‘अनुप स्मृति गोल्डकप’मा नेर्पा स्पोर्टसको विजयी सुरुवात

आइतबार, १७ पुष, २०७९
डिजिटल संस्करण

जिल्लामा सञ्चालन भएको सर्वाधिक धनराशिको ‘अनुप स्मृति आमन्त्रित गोल्डकप’ फुटबल प्रतियोगिताको तेस्रो संस्करणमा नेर्पा स्पोर्टस् क्लबले विजयी सुरुवात गरेको छ । 

दिक्तेलस्थित माटिकोरे खेलमैदानमा सञ्चालन भएको पहिलो खेलमा एजुकेटेक इनरुवा इभेन्ट सुनसरीलाई ३–१ ले पराजित गर्दै साबिक विजेता नेर्पाले विजयी सुरुवात गरेको हो । 

१३औँ मिनेटमा इनरुवाका पेम्बा स्याङ्बो लामाले गोलको खाता खोलेका थिए । तर, ३५औँ मिनेटमा नेर्पाका बिकी राईले बराबरी गोल फर्काए ।

५७औँ मिनेटमा इनरुवाका खेलाडीले आत्मघाती गोल गरेपछि नेर्पाले अग्रता लियो । बिकीले नै थप एक गोल गरेपछि नेर्पाले जित सुनिश्चित गर्याे । 

दिक्तेल–रूपाकोट–मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराईले उद्घाटन गरेको प्रतियोगिताको पहिलो खेलमा नेर्पाका बिकी उत्कृष्ट खेलाडी घोषित भए । 

सोमबार दिक्तेल फुटबल क्लब र खोटाङ फुटबल एकेडेमीबीच प्रतिस्पर्धा हुनेछ । माउन्ट एभरेस्ट इंग्लिस बोर्डिङ स्कुल र दिक्तेल फुटबल क्लबको आयोजना तथा खोटाङ फुटबल एकेडेमी (केएफए)को सहआयोजनामा सुरु भएको प्रतियोगिताको तेस्रो खेल चियाबारी फुटबल क्लब इलाम र दिप्रुङ चुइचुम्मा गाउँपालिकाबीच हुने भएको छ । 

२३ पुससम्म चल्ने प्रतियोगिताको चौथो खेल खारम्बु स्पोर्टस् क्लब खार्मी र मानेभञ्ज्याङ स्पोर्टस् क्लब ओखलढुंगाबीच हुने जानकारी दिइएको छ । 

विजेता टिमले दुई लाख ५१ हजार, उपविजेताले एक लाख ११ हजार तथा सेमिफाइनलिस्ट दुई टिमले २५–२५ हजार नगद पुरस्कारसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक समिति संयोजक सागर जोशीले जानकारी दिए । 

प्रतियोगितामा उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट स्ट्राइकर र उत्कृष्ट टिम प्रशिक्षक र अनुशासित टिमलाई पाँच हजार पाँच सय ५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । 

प्रतियोगिताका उत्कृष्ट खेलाडी र सर्वाधिक गोलकर्ता खेलाडीलाई जनही सात हजार पाँच सय ५५ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र दिइने सहसंयोजक सगुन ताम्राकारले जानकारी दिए । 

माउन्ट एभरेस्ट इंग्लिस बोर्डिङ स्कुलको नर्सरीमा अध्ययनरत अनुप राईको २ जेठ ०६८ मा दिक्तेलस्थित पुरानो बैंकचोकनजिक सवारी दुर्घटनामा ज्यान गएको थियो । उनै विद्यार्थीको सम्झनामा प्रत्येक वर्ष अनुप स्मृति गोल्डकप हुँदै आएको हो । 

सुझावित समाचार