मोलुङ हाइड्रोपावर कम्पनीले स्थानीयका लागि साधारण सेयर निष्कासन गर्ने भएको छ । आयोजना प्रभावित क्षेत्रका नागरिकका लागि कम्पनीले १० प्रतिशत साधारण सेयर निष्कासन गर्न लागेको हो ।
मंगलबारदेखि प्रभावित क्षेत्रका स्थानीयले सेयर भर्न सक्ने गरी साधारण सेयर खुला गरिने कम्पनी सञ्चालक समितिका अध्यक्ष श्रीराम महर्जनले बताए । कम्पनीको १३औँ साधारणसभाको अवसरमा अध्यक्ष महर्जनले प्रभावित क्षेत्रका नागरिकका लागि १० प्रतिशत सेयर निष्कासन गर्न लागिएको बताएका हुन् ।
कम्पनीको कुल जारी पुँजी ८० करोड २५ लाखको १० प्रतिशत अर्थात् आठ करोड दुई लाख ५० हजारबराबरको आठ लाख दुई हजार पाँच सय कित्ता साधारण सेयर प्रभावित क्षेत्रका लागि सेयर निष्कासन गरिने अध्यक्ष महर्जनले जानकारी दिए । त्यसपछि तत्काल आयोजनामा कार्यरत कर्मचारी, श्रम स्वीकृति पाएका विदेशमा रोजगार गरिरहेका नेपाली नागरिकहरू र सर्वसाधारणका लागि ३४ प्रतिशत अर्थात् २७ लाख २८ हजार पाँच सय कित्ता सेयर निष्कासन गर्ने तयारी भइरहेको छ ।
प्रभावित क्षेत्रका लागि खोल्न लागिएको १० प्रतिशत सेयर ओखलढुंगाका तीनवटा स्थानीय तहका नागरिकले आवेदन दिन पाउने कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक सन्राइज क्यापिटल लिमिटेडका सिओओ विजेन्द्र प्रधानले बताए । आयोजना सञ्चालन भएको पालिका मोलुङ गाउँपालिकाका बासिन्दाहरूले ५ प्रतिशत, सुनकोसी गाउँपालिका र सिद्धिचरण नगरपालिकाका नागरिकले बाँकी ५ प्रतिशत सेयर भर्न पाउने प्रधानको भनाइ छ । यसअघि संस्थापक सेयर लिइसकेका मोलुङ गाउँपालिकाका स्थानीयले यो साधारण सेयर भर्न पाउनेछैनन् ।
हाइड्रोले मोलुङ गाउँपालिकाका आठवटै वडाका स्थानीयलाई संस्थापक सेयर यसअघि नै दिइसकेको छ । मोलुङका स्थानीयलाई प्रभावित क्षेत्र भनेर संस्थापक सेयर दिएपछि सिद्धिचरण र सुनकोसीका तत्कालीन जनप्रतिनिधिले करिब एक वर्षअघि आफ्नो क्षेत्रका नागरिकले पनि सेयर पाउनुपर्ने भन्दै लिखित रूपमै आयोजनाको ध्यानाकर्षण गराएका थिए । सेयर भर्नका लागि नाबालकको हकमा जन्मदर्ता साथै अन्यको हकमा नागरिकतासँगै बैंक खाता र डिम्याट खाता अनिवार्य आवश्यक पर्नेछ । आगामी माघ १८ गतेसम्म साधारण सेयर भर्न सकिनेछ ।
आयोजना प्रभावित क्षेत्रका बासिन्दाले सन्राइज बैंक, माछापुच्छ्रे बैंक, मुक्तिनाथ विकास बैंक, कुमारी बैंक तथा लक्ष्मी बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । मोलुङ गाउँपालिकाको ओखलढुंगामा सञ्चालित मोलुङ हाइड्रोपावरबाट हाल सात मेगावाट विद्युत् उत्पादन भइरहेको छ ।
वार्षिक १५ करोड आम्दानी
गत आर्थिक वर्षमा मोलुङ हाइड्रोले १५ करोड ६० लाख ९५ हजार ६७ रुपैयाँ आम्दानी गरेको छ । उत्पादन सुरु गरेको केही समय केन्द्रीय प्रसारणमा नजोडिँदा घाटा व्यहोरेको कम्पनीले गत वर्षबाट केन्द्रीय प्रसारण लाइनमा जोडिएपछि आम्दानी गर्न थालेको हो ।
आयोजनाले आम्दानी दिन थालेको, तर बैंकहरूले ब्याजदर बढाउँदा थप आर्थिक भार परेको कम्पनी सञ्चालक नवीन महर्जनले बताए । विगतमा समयमै खपत नहुँदा आम्दानी नभएर घाटामा थियो, एक सय ३२ केभिए प्रसारण लाइन बनेपछि अब नियमित आम्दानी हुन थालेको उनले बताए ।