मच्चाएर एक हजार पाँच सयभन्दा धेरैको ज्यान लियो भने तीन करोड ३० लाखभन्दा बढी नराम्ररी प्रभावित बने । त्यसपछि सेप्टेम्बरमा हाउस अफ विन्डसोरकी निश्छल र अत्यन्त एक सरल महिला सदस्य महारानी एलिजावेथ द्वितीयाको मृत्यु भयो, ब्रिटिस मुद्रा पाउन्डको मूल्य अमेरिकी डलरको तुलनामा ऐतिहासिक रूपमा खस्कियो । वर्ष सकिनै लाग्दा विश्वभरका केन्द्रीय बैंकहरूले मुद्रास्फीति नियन्त्रण गर्न ब्याजका दर बढाएका छन् । उनीहरूले विश्वव्यापी मन्दी हुन सक्ने चेतावनी पनि दिएका छन् ।

अब, हाम्रोसामु २०२३ साल छ । दृढता र कौशलयुक्त कार्यका दृष्टान्त थाहा पाउन जापानमा त्यहाँकै विशाले अफसोर विन्ड फार्मको सुरुआत अनि वाल्ट डिज्नी कम्पनी तथा वार्नर ब्रदर्सको १००औँ वर्षगाँठदेखि नेपालको कुकुरतिहारसम्मका परिघटनालाई पढ्नुस् :

जनवरी
क्रोएसिया, जनवरी १ : युरोपेली संघमा आबद्ध भएको झन्डै एक दशकपछि क्रोएसियाले युरो (मुद्रा) अपनाउँदै आफू पनि सेन्जेन भिसा–फ्री क्षेत्रको हिस्सा बन्दै छ । युरोजोनमा मडरिइरहेको मन्दीबाट कत्ति विचलित नभई यो बाल्कन राष्ट्र युरोपेली संघको सदस्यताको पुरस्कारस्वरूप आफ्नो एड्रियाटिक तटीय क्षेत्रमा पर्यटक आकर्षित गर्न चाहन्छ ।

इटाली, जनवरी १६ : इटालीको प्रख्यात भेनिस सहरले रात नबिताउने गरी केही घन्टाका लागि आउने पर्यटकका निम्ति ‘डे–ट्रिपर्स फी’ लागू गर्नेछ । भेनिसका अधिकारी कोभिड– १९ महामारी अघिदेखि नै सहरको नाजुक पूर्वाधारमा तनाव दिने क्षणिक यात्रीहरूलाई सीमित गर्ने उपायहरूको खोजीमा थिए । यस्तो शुल्क प्रतिव्यक्ति तीनदेखि १० युरोसम्म हुनेछ । शुल्क सो दिन सहरमा कत्तिको भिड हुन्छ भन्नेमा निर्भर गर्नेछ ।

संयुक्त राज्य अमेरिका, जनवरी २३ र अप्रिल ४ : टिन्सेलटाउनका दुई टाइटन्स (अद्भूत चिज) वार्नर ब्रदर्स र डिज्ने १०० वर्ष पुग्नेछन् । यी दुवै स्टुडियोले यो वर्षभरि आफूमातहतका थिम पार्क, भिडियो गेम, टेलिभिजन च्यानल र स्ट्रिमिङ सेवालगायत विस्तारित परिवारलाई समावेश गरी विस्तृत समारोह र उत्सवहरू मनाउने योजना बनाइरहेका छन् ।

फेब्रुअरी
अष्ट्रेलिया, फेब्रुअरी १७–मार्च ५ : फरक पहिचान हुनेहरू सिड्नीमा वल्र्डप्राइड आउँदै छ, आफ्नो इन्द्रेणी झन्डा उठाउनुस् र स्याम्पेन फोड्नुस् । १७ दिन चल्ने वल्र्डप्राइड महोत्सवमा पाँच लाखभन्दा बढीले सहभागिता जनाउने अपेक्षा गरिएको छ । यद्यपि, एलजिबिटिक्यू समुदायका सबै सदस्यले यसको स्वागत गर्नेछैनन् । केही टिप्पणीकारले त टिकटको मूल्यलाई लिएर यो महोत्सवलाई ‘सम्भ्रान्तहरूको’ महोत्सव भनिसकेका छन् । उदाहरणका लागि, तीनदिने मानव अधिकार सम्मेलनको प्रवेश शुल्क १४९७ डलर रहनेछ भने बोन्डी बीच पार्टीको टिकट १७९ डलरबाट सुरुवात हुन्छ ।

