जलवायुका लागि महँगो बन्दै बिटक्वाइन

आइतबार, १७ पुष, २०७९
डिजिटल संस्करण

एक बिटक्वाइनको जति मूल्य पर्छ, त्योभन्दा बढी क्षति प्रतिबिटक्वाइनको माइनिङले जलवायुलाई पुर्याउँछ

बिटक्वाइन आफ्नो बजारमूल्यको करिब ३५ प्रतिशत जलवायु क्षतिका लागि जिम्मेवार छ । एक बिटक्वाइनको जति मूल्य पर्छ, त्योभन्दा बढी क्षति प्रत्येक बिटक्वाइनको माइनिङले जलवायुलाई पुर्याउँछ । बिटक्वाइन एक्सचेन्ज एफटिएक्स टाट पल्टिएसँगै क्रिप्टो बजार खस्किँदै गइरहेको छ । आम क्रिप्टो लगानीकर्ताको ६०–७० प्रतिशत पुँजी चौपट भएको छ । बजार यो अवस्थाबाट गुज्रिरहँदा लगानीकर्तामा क्रिप्टोकरेन्सीप्रति भयको वातावरण सिर्जना भएको छ । 

क्रिप्टोकरेन्सीबारे पछिल्लो समय भएको एउटा अध्ययनअनुसार एकातिर बिटक्वाइन सस्तो मूल्यमा पाइएको छ भने अर्कातिर जलवायुका लागि यो महँगो साबितसमेत भइरहेको छ । नेचर नामक पत्रिकामा प्रकाशित रिसर्चलाई आधार मान्ने हो भने बिटक्वाइनको माइनिङ प्रक्रिया चल्दा प्रतिबिटक्वाइनको मूल्यभन्दा बढी क्षति भइरहेको छ । 

दिनप्रतिदिनको बिटक्वाइन माइनिङ हाम्रो जलवायुका लागि घातक बन्दै गइरहेको छ । खासमा बिटक्वाइन मानइनिङमा प्रुफ अफ वर्कको सिद्धान्तको मुख्य भूमिका छ । अझै स्पष्ट रूपमा भन्नुपर्दा यो सिद्धान्तअन्तर्गत डिजिटल लक्ड या एनक्रिप्टेड प्रमाणमार्फत एउटा पक्षले दोस्रो पक्षलाई आफ्नो विश्वसनीयता साबित गर्छ । डिजिटल एनक्रिप्सन–डिक्रिप्सन र लकिङ वा अनलकिङ प्रक्रियामा र माइनिङको विश्वसनीयता सिद्ध गर्न राम्रैसँग विद्युत् प्रयोग हुन्छ । विद्युत् अर्थात् उत्सर्जन । न्यु मेक्सिको विश्वविद्यालयका शोधकर्ताद्वारा लेखिएको रिपोर्टअनुसार उत्पादनका रूपमा कुरा गर्दा बिटक्वाइनको जलवायु प्रभाव तेल उत्पादनभन्दा बढी हुन्छ । 

‘इकोनोमिक इस्टिमेसन अफ बिटक्वाइन माइनिंग्स क्लाइमेट ड्यामेजेज डेमोन्स्ट्रेट्स क्लोजर रिजेम्ब्लेन्स टु डिजिटल क्रुड देन डिजिटल गोल्ड’को रिपोर्टमा भनिएको छ, ‘बिटक्वाइन माइनिङ समयसँगै दीर्घकालीन पनि छ भनेर सिद्ध गर्ने अहिलेसम्म कुनै पनि प्रमाण हात लागेको छैन । हाम्रो शोधको नतिजाले ठीक उल्टो संकेत दिइरहेको छ । वास्तविकतामा बिटक्वाइन माइनिङ समयसँगै जलवायुका लागि बढी हानिकार हुँदै छ । सीधा भाषामा भन्दा बिटक्वाइनको वातावरणीय पदचिह्न गलत दिशामा अगाडि बढिरहेको छ ।’

बिटक्वाइन माइनिङ समयसँगै दीर्घकालीन पनि छ भनेर सिद्ध गर्ने अहिलेसम्म कुनै पनि प्रमाण हात लागेको छैन । हाम्रो शोधको नतिजाले ठीक उल्टो संकेत दिइरहेको छ । वास्तविकतामा बिटक्वाइन माइनिङ समयसँगै जलवायुका लागि बढी हानिकारक हुँदै छ । 

