सरकारमा सहभागी हुन प्रधानमन्त्री प्रचण्डको पुनः आग्रह, के गर्लान् नेपाल ?

बुधबार, २० पुष, २०७९
डिजिटल संस्करण

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले २६ पुसमा विश्वासको मत लिँदै छन् । त्यसअघि उनले सरकारलाई समर्थन बढाउन राजनीतिक भेटवार्ता गरिरहेका छन् । 

यसैक्रममा आज एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग भेट गरी सरकारमा सहभागी हुन पुनः आग्रह गरेका छन् । सिंहदरबारमा भएको भेटवार्तामा प्रचण्डले नेपालको विश्वास जित्ने प्रयास गरेको बताइएको छ । 

कांग्रेससँगको गठबन्धन तोड्ने अवस्था आएपछि नयाँ गठबन्धनका लागि प्रचण्ड आफूलाई नलिई एक्लै एमाले अध्यक्ष ओलीसँग छलफलमा गएको भन्दै नेपाल असन्तुष्ट रहँदै आएका छन् । 

नयाँ परिस्थितिपछि एकीकृत समाजवादीको स्थायी कमिटी र पोलिटब्युरो बैठकसमेत भइसकेको छ । तर, एकीकृत समाजवादीले प्रधानमन्त्री प्रचण्डलाई समर्थन दिने–नदिने, सरकारमा सहभागी हुने–नहुने स्पष्ट निर्णय लिइसकेको छैन । 

यस्तोमा आज भएको भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ । भेटमा प्रचण्डले सरकारमा सहभागी भएर सँगसँगै जानुपर्ने प्रस्ताव गरेका थिए । 

सरकारसँग एक सय ६९ सांसदको समर्थन रहे पनि प्रचण्डले लगातार एकीकृत समाजवादीलाई सरकारमा सामेल गराउन चाहेका छन् । यसअघि पनि उनले नेपाललाई सरकारमा आउन आग्रह गरेका थिए । 

आजको भेटमा नेपालले प्रधानमन्त्रीका रूपमा प्रचण्डलाई हार्दिकताका साथ स्वागत गरेको भन्दै सरकारलाई समर्थन दिन पार्टी सकारात्मक नै रहेको बताएका थिए । तर, सरकारमा सहभागी हुने–नहुने भन्नेबारे भने अहिले नै भन्न नसकिने उनको भनाइ थियो ।

सरकारमा सहभागी हुन गठबन्धनका तर्फबाट औपचारिक प्रस्ताव नआएको तथा नीति तथा कार्यक्रम निर्माणको काममा पनि आफूहरूसँग कुनै सल्लाह नगरिएको भन्दै नेपालले तत्काल सरकारमा सहभागी हुने सम्भावना नरहेको बताउँदै आएका छन् । 

आजै राजधानीमा भएको एक कार्यक्रममा पनि उनले २६ गते विश्वासको मत लिइने भएकाले त्यसअघि नै सरकारलाई समर्थन गर्ने–नगर्ने घोषणा गरिरहन आवश्यक नरहेको भन्दै अन्तिम समयमा निर्णय लिने बताएका थिए । 

आजको भेटपछि भने नेपाल सरकारमा सहभागी हुने सम्भावना पनि बढेको अनुमान गरिएको छ । 

पार्टीभित्र अधिकांश सांसद प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुनुपर्ने पक्षमा रहेकाले पनि प्रचण्ड नेतृत्वको सरकारबाहिर रहन नेपाललाई पार्टीभित्रै दबाब छ । 

सुझावित समाचार