संयुक्त राज्य अमेरिका, फेब्रुअरी १२ : सन् २००० को दशकदेखि २०१६ मा अन्तिम एल्बम ‘एन्टी’ आउँदासम्म बिलबोर्ड चार्टमा प्रभुत्व जमाएकी रिहाना सन् २०१८ को ग्रामी अवार्डस्मा पछिल्लो प्रस्तुति दिएको करिब पाँच वर्षपछि संसारको सबैभन्दा धेरै हेरिने सांगीतिक कार्यक्रममध्ये एक ‘द सुपर बाउल हाफटाइम सो’मा प्रस्तुति दिन मञ्च फर्किँदै छिन् । यो प्रभावशाली कार्यक्रमलाई एप्पल म्युजिकको शक्तिशाली चालका रूपमा हेरिएको छ, उसले मुख्य प्रायोजकको रूपमा पेप्सीलाई प्रतिस्थापन गर्दै छ ।

मार्च 
संयुक्त राज्य अमेरिका, मार्च १२ : अमेरिकाले घडीको सुई एक घन्टा अगाडि बढाउनेछ सम्भवतः सधैँका लागि । सिनेटले सन् २०२२ को मार्चमा पास गरेको ‘द सनसाइन प्रोटेक्सन एक्ट’ले संयुक्त राज्यमा डेलाइट सेभिङ टाइमलाई स्थायी बनाउनेछ । यो विधेयकका समर्थकमा फ्लोरिडाका रिपब्लिकन सिनेटर मार्के ए. रुबियो पनि छन्, जसले डेलाइट सेभिङले सवारी दुर्घटना र दुर्घटनाहरूको संख्या घटाउने, डकैतीमा २७ प्रतिशतले कमी ल्याउने र ऊर्जाको उपयोगमा कटौती गर्ने बताएका छन् । (डेलाइट सेभिङ टाइमअनुसार बिहानको समय एक घन्टाले बढाइनेछ । अर्थात् अमेरिकीसँग बिहानमा थप एक घन्टा समय हुनेछ ।)

नाइजेरियाको नेसनल पेट्रोलियम कम्पनीले नाइजेरियाबाट मोरक्को र त्यसपछि इटाली र स्पेनमा ग्यास ढुवानी गर्न पाइपलाइनमा २५ अर्ब डलर लगानी गर्ने वा नगर्ने निर्णय गर्नेछ । लगानी गर्ने निर्णय ग¥यो भने यो परियोजनामार्फत नाइजेरियाले युरोपको रुसी ऊर्जामाथिको निर्भरता घटाउन सहयोग गर्नेछ । तर, यो छिट्टै भइहाल्ने छैन । यो पाइपलाइन सञ्चालनमा आउन कम्तीमा २५ वर्ष लाग्ने अनुमान छ ।

अप्रिल 
फ्रान्स, स्पेन र संयुक्त राज्य अमेरिका, अप्रिल ८ : प्रसिद्ध कलाकार पाब्लो पिकासोको मृत्यु भएको ५०औँ स्मृति दिवसका दिन विश्वभरका संग्रहालयले ‘म्युजे नेसनल पिकासो–पेरिस’ र पिकासोका नाति बर्नार्ड रुइज–पिकासोद्वारा आयोजित ‘पिकासो सेलेब्रेसन १९७३–२०२३’मा सहभागिता जनाउनेछन् । यस विशेष ऐतिहासिक प्रदर्शनीमा एन्टिबेसस्थित म्युजे पिकासेमा (अप्रिल ८–जुन २५) ‘पिकासो १९६९–७२ ः द इन्ड अफ द बिगनिङ’ शीर्षकमा, न्युयोर्कस्थित गुगेनहेम संग्रहालयमा (मे १२–अगस्ट ७) ‘योङ पिकासो इन पेरिस’ र मड्रिडस्थित कासा डे भेलाफकाफमा (सेप्टेम्बर–नोभेम्बर) ‘पिकासो भर्सेस भेलाफकाफ’ प्रदर्शनीमा रहनेछन् ।