जोन्स तथा उनका सहयोगी रोबर्ट बेरेन्स र एन्ड्र्यु गुडकाइन्डले सन् २०१६ जनवरी र डिसेम्बर २०२१ बीच बिटक्वाइन माइनिङबाट जलवायु क्षतिको आर्थिक अनुमानमा नजर लगाउँदा सन् २०२० मा बिटक्वाइनका लागि ७५.४ टेरावाट प्रतिघन्टा विद्युत् प्रयोग गरेको पाए । यो तथ्यांकलाई गम्भीर रूपमा बुझ्न वैज्ञानिकहरू अस्ट्रिया र पोर्चुगलको कुल विद्युत् खपतको उदाहरण दिन्छन्, जहाँ पूरै अस्ट्रियामा सोही वर्ष ६९.९ टेरावाट विद्युत् खपत भयो । यस्तै, पोर्चुगलमा भने ४८.४ टेरावाट खपत भयो ।

जोन्स भन्छन्, ‘वैश्विक रूपमा बिटक्वाइनले माइनिङ होस् वा उत्पादन, विद्युत्को भरपूर प्रयोग गरेको छ । धेरैजसो फोसिल फ्युल (जीवाश्म इन्धन) कोइला र प्राकृतिक ग्यासबाट उत्पन्न भएको विद्युत् हो । यसले ठूलो मात्रामा वायु प्रदूषण र कार्बन उत्सर्जन गरिरहेको छ भने हाम्रो वैश्विक जलवायु र हाम्रो स्वास्थ्यमा पनि नकारात्मक प्रभाव पारिरहेको छ ।’

जोन्सका अनुसार सन् २०१६–०२१ बीच बिटक्वाइन माइनिङ बिटक्वाइनको मूल्यको तुलनामा जलवायुका लागि मौद्रिक रूपमा अधिक हानिकारक छ । उनले दीर्घकालीन नीतिका तीन मापदण्ड रहेको औँल्याउँदै बिटक्वाइनको जलवायु क्षति आकलन गरे । उक्त तीन मापदण्ड, अनुमानित जलवायु क्षति समयक्रमसँगै अगाडि बढिरहेको, यसको क्षति बजारमूल्यभन्दा बढी रहेको र वस्तुको तुलनामा बजारमूल्यको हिस्साका रूपमा जलवायुलाई कसरी हानि पुर्याउँछ भन्ने हुन् । 

वैज्ञानिकहरूले बिटक्वाइन माइनिङका लागि प्रयोग भएको विद्युत्मार्फत हुने उत्सर्जन सन् २०१६ देखि २०२१ बीच आश्चर्यजनक वृद्धि भएको पाए । सन् २०१६ मा प्रतिबिटक्वाइन ०.९ टन कार्बन उत्सर्जन थियो । तर, सन् २०२१ मा बढेर प्रतिबिटक्वाइन ११३ टन पुग्यो । जलवायुमा यसको मूल्यको कुा गर्दा सन् २०२१ मा एक बिटक्वाइनको खोजमा जलवायुलाई औसत ११ हजार डलर क्षति पुगेको वैज्ञानिकले पाए । 

वैश्विक रूपमा यो क्षति १२ अर्ब डलरको थियो । यो क्षतिको मूल्य सन् २०२० मा बिटक्वाइन मूल्यको १५६ प्रतिशत पुगेको थियो । यसको अर्थ बिटक्वाइनको मूल्यको प्रत्येक डलरमा जलवायुलाई १.५६ डलरको क्षति भइरहेको थियो । यो डरलाग्दो तथ्यांक पाएपछि शोधकर्ताले बिटक्वाइनको प्रुफ अफ वर्क माइनिङमा नियामकीय लगाम लगाउन जरुरी रहेको सुझाव दिए । 

बिटक्वाइनबाट भएको जलवायु क्षति सन् २०१६–२०२१ बीच त्यसको बजारमूल्यको औसत ३५ प्रतिशत थियो । त्यतिवेला यस्तो क्षति प्राकृतिक ग्यास ४६ प्रतिशत र कच्चा तेलद्वारा उत्पादित ग्यासोलिनको विषयमा ४१ प्रतिशत थियो । तर, बिफ उत्पादनमा यो क्षति बिटक्वाइनद्वारा भएको क्षतिभन्दा कम ३३ प्रतिशत थियो । प्रायः बिटक्वाइनलाई डिजिटल गोल्ड भनिन्छ । तर, स्मरण गर्नुपर्ने विषय, सुन उत्पादनमा सन् २०१६ देखि २०२१ बीच जलवायु क्षति त्यसको बजारमूल्यको चार प्रतिशत मात्र थियो । डिसेम्बर २०२१ मा बिटक्वाइनको मार्केट क्यापिटलाइजेसन लगभग नौ खर्ब ६० अर्ब अमेरिकी डलर थियो । यो पूरै क्रिप्टोकरेन्सी बजारमा यसको करिब ४१ प्रतिशत हिस्सेदारी थियो । 

सुझावित समाचार