म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ४ नारच्याङमा ६ मेगावाटको रेलेखोला जलविद्युत् निर्माण कार्यले गति लिएको छ । अन्नपूर्ण हिमालको फेदीबाट बग्ने रेलेखोलाको पानीलाई उपयोग गरी निर्माण गर्न लागिएको आयोजनाको करिब ५० प्रतिशत निर्माण पूरा भएको आयोजनाका इन्जिनियर आयुष भट्टराईले जानकारी दिए । हिमकन्सल्ट प्रालिले नदीको बहावमा आधारित रन अफ रिभर मोडलमा ‘पाइप प्रोजेक्ट’मार्फत आयोजना निर्माण गर्न लागेको हो ।
०७३ देखि नारच्याङको बेँसीदेखि लेकगाउँ हुँदै आयोजना निर्माणस्थलतर्फ पहुँचमार्ग निर्माण सुरु गरेको आयोजनाले गत वर्षको फागुनदेखि निर्माण कार्य सुरु गरेको थियो । ‘आयोजनाको बाँधस्थल, पाइप लाइन र विद्युत्गृहतर्फको काम तीव्र रूपमा अघि बढेको छ, दैनिक १ सय ३० भन्दा बढी मजदुरसँगै आवश्यक उपकरण पर्याप्त मात्रामा परिचालन भएका छन्,’ उनले भने ।
कालोखोलामा बाँध रहेको आयोजनाको ३ हजार ६ सय मिटर लामो पाइप लाइनमार्फत पानी लगेर हरिस्वाँरामा रहने विद्युत्गृहमा ५ सय ५ मिटर हेडबाट पानी खसालेर विद्युत् उत्पादन गरिनेछ । यस आयोजनामा पानी लैजानका लागि सुरुङमार्ग प्रयोग नगरी पेनस्टक पाइप मात्रै प्रयोग गरिनेछ । आयोजनामा सिभिलतर्फ साकुरा पावर कन्स्ट्रक्सन कम्पनी, हाइडो मेकानिकलतर्फ वर्कसप अफ इन्जिनियरिङ र इलेक्टो मेकानिकलतर्फ फोलो भेल इनर्जी प्रालिले ठेक्का लिएका छन् । अहिले बाँधस्थलमा इन्टेक, डिसेन्डर र हेडवक्र्सको काम जारी छ । आयोजना निर्माणमा प्रतिमेगावाट २० करोड लागत अनुमान गरिएको छ । हिमालयन बैंकको अगुवाइमा राष्ट्रिय वाणिज्य बैंकले समेत गरी ७० प्रतिशत ऋण लगानी गर्ने सम्झौता भएको छ ।
आयोजनाबाट उत्पादन हुने विद्युत्लाई ४ किलोमिटर लामो ३३ केभी क्षमताको प्रसारण लाइन निर्माण गरी कालीगण्डकी करिडोर प्रसारण लाइनको दाना सबस्टेसनमार्फत राष्ट्रिय प्रसारणमा जोडिनेछ । हाइड्रो भिलेजको नामले परिचित नारच्याङमा यसअघि ५ मेगावाटको घलेम्दी खोला र ४२ मेगावाटको मिस्ट्री खोला जलविद्युत् आयोजना निर्माण सम्पन्न भइसकेका छन् ।
गाउँमा सडक पुग्यो, स्थानीयले रोजगार पाए
रेलेखोजा जलविद्युत् आयोजनाको कारण १ सय २० घरधुरी रहेको नारच्याङको लेकगाउँमा सडक सञ्जालको पहुँच पुगेको छ । अक्करे भिरका कारण ठूलो लगानीको अभावमा रोकिएको सडकलाई रेलेखोला जलविद्युत् आयोजनाले पूर्णता दिएको वडासदस्य श्याम पुर्जाले जानकारी दिए । बेँसीगाउँदेखि लेकगाउँ जाने बाटोमा रहेको अक्करे भिरमा मात्रै ११ वटा घुम्ती हुँदै सडक विस्तार गरेर लेकगाउँ पुर्याइएको छ ।
आयोजनाको पहुँचमार्गका लागि कुल १८ किलोमिटर सडकको ट्र्याक निर्माण भएको छ । आयोजनाले स्थानीयलाई दक्षता र क्षमताअनुसारको रोजगारको अवसरसमेत दिएको छ । सडक निर्माण, स्तरोन्नति, पाइपलाइनको पूर्वाधार निर्माणलगायत क्षेत्रमा स्थानीयले नै नेतृत्व लिएर काम गरिरहेको आयोजनाका इन्जिनियर भट्टराईले बताए ।