मे
संयुक्त अधिराज्य, मे ६
 कुनै समय राजा हुनुलाई ‘भयानक असह्य’ अनुभवका रूपमा वर्णन गर्ने चाल्र्स तृतीयको वेस्टमिनिस्टर एबेमा ताजपोसी हुनेछ । यद्यपि, बकिङ्घम राजदरबारले राज्याभिषेक छोटो केवल एक घन्टाजतिको र कम तामझमपूर्ण हुने संकेत दिएको छ । उनकी आमा महारानी एलिजावेथको राज्याभिषेक करिब तीन घन्टा चलेको थियो भने आठ हजार विशिष्ट अतिथि उपस्थित थिए ।

जुन
इजिप्ट, जुन ३० : कायरोको पूर्वमा ३० अर्ब डलरको परियोजनाका रूपमा रहेको इजिप्टको नयाँ प्रशासनिक राजधानीको पहिलो चरणको निर्माण कार्य पूरा हुने समयतालिका रहेको छ । यस नयाँ राजधानीले भिडमभिड कायरोका बासिन्दालाई रोजगारी र आवासको व्यावहारिक समाधान दिनेछ । साथै, अफ्रिकाको दोस्रो ठूलो खेलपरिसर ओलम्पिक सिटीजस्ता महŒवाकांक्षी योजनालाई पनि पूरा गर्नेछ । ओलम्पिक सिटी देखाएर इजिप्टले सन् २०३६ को ओलम्पिक आयोजनाको बोली लगाउन चाहेको छ । 

जुलाई 
लिथुआनिया, जुलाई ११–१२ :
 रुसको सीमाबाट एक सय ३८ किलोमिटरको दूरीमा रहेको भिल्नियसमा नेटोले आफ्ना ३० सदस्य राष्ट्रको शिखर सम्मेलन आयोजना गर्नेछ । यो सम्मेलन यस बाल्टिक मुलुकद्वारा आयोजित अहिलेसम्मकै ठूलो शिखर सम्मेलन हुनेछ भने यसको लागत तीन करोड युरो हुनेछ ।

जमैका, जुलाई २४–२८ : अन्तर्राष्ट्रिय सिवेड (समुद्रको पिँध) अथुरिटी (आइएसए)ले डिप–सी माइनिङसम्बन्धी अन्तर्राष्ट्रिय नियमहरू जारी गर्दै छ । विद्युतीय सवारीको ब्याट्रीमा प्रयोग हुने निकलजस्ता खनिजहरूको उत्खनन गर्न धेरैभन्दा धेरै उद्योग लालायित छन् । प्रशान्त क्षेत्रका मुलुक तथा वैज्ञानिकको संगठन ग्रिनपिसलगायतले आइएसएले हतारमा नियमहरूको मस्यौदा तयार पारेको आरोप लगाएको छ । उनीहरूले समुद्रको गहनतलमा उत्खननले विश्वको सबैभन्दा नाजुक पारिस्थितिक प्रणाली नष्ट हुने दाबी गर्दै यो उद्योगमा रोक लगाउन आह्वान गरेका छन् ।

अगस्ट 
विश्व : एअरबिएनबीका चार निर्णायकले संसारभरका सय विचित्र घरेलु आइडिया छनोट गर्नेछन् । एअरबिएनबीको ओएजी ! कोषद्वारा प्रायोजित यो प्रतियोगिताले सयजनालाई ‘क्रेजियस्ट प्लेसेस अन अर्थ’ थिमका निर्माण निम्ति एक लाख डलर दिनेछ । अहिलेसम्म इडाहोको ‘आलु होटेल’ र पोर्चुगलस्थित ‘रेट्रो सिक्सटिज क्याम्पिङ बस’ले यो रकम प्राप्त गरेका छन् ।

