लुला र विश्वका लागि एमेजोन जोगाउनुको सकस

एमेजोन वर्षावन पुनस्र्थापना गर्ने ब्राजिलको प्रयासमा अन्तर्राष्ट्रिय समुदायले महत्वपूर्ण भूमिका खेल्न सक्छ, आर्थिक सहयोग एवं सदाशयता देखाउन सक्छ

मंगलबार, १९ पुष, २०७९
डिजिटल संस्करण

ब्राजिलमा अभूतपूर्व ढंगले राष्ट्रपतिमा निर्वाचित भएका लुइज इनासियो लुला दा सिल्भाले पदभार ग्रहण गरेसँगै उनको सबैभन्दा ठूलो चुनौती एमेजोनमा भइरहेको विध्वंस हुनेछ । एमेजोन रेन फरेस्ट (वर्षावन) रक्षालाई चुनावी मुद्दा बनाएका लुलाको कार्यकाल मूलतः एमेजोनको रक्षासँगै जोडिनेछ । तर, उनीसामु चुनौतीका पहाड मौजुद छन् । काठ तस्कर, खानी मालिक र जग्गा हडप्नेसँग जुध्न विश्व समुदायको सहयोग आवश्यक पर्नेछ । उनले विभक्त कंग्रेसमा र ब्राजिलको वातावरणीय प्रतिबद्धतामा सन्देह गर्ने ग्रामीण सम्भ्रान्तबीच गठबन्धन पनि निर्माण गर्नुपर्ने हुन सक्छ ।

विश्वको सबैभन्दा ठूलो वर्षावनका लागि सन् १९९० वा सन् २००० को दशकमा जस्ता शत्रु छैनन् । आज लुलाले वैश्विक आपूर्तिसँग साँठगाँठ गरिरहेका आपाराधिक गिरोहको सञ्जालसँग जुध्नुपर्नेछ । सन् २०१९ मा बोल्सोनारो राष्ट्रपति बनेयता उनले वातावरण संरक्षणका मामिलामा उल्टो वा विनाशकारी कदम चाले र आदिवासी भूमिलाई व्यापारिक प्रयोगका लागि खुला गर्ने कदम चाले । नतिजा उनको कार्यकालभन्दा अगाडिका चार वर्षको तुलनामा वनविनाश ६० प्रतिशतले बढ्यो । अहिले जंगलले सोस्नेभन्दा बढी कार्बन डाइअक्साइड उत्सर्जन गर्छ । 

लुला नेतृत्वको सरकारले एमेजोन क्षेत्रमा सुनखानी बढाउने योजनालाई उल्ट्याउने र वातावरणीय कर बढाउने संकेत गरेको छ । यसबाहेक सरकारले संघीयस्तरमा वर्षावन जोगाउन जंगलमा लुट मच्चाउने आपराधिक गिरोहलाई नियन्त्रण गर्न संघीय प्रहरी एकाइ खडा गर्ने योजना बनाएको छ । यससँगै सरकारले सन् २०१९ मा अवरुद्ध ६० करोड डलरको एमेजोन संरक्षण कोष ब्यँुताउनेछ । तर, यी उपाय कति प्रभावकारी हुन्छन्, हेर्न बाँकी नै छ । 

लुलाको अघिल्ला दुवै कार्यकालमा वनविनाशविरोधी अभियानमा संलग्न अधिकारी बोल्सोनारोले शासन गर्नुअगाडिकै अवस्थामा ल्याउन अझै कैयौँ वर्ष लाग्ने बताउँछन् । किनभने एमेजोनमा वातावरणीय अपराधको गतिशीलता विगत १० वर्षमा परिवर्तन भएको छ र स्याटेलाइट डाटा प्रयोग एवं संघीय अधिकारी परिचालनजस्ता रणनीति पनि सीमित रूपमा सफल छन् । अहिले एमेजोनबाट गाईको मासु, सुन र काठजस्ता वस्तुको अवैध उत्पत्ति लुकाउन र तिनलाई अन्तर्राष्ट्रिय बजारमा बेच्न परिष्कृत योजना बुन्ने आपराधिक गिरोहबाट वनविनाश बढिरहेको छ । ब्राजिलको नीति–निर्माता संस्था इगारापे इन्स्टिट्युटले सन् २०२२ मा गरेको अध्ययनले प्रत्येक एमेजोन क्षेत्रमा ‘सबै किसिमका अपराध एकत्रित’ हुने गरेको पाएको छ, जसमा हिंसा, भ्रष्टाचार, वित्तीय अपराध र धोखाधडी आदि पर्छन् ।

एमेजोन वर्षावन पुनस्र्थापना गर्ने ब्राजिलको प्रयासमा अन्तर्राष्ट्रिय समुदायले महŒवपूर्ण भूमिका खेल्न सक्छ, आर्थिक सहयोग एवं सदाशयता देखाउन सक्छ 
 

 केही बहुराष्ट्रिय कम्पनीले वनविनाश भएका क्षेत्रबाट भटमास र गाईको मासु खरिद नगर्ने जनाएका छन् । त्यसैगरी, युरोपियन युनियनले पनि कम्पनीलाई वनविनाश भएका क्षेत्रबाट मालसामान खरिद नगरेको प्रमाण देखाउनुपर्ने बाध्यकारी नियम बनाइरहेको छ । तर, ब्राजिलको भटमास, गाईको मासु र छाला सबैभन्दा बढी खरिद गर्ने चीन भने मौन देखिन्छ । यस सन्दर्भमा लुलाले बेइजिङलाई भटमास र मासुसम्बन्धी वस्तुको स्रोत पत्ता लगाउने नियम बनाउन मनाउनुपर्ने हुन्छ । आर्थिक विकासका लागि वर्षावनको दोहन आवश्यक हुन्छ भन्ने व्यापक मानसिकतासँग लड्नु आगामी सरकारका लागि अर्को चुनौती हुनेछ । 

लुला निर्वाचित भएपछि थुप्रै ट्रक चालक र अन्य बोल्सोनारो समर्थकले ‘सोयाबिन राजमार्ग’ भनेर चिनिने बिआर–१६३ लाई अवरुद्ध पारेका थिए । यो राजमार्ग सोयाबिन खेतदेखि एमेजोन निर्यात बन्दरगाहसम्म फैलिएको छ । सडक खाली गर्न खोज्दा संघीय अधिकारीलाई प्रदर्शनकारीको भिडले आक्रमण गरेको थियो । उसो त लुलाका अघिल्ला दुई कार्यकालमा यी क्षेत्रमा हुने हिंसा विश्व समाचार बनिसकेका छन् । 

उत्तरपश्चिम ब्राजिलमा एक लाख ८० हजार वर्गमाइल क्षेत्रमा फैलेको एमेक्रो क्षेत्र (एमेजोनाज, एक्रे र रोन्डोनिया राज्यका हिस्सा) वनविनाशविरुद्धको लडाइँमा एक महत्वपूर्ण युद्धभूमि हुनेछ । बोल्सोनारोको सहयोगमा यस क्षेत्रलाई गाईको मासु र भटमास उत्पादनका लागि ‘दिगो विकास क्षेत्र’ परियोजनाका रूपमा बजारीकृत गरिएको थियो । कुनैवेला सबैभन्दा उपयुक्त ढंगले संरक्षितमध्येको यो क्षेत्र हाल इन्स्टिट्युट फर स्पेस रिसर्चको तथ्यांकअनुसार ‘सबैभन्दा ठूलो वन–विनाश’ भइरहेको क्षेत्रमध्ये एक हो । 

यो जटिल परिस्थितिमा लुलाले आफ्नो संरक्षण योजनामा विश्वबजारलाई प्रमुख घटकका रूपमा समावेश गर्नुपर्छ । शून्य वनविनाश हासिल गर्न संघीय सरकारले पनि नियमको सम्मान गर्ने व्यक्तिलाई पुरस्कृत गर्नुपर्छ र अपराधीलाई हदैसम्मको कठोर सजाय दिइनुपर्छ । वर्षावन पुनस्र्थापना गर्ने ब्राजिलको प्रयासमा अन्तर्राष्ट्रिय समुदायले महत्वपूर्ण भूमिका खेल्न सक्छ, आर्थिक सहयोग एवं सदाशयता देखाउन सक्छ ।

यी सहयोगमा एमेजोन संरक्षण कोषमा योगदान हुन सक्छ र यसबाहेक स्थानीयस्तरमा रोजगारी सिर्जना गर्ने दीर्घकालीन वित्तीय प्रतिबद्धता गरेर दिगो विकासका लागि आधार तयार गर्न सकिन्छ । उदाहरण, चीनले एसिया र अफ्रिकामा गरेझैँ कारखाना निर्माण गरेर निर्यात गर्नुअघि प्राकृतिक स्रोतमा मूल्य थप्ने गरी काम गर्न सकिन्छ ।

गत महिना इजिप्टमा भएको राष्ट्रसंघको जलवायु सम्मेलनमा दिएको भाषणमा लुलाले ‘जलवायु परिवर्तनलाई उत्तेजित नगरी पनि धन आर्जन गर्न सम्भव छ भन्ने कुरा फेरि प्रमाणित गरौँ’ भनेका थिए । यदि उनी सफल भए एमेजोनमा औसत आम्दानी गर्ने र कृषि व्यवसायी सम्भ्रान्तमाझ समृद्धि र संरक्षण दुवै सम्भव छ भनेर पुष्टि गर्न सक्नेछन् ।
(अराउजो एक खोज पत्रकार हुन्, उनको ‘मास्टर्स अफ द लस्ट ल्यान्ड : द अनटोल्ड स्टोरी अफ द एमेजोन एन्ड द भाइलेन्ट फाइट फर द वल्र्ड्ज लास्ट फ्रन्टियर’ पुस्तक प्रकाशित हुँदै छ) द न्युयोर्क टाइम्सबाट
 

सुझावित समाचार