प्रधानमन्त्री प्रचण्डलाई समर्थन गर्ने कि नगर्ने धर्मसंकटमा छौँ : प्रवक्ता खतिवडा

सोमबार, १८ पुष, २०७९
डिजिटल संस्करण

नेकपा (एकीकृत समाजवादी) का पोलिटब्युरो सदस्यहरूले वामपन्थी शक्तिबीचमा एकता गर्नुपर्नेमा जोड दिएका छन्।

सोमबारबाट सुरु भएको पार्टीको पोलिटब्युरो बैठकमा आफ्नो धारणा राख्दै पोलिटब्युरो सदस्यहरूले वामपन्थी शक्तिहरूका बीचमा एकता गर्नुपर्नेमा जोड दिएका हुन्। 

बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले बैठकमा बोल्ने सदस्यहरूले वामपन्थीहरूलाई एकताबद्ध बनाउन पहल गर्नुपर्ने धारणा राखेकाे बताए। 

उनले वामपन्थीहरूको एकताको सम्बन्धमा सबैको एकमत रहेको बताए। त्यस्तै, संगठन सुदृढीकरण गर्न आगामी पाँच वर्ष पार्टी निर्माणको अभियानमा लाग्नुपर्नेमा पनि सम्पूर्ण सदस्यहरू एकमत रहेको उल्लेख गरे। 

बैठकमा करिब ३० जना सदस्यले आफ्नो धारणा राखेका थिए। उनले वर्तमान सरकारमा जाने सन्दर्भमा औपचारिक प्रस्ताव नै नआएको भन्दै यस सम्बन्धमा छलफल नभएको बताए। बैठकमा सरकारलाई हेर्ने दृष्टिकोणको सम्बन्धमा भने छलफल भएको उनको भनाइ छ। 

उनले भने, ‘यो सरकारलाई हेर्ने दृष्टिकोणको बारेमा हामी छलफल गरिरहेका छौँ। सरकारमा जाने कि नजाने भनेर छलफल गरिरहेका छैनौँ। औपचारिक प्रस्ताव नै आएको छैन। प्रस्ताव आएपछि त्यो प्रस्ताव  लायक छ, छैन। हाम्रा उद्देश्यअनुसार यी सबै कुरा हुन्छन्, हुँदैनन्। हाम्रो प्राथमिकतामा त्यो विषय पर्छ कि पर्दैन। त्यसपछाडि गरिने कुरा हो। त्यसकारण हामीसँग औपचारिक प्रस्ताव नै छैन।’

प्रवक्ता खतिवडाले विगतमा सँगै गठबन्धन गरेका नेता पुष्पकमल दाहाल प्रचण्ड प्रधानमन्त्री भएसँगै आफूहरूलाई समर्थन गर्ने कि नगर्ने भन्ने सम्बन्धमा धर्मसंकट परेको बताए। व्यक्तिगत रूपमा प्रधानमन्त्री प्रचण्डप्रति सद्भाव भए पनि राजनीतिमा व्यक्तिगत सद्भावले काम नगर्ने स्पष्ट पारे। उनका अनुसार यही विषयमा पार्टीको नीति स्पष्ट पार्नका लागि पोलिटब्युरो बैठक राखिएको छ। बैठक मंगलबार बिहान ११ बजे पुनः बस्नेछ।

सुझावित समाचार