फिनल्यान्ड, अगस्ट, २३–२५ : विश्वभरका क्षेत्रीय एयर गिटार प्रतियोगिताका च्याम्पियनहरू एयर गिटार विश्व च्याम्पियनसिपमा स्पर्धा गर्न फिनल्यान्डको उवलुमा भेला हुनेछन् । यो प्रतियोगिता सन् १९९६ देखि प्रत्येक वर्ष हुँदै आएको छ । गत वर्ष यसले तीन हजार पाँच सयभन्दा धेरै दर्शकको ध्यान खिचेको थियो । यसबाहेक फिनल्यान्डले ‘स्वाम्प सोसर वल्र्ड च्याम्पियनसिप (हिलोमा फुटबल खेल्ने)’, ‘मोबाइल फोन थ्रोइङ च्याम्पियनसिप’ र ‘हबी–हर्सिङ (घोडाको टाउकोको आकृतिसहितको अवरोध दौड) च्याम्पियनसिप’लगायतका अन्तर्राष्ट्रिय खेल प्रतिस्पर्धाहरू पनि आयोजना गर्छ । 

सेप्टेम्बर 
संयुक्त राज्य अमेरिका : कलाकार, इतिहासकार तथा कला व्यवस्थापकहरूका निम्ति वाइट्नी म्युजियमको इन्डिपेन्डेन्ट स्टुडेन्ट कार्यक्रमअन्तर्गतका विद्यार्थीले अमेरिकी चित्रकार रोय लिक्टेन्स्टाइनको तीनतले, नौ हजार वर्गफिटको ग्रिनविच भिलेज स्टुडियोलाई आफ्नो कक्षाकोठा बनाउनेछन् । सन् १९९७ मा मृत्यु नहुँदासम्म लिक्टेन्स्टाइन यहीँ बसेर काम गर्थे ।

संयुक्त राज्य अमेरिका, सेप्टेम्बर २४ : नासाले एउटा क्षुद्रग्रहमा नमुना संकलन गर्न पठाएको ओसिरिस–रेक्स पृथ्वीमा फर्किनेछ । उथा टेस्ट एन्ड ट्रेनिङका वैज्ञानिकहरूले ओसिरिस–रेक्सले क्षुद्रग्रह बेन्नुको सतहबाट संकलन गरेको धुलो र रोडाले सौर्यमण्डलको प्रारम्भिक निर्माणका साथै भविष्यमा क्षुद्रग्रहरूले पृथ्वीलाई कसरी असर गर्न सक्छ भन्नेबारे अन्तर्दृष्टि प्रदान गर्ने अपेक्षा गरेका छन् ।

अक्टोबर
दक्षिण अफ्रिका, अक्टोबर १८–३० : एथलेट्सहरू एडभेन्चर रेसिङ वर्ल्ड च्याम्पियनसिपमा भाग लिन दक्षिण अफ्रिकाको पूर्वी केप प्रान्तको कोउगातर्फ लाग्नेछन् । यो शृंखला अफ्रिकामा पहिलोपटक हुँदै छ । प्रतिस्पर्धीहरूले माउन्टेन बाइकिङ, ट्रेल रनिङ, रिभर कायाकिङ तथा नौका खियाउने खेलमा पनि प्रतिस्पर्धा गर्नेछन् । साथै, उनीहरूले दौडका क्रममा विभिन्न जलवायु र वन्यजन्तुको पनि साक्षात्कार गर्नेछन् । उनीहरूले कोउगामा सिंह, चितुवा, गैँडालगायतका वन्यजन्तुको अवलोकन गर्नेछन् । विजेताले ५० हजार डलर नगद र अर्काे वर्षको दौडमा निःशुल्क प्रवेश पाउनेछन् ।

नोभेम्बर 
युएई, नोभेम्बर ६–१७ :
 विश्वकै पहिलो हाइड्रोजन ऊर्जा सञ्चालित हाइड्रोफिलले संयुक्त राष्ट्रसंघ जलवायु परिवर्तन सम्मेलनमा आफ्नो उद्घाटन सञ्चालन सुरुवात गर्नेछ । द जेट नामक यो भेसल (डुंगा)ले १२ जनासम्म यात्रु बोक्न सक्नेछ र यो उत्सर्जनशून्य हुनेछ । द जेट निर्माता स्विट्जरल्यान्ड–आधारित स्टार्टअपले यसै वर्षको उत्तरार्धदेखि दुबईका निजी ग्राहक र होटेलहरूमा व्यावसायिक सेवा सुरु गर्ने योजना बनाएको छ ।

