आफ्नो शक्तिमा विश्वास गरेर पार्टी निर्माणमा लाग्नुपर्ने, सरकारको न्यूनतम साझा कार्यक्रम हेरेर समर्थन वा विरोध गर्नुपर्ने सुझाव
माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा सहभागी हुने–नहुने भन्नेमा एकीकृत समाजवादीमा दुई धार देखिएको छ । शनिबारदेखि सुरु स्थायी कमिटी बैठकमा अधिकांश नेताले सरकारमा सहभागी नभई आफ्नो शक्तिमा विश्वास गरेर पार्टी निर्माणमा लाग्नुपर्नेमा जोड दिएका छन् । केही नेताले भने सरकारको न्यूनतम साझा कार्यक्रम हेरेर समर्थन वा विरोध गर्नुपर्ने सुझाव दिएका छन् ।
बैठकमा सम्मानित नेता झलनाथ खनालसहित नेताहरू मुकुन्द न्यौपाने, केदार न्यौपाने, केशवलाल श्रेष्ठ, घनेन्द्र बस्नेत, धर्मनाथ साह, गरिमा शाह, जीवनराम श्रेष्ठ, नागेन्द्र चौधरी, राजेन्द्र राई, आलोक रायमाझी, उर्वादत्त पन्त, कल्याणी खड्का, गोविन्द कोइराला, चूडामणि जंगली, तुलबहादुर गुरुङ, देवसिंह महता र साध्यबहादुर भण्डारीले धारणा राखेका थिए ।
पार्टी उपाध्यक्ष धर्मनाथप्रसाद साहले नेतृत्व वामपन्थीको भए पनि संघीयताविरोधी र राजावादी सम्मिलित सरकारलाई समर्थन गर्न नहुने सुझाव दिएका थिए । ‘नेतृत्वमा वामपन्थीको सरकार भए पनि संघीयताविरोधी र राजावादीसमेत सम्मिलित खिचडी सरकारमा जानुहुँदैन । यस्तो सरकारलाई बाहिरबाट समर्थन गर्नु पनि हुँदैन । पार्टी निर्माणमा लाग्नुपर्छ,’ उनको भनाइ थियो ।
वामपन्थीको नेतृत्व भए पनि सरकारमा गैरवामपन्थी, संघीयताविरोधी, राजावादीहरू सहभागी रहेको भन्दै सरकार बाहिरै रहेर पार्टी निर्माणमा जुट्नुपर्ने अधिकांश नेताको सुझाव छ । स्थायी कमिटी सदस्य आलोक रायमाझीले अधिकांंश सदस्यले आफ्नो शक्तिमा विश्वास गरेर पार्टीमा लाग्नुपर्नेमा जोड दिएको बताए । ‘सरकारमा जानेभन्दा संगठन निर्माणमा रणनीति बनाएर जानुपर्छ भन्ने धारणा अधिकांशको रह्यो । केहीले भने सम्मानजक अवस्थामा सरकारमा जानुपर्छ भन्ने धारणा राख्नुभएको छ । धारणा राख्ने क्रम जारी छ । भोलि निष्कर्ष आउँछ,’ उनले भने ।
स्थायी कमिटी सदस्य साध्यबहादुर भण्डारीले सरकारलाई समर्थन गर्ने र वामपन्थीहरूको सरकार बनाउन पहल गर्नुपर्ने सुझाव दिएका थिए । ‘फरक विचार र आस्थाका पार्टी सम्मिलित सरकार पटक–पटक गिर्ने हुन सक्छ । वामपन्थीहरूको सरकार बनाउने दिशामा हामी लाग्नुपर्छ । त्यसका लागि अहिले सरकारलाई समर्थन गरेर जानुपर्छ ।’ बैठकमा अध्यक्ष माधवकुमार नेपालले सम्बोधन गरेर अध्यक्षता गरेका थिए भने महासचिव डा. बेदुराम भुसालले संगठन निर्माण र पुनर्ताजगीका लागि प्रस्ताव राखेका थिए ।
नयाँ किसिमको चुनौती देखापर्यो : नेपाल

एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नयाँ किसिमको चुनौती देखापरेको बताएका छन् । शनिबारदेखि सुरु भएको स्थायी कमिटी बैठकलाई सम्बोधन गर्दै उनले समयमै विचार नगर्दा अप्रत्याशित घटना भएर गठबन्धन भंग हुन पुगेको बताएका छन् । कांग्रेस सभापति शेरबहादुर देउवाले वचन तोड्दा वाम–लोकतान्त्रिक गठबन्धन भंग भएको र नयाँ गठबन्धन बनेको नेपालको भनाइ उद्धृत गर्दैे एक नेताले जानकारी दिए । नयाँ परिस्थितिको विश्लेषण गरेर अगाडि बढ्न नसक्दा अप्रत्याशित घटना भएको नोपलको भनाइ थियो । ‘अप्रत्याशित घटनापछि गठबन्धन भंग भएको छ । नयाँ गठबन्धनले कस्तो नीति लिन्छ हेर्न बाँकी नै छ । विगतमा वामपन्थीलाई दिएको जनमतको सदुपयोग हुन नसकेको परिप्रेक्ष्यमा आगामी यात्राबारे ठोस निर्णय गर्नुपर्नेछ,’ नेपालले भनेका थिए, ‘पार्टीको शक्ति सुदृढीकरणका लागि सशक्त एजेन्डाका साथ अगाडि बढनुपर्छ । देशव्यापी अभियान अगाडि बढाउने गरी निर्णयमा पुग्नुपर्छ ।’
सम्मानित नेता झलनाथ खनालले क्रान्तिकारी पार्टी निर्माण गर्न आवश्यक पर्ने राजनीतिक तथा वैचारिक हतियारलाई चुुस्तदुरुस्त पार्नुपर्नेमा जोड दिए । उनले पार्टी सञ्चालनका समग्र विषयमा बृहत् समीक्षा आवश्यक भएको औँल्याए । ‘पार्टीलाई चुस्तचुरुस्त बनाएर लैजानुपर्छ । स्थानीय, प्रदेश र संघको निर्वाचनको गम्भीर ढंगले समीक्षा गरेर आगामी रणनीति तयार गर्नुपर्छ,’ उनले भने ।
एकता हल्ला मात्रै, संगठन निर्माणमा जोड
ठोस निर्णय नभएको अवस्थामा पार्टी एकताको विषय उठाउनै नहुने सुझाव नेताहरूको छ । संगठन निर्माणको योजना बनाएर पार्टीलाई बलियो बनाउनुपर्नेमा उनीहरूले जोड दिएका छन् । एमालेसँग एकता गर्नुपर्ने पक्षमा उभिएका नेता मुकुन्द न्यौपानेले पनि तत्काल एकताको वातावरण नबनेको बताएको एक नेताले जानकारी दिए । ‘उहाँ पनि आजको बैठकमा फरक रूपमा प्रस्तुत हुनुभयो । उहाँको धारणा पनि विगतको भन्दा फरक थियो,’ ती नेताले भने ।
संगठनलाई सदृढ बनाएर जानुपर्नेमा नेताहरू एकमत छन् । बृहत् वाम एकताको आवश्यकता औँल्याएका नेताहरूले समेत एमाले वा माओवादीसँग एकता गर्न नहुने सुझाव दिएका छन् । ‘कुनै पनि दलसँग एकताको कुरा भएको छैन । बृहत् वाम एकताको पक्षमा हो भने अगाडि बढ्न सकिन्छ । यथास्थितिमा एमाले वा माओवादीसँग एकता हुने सम्भावना छैन,’ रायमाझीले भने । एमालेले अफवाह फैलाएकाले एकताको विषयमा छलफल गरेर समय खेर फाल्न नहुनेमा अधिकांश सदस्य एकमत देखिएका छन् । ‘एकता हुन लाग्यो भनेर बजारमा हल्ला चलेको छ । तर, हामी नहुने एकताको विषयमा छलफल गरेर समय खेर फाल्ने पक्षमा छैनौँ,’ उपाध्यक्ष साहले भने ।
भण्डारीले पनि एकताको विषयमा छलफल गर्न आवश्यक नठानिएको बताए । ‘एकताको विषयमा एमालेले नै ढोका बन्द गरेकाले छलफल गर्न आवश्यक ठानिएन । साना कम्युनिस्ट पार्टीलाई एकत्रित गरेर अगाडि बढ्न सकिन्छ । बृहत् वाम एकता गर्न सकिन्छ । तर, माओवादी वा एमालेसँग तत्काल एकताको सम्भावना छैन,’ उनले भने ।
दुई दिनसम्म भूगोल र गैरभूगोलका नेता तथा कार्यकर्तासँग परामर्श गरेर निर्णय लिन एकीकृत समाजवादीले स्थायी कमिटी बैठक बोलाएको हो । बैठक आइतबार पनि बस्ने प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले जानकारी दिए । उनका अनुसार स्थायी कमिटी बैठपछि पोलिटब्युरो बैठक बस्नेछ । खतिवडाले एमालेले आधिकारिक रूपमा पार्टी एकता र राष्ट्रपति बन्ने प्रस्ताव नगरेको पनि स्पष्ट पारे । उनले पार्टी विलय वा एकीकरण गर्ने कुनै काम नगरेको र रुचि पनि नरहेको बताए ।