बेनेडिक्टले ११ फेब्रुअरी २०१३ मा ‘बढ्दो उमेर’को कारण देखाउँदै पोपको पदबाट राजीनामा दिने घोषणा गरेर विश्वभरका क्याथोलिक विश्वासी र धार्मिक विज्ञहरूलाई चकित पारेका थिए
वास्तविक नाम जोसेफ अलोइस र्याटजिङगर रहेका अवकाशप्राप्त पोप बेनेडिक्ट सोह्रौँको ९५ वर्षको उमेरमा निधन भएको भ्याटिकनले घोषणा गरेको छ । वर्तमान पोप फ्रान्सिसले आफ्ना पूर्ववर्ती ‘निकै बिरामी’ भएकाले उनका लागि प्रार्थना गर्न आग्रह गरेको केही दिनपछि शनिबार बेनेडिक्टको मृत्यु भएको हो । उनको स्वास्थ्य केही समयदेखि खस्किरहेको थियो । भ्याटिकन सिटी प्रेस कार्यालयले बेनेडिक्टको मृत्यु उनले अवकाश जीवन बिताइरहेको ‘मेटर इक्लेसिया’ मठमा भएको जानकारी दिएको छ । सन् २०१३ मा पोपबाट राजीनामा दिएपछि उनी सो निवासमा बस्दै आएका थिए ।
बेनेडिक्टले सन् २०१३ फेब्रुअरी ११ ‘बढ्दो उमेर’का कारण देखाउँदै पोपको पदबाट राजीनामा दिने घोषणा गरेर विश्वभरका क्याथोलिक विश्वासी र धार्मिक विज्ञहरूलाई चकित पारेका थिए । त्यसवेला निवर्तमान पोपले संसारबाट ‘लुकेर’ रहने वाचा गरे पनि पछिका वर्षमा उनले केही धार्मिक मामिलामा बोल्दा क्याथोलिक चर्चभित्र तनाव देखिएको थियो ।
भ्याटिकनले पोप इमेरेटस बेनेडिक्ट सोह्रौँको अन्त्येष्टि बिहीबार भ्याटिकन सिटीको सेन्ट पिटर स्क्वायरमा स्थानीय समयअनुसार बिहान साढे नौ बजे हुने जानकारी दिएको छ । अन्त्येष्टि समारोहलाई पोप फ्रान्सिस स्वयंले नेतृत्व गर्नेछन् । पूर्वपोपको पार्थिव शरीर सोमबारदेखि भ्याटिकनको सेन्ट पिटर बासिलिकामा श्रद्धालुहरूको दर्शनका लागि राखिने पनि भ्याटिकन न्युजले जनाएको छ ।
स्थानीय पादरीदेखि पोपसम्मको यात्रा
दोस्रो विश्वयुद्धपछि, सन् १९५१ मा म्युनिखको स्थानीय पादरी बनेपछि बेनेडिक्टले धर्मशास्त्र र दर्शनको अध्ययन सुरु गरेका थिए । पछि उनले धार्मिक प्राज्ञको रूपमा नाम कमाए । धर्मशास्त्रको विषयबाट डक्टरेट सकाई बोन विश्वविद्यालयमा अध्यापन गर्न थाले । उनको शैक्षिक क्यारियर सन् १९६६ मा टुबिन्जेन विश्वविद्यालयमा ‘कट्टर धर्मशास्त्र’ संकायको प्रमुखसम्म पुग्यो । तर, उनको धर्मप्रतिको भक्ति विश्वविद्यालयहरूमा समाप्त भएन ।
उनले आफ्नो लेखकीय पहिचानको प्रयोग गरेर भ्याटिकनसँग सम्पर्क कायम गर्न थाले । ‘उनले भ्याटिकनमा पहिले पोप पल छैटौँसँग नजिकको सम्बन्ध बनाए । पोप पलले उनलाई कार्डिनल बनाए । जोन पल द्वितीयसँग उनको सम्बन्ध झनै घनिष्ट बन्यो, जसले उनलाई २५ वर्षसम्म आफ्नो सबैभन्दा महत्वपूर्ण सल्लाहकार बनाएका थिए,’ भिल्लानोभा विश्वविद्यालयका ऐतिहासिक धर्मशास्त्रका प्राध्यापक मासिमो फागियोलीले भने ।
सन् १९७७ मार्च २४ मा ५० वर्षको उमेरमा उनलाई म्युनिख–फ्रेजिङको आर्कबिसप नियुक्त गरियो । सोही वर्ष जुन २७ मा पोप पल छटौँले उनलाई ‘सान्ता मारिया कन्सोलट्रिस अल टिबुर्टिनो’को कार्डिनल प्रिस्ट बनाए । चार वर्षपछि, सन् १९८१ मा नयाँ आएका पोप जोन पल द्वितीयले बेनेडिक्टलाई रोम बोलाए र उनलाई पवित्र मण्डली को प्रिफेक्ट बनाए । त्यसपछिका समयमा उनी पोप जोन पल द्वितीयका दाहिने हात बने । पोपका घोषणामा रेट्जिङरको प्रभाव देखिन थाल्यो ।
पोप जोन पल द्वितीयको निधनपछि रेट्जिङगरले भ्याटिकनमा झन्डै २५ वर्षको समयमा निर्माण गरेका सम्बन्धहरू उनको पोप चयनमा महत्वपूर्ण ठहरियो । बेनेडिक्टले आफ्नो पोपको कार्यकालमा केही महत्वपूर्ण परिवर्तन ल्याएका थिए । तथापि उनले आफ्नो कार्यकालमा चर्चभित्र हुने यौनशोषणको विषयमा उलेख्य काम नगरेको आलोचना हुने गर्छ । त्यसबाहेक भ्याटिकनभित्रको भ्रष्टाचार मुद्दालाई बेवास्ता गरेको पनि आरोप लाग्ने गरेको थियो । साथै पकोप बेनेडिक्ट उनका उत्तराधिकरी पोप फ्रान्सिसभन्दा बढी रुढिवादी थिए । उनले गर्भपतन र समलैंगिकतासम्बन्धी भ्याटिकनको अडानलाई बलियोसँग कायम राखेका थिए ।