डिसेम्बर
युगान्डा, डिसेम्बर ७–१० : न्यँगे न्यँगे इलेक्ट्रोनिक संगीत महोत्सव थप जीवन्त भएर आउनेछ । नाइल नदीको किनारमा हरेक वर्ष आयोजना हुने यो महोत्सव सन् २०२० र २०२१ मा कोभिड– १९ को कारण स्थगित गरिएको थियो । त्यसपछि सन् २०२२ मा युगान्डाको संसद्ले यो कार्यक्रमले अनैतिकता प्रवद्र्धन गरेको भन्दै प्रतिबन्ध गरेको थियो । युगान्डाका नैतिकता तथा सदाचारमन्त्रीले आयोजकहरूसँग महोत्सवमा प्रवेशको उमेरहद र परिधानबारे नियम बनाउने सहमति गरेपछि अन्ततोगत्वा यो महोत्सव आयोजनाको अनुमति दिइएको छ ।

जापान : होक्काइडोको इसिकारी खाडीको तटमा जापानको सबैभन्दा ठूलो अपतटीय वायु ऊर्जा उत्पादन तथा ऊर्जा भण्डारण सुविधा सञ्चालनमा आउनेछन् । १५ वर्षभन्दा बढी निर्माण अवधि लागेको इसिकारीको यो अपतटीय विन्ड फार्म बलियो वायु वहावको उपयोग गर्न निर्माण गरिएका दर्जनौँ सुविधामध्ये एक हो । युक्रेनमाथिको रुसी हमलापछि इन्धनको मूल्यमा आएको भारी वृद्धि र गत गर्मीको तापलहरबीच पहिलोपटक ऊर्जा अभाव खतरा महसुस गरेको जापान वैकल्पिक ऊर्जा स्रोतहरू सुरक्षित गर्ने प्रयासमा छ ।

थप 
फ्रान्स : पारखीहरूले मार्सेल डुच्याम्पको ‘फाउन्टेन’ अनि वाइभेस क्लिनको ‘ब्लु मोनोक्रोम’ अहिले नै अघाउँजी हेरिहाल्नुहोला । किनभने ‘नेसनल गोर्ग पोम्पिडोउ सेन्टर अफ आर्ट एन्ड कल्चर’ अर्थात् फ्रान्सको व्युवर्गस्थित सेन्टर पोम्पिडोउ मर्मतसम्भारार्थ सन् २०२३ देखि आफ्नो ५०औँ वार्षिकोत्सव सन् २०२७ सम्म बन्द रहनेछ । 

वेल्स : क्यानडाको सफा ऊर्जा स्टार्टअप ‘द रोयल मिन्ट विथ एक्ससेर’ले काम नलाग्ने ल्यापटप र मोबाइल फोनको सर्किट बोर्डमा रहेका विद्युतीय फोहोरबाट ९९ प्रतिशत सुन रिकभर गर्न प्लान्ट खोल्दै छ । विश्वभर विद्युतीय सामानमा ५७ खर्ब अमेरिकी डलरबराबरको सुन रहेको अनुमान छ । 

न्युजिल्यान्ड : के कसैले जीवनभर चुरोट पिउन पाउने र कसैले चाहिँ अब जीवनभर चुरोट सेवन गर्न नपाउने कुरा एकै साथ लागू हुन सक्छ ? न्युजिल्यान्डले ल्याएको एउटा नयाँ कानुनले यी दुवै नतिजा हासिल गर्ने प्रयास गर्नेछ । यो कानुनले अहिले धूम्रपान गरिरहेकाहरूलाई धूम्रपान जारी राख्न अनुमति दिनेछ भने युवाहरूलाई जीवनभर चुरोट पिउनबाट प्रतिबन्धित गर्नेछ । सन् २०२३ बाट लागू हुने चुरोट खरिदको उमेरहद हरेक वर्ष बढाउँदै लगिनेछ । यसले अहिले १४ वा त्यसभन्दा कम उमेरमा रहेका सबैलाई आफ्नो जीवनभर चुरोट खरिदबाट प्रभावकारी रूपले प्रतिबन्धित गर्नेछ ।

सुझावित